काठमाडौं — राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) बीचको बढ्दो विवादका कारण नेपाली फुटबल अन्योलतर्फ धकेलिँदै गएको छ। दुई संस्थाबीच सहमति नबन्ने हो भने खेलाडी, प्रशिक्षक, रेफ्री तथा क्लबहरू प्रत्यक्ष रूपमा प्रभावित हुने देखिएको छ।
हालै एन्फामाथि राखेपले गरेको निलम्बन र ‘अर्ली इलेक्सन’ रोकिएको विषयले अन्तर्राष्ट्रिय स्तरमै असर पार्ने संकेत देखिएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यस अवस्थालाई गम्भीर रूपमा लिँदै नेपाली फुटबलमाथि प्रतिबन्ध लगाउने सम्भावना बढेको बताइएको छ।
फिफाको सहयोगमा सञ्चालन हुँदै आएको नेपाली फुटबल कार्यक्रमहरूमा अवरोध आउने खतरा बढ्दै जाँदा ठूलो लगानी गरेका क्लबहरू पनि संकटमा पर्ने देखिन्छ। एन्फाका पदाधिकारीहरूले अवस्था झन् संवेदनशील बन्दै गएको बताएका छन्।
उता, राखेपले भने एन्फा नै सहमतिमा नआएको आरोप लगाएको छ। परिषद्का सदस्य सचिव रामचरित्र मेहताका अनुसार आगामी दुई–तीन दिनभित्र समन्वय नभए तदर्थ समिति गठन गरेर अगाडि बढिने चेतावनी दिइएको छ।
मंगलबार लाओसविरुद्ध हुने एशियन कप छनोट खेलपछि फिफाले नेपालको अवस्थाबारे निर्णय लिन सक्ने चर्चा चलिरहेको छ। यद्यपि मेहताले यस्तो प्रतिबन्ध नआउने दाबी गर्दै टोलीलाई खेलका लागि लाओस पठाइसकिएको जानकारी दिए।
एन्फाका एक उच्च अधिकारीका अनुसार लाओससँगको प्रतियोगितापछि फिफाले नेपाली फुटबललाई प्रतिबन्ध लगाउने तयारी गरेको ।
एन्फाका अधिकारीहरू भने सम्भावित प्रतिबन्धको सम्पूर्ण जिम्मेवारी राखेपले लिनुपर्ने बताउँछन्। उनीहरूका अनुसार एन्फाले देशभरका ४५ देखि ४८ जिल्लामा फुटबल गतिविधि सञ्चालन गर्दै खेलाडी, रेफ्री र प्रशासनिक खर्च व्यहोर्दै आएको छ।
यदि विवाद चाँडै समाधान नभए नेपाली फुटबल अन्तर्राष्ट्रिय मञ्चबाट अलग हुने जोखिम बढ्दै गएको छ, जसले समग्र खेल क्षेत्रलाई दीर्घकालीन क्षति पुर्याउने देखिन्छ।
भर्खरै
लोकप्रिय
