- दाङका मन्त्रीले एसईई २०८२ लाई मर्यादित र शान्तिपूर्ण बनाउन सबै सरोकारवालासँग सहयोगको अपिल गरेका छन्।
- लुम्बिनी प्रदेशमा कुल ८९ हजार १७ जना परीक्षार्थीका लागि ३३८ परीक्षा केन्द्र र जनशक्ति परिचालन भएको छ।
- परीक्षा सुरक्षाका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको र सबै तयारी पूरा भएको सम्बन्धित निकायले जनाएको छ।
दाङ- लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ लाई मर्यादित, अनुशासित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सबै सरोकारवालासँग अपिल गरेका छन् ।
भोली बिहीबारदेखि देशभर एकैसाथ सञ्चालन हुने उक्त परीक्षामा लुम्बिनी प्रदेशबाट नियमित (साधारण तथा प्राविधिक धार) तर्फ ७२ हजार ८० जना र ग्रेडवृद्धि तर्फ १६ हजार ९ सय ३७ जना गरी कूल ८९ हजार १७ जना परीक्षार्थी सहभागी हुँदैछन् ।
परीक्षा सञ्चालनका लागि प्रदेशका १२ वटै जिल्लामा ३३८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा व्यवस्थापनका लागि ३३८ केन्द्राध्यक्ष, ६३७ सहायक केन्द्राध्यक्ष, ४ हजार ४ सय ६७ निरीक्षक, ६ सय ६९ परीक्षा सहायक र ६ सय ७६ कार्यालय सहयोगी गरी ६ हजार ७ सय ८७ जना जनशक्ति परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, परीक्षा सुरक्षालाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल नेपालमार्फत आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ । सबै केन्द्रमा केन्द्राध्यक्ष नियुक्ति, अभिमुखीकरण, प्रश्नपत्र तथा उत्तरपुस्तिका ढुवानी लगायत सम्पूर्ण तयारी पूरा भइसकेको सम्बन्धित निकायले जनाएको छ ।
मन्त्री तिमिल्सिनाले परीक्षार्थीहरुलाई डर, त्रासविना उच्च मनोबलका साथ परीक्षामा सहभागी हुन आग्रह गर्दै सफलताको शुभकामना व्यक्त गरेका छन् ।
साथै परीक्षा स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन स्थानीय प्रशासन, स्थानीय तह, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक, पत्रकार तथा नागरिक समाजलाई समेत सहयोगका लागि आग्रह गरेका हुन् ।
भर्खरै
लोकप्रिय
