काठमाडौँ – परराष्ट्र मन्त्रालयले इजरायल–अमेरिका र इरानबीच जारी युद्धका कारण मध्यपूर्वमा विभिन्न कारणले मृत्यु भएका ३८ नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको जनाएको छ।
शुक्रबार मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा बोल्दै प्रवक्ता लोकबहादुर क्षेत्रीले युद्धका कारण उडान प्रभावित हुँदा ३८ वटा शव नेपाल ल्याउन ढिलाइ भएको जानकारी गराएका हुन्।
उनका अनुसार रियादमा १७, दुबईमा १५, जेद्दामा ५, आबुधाबीमा ४, तेल अविवमा ३, कतारमा २ तथा ओमान र बहराइनमा १–१ गरी कुल ३८ वटा शवहरू नेपाल ल्याउन बाँकी छ। विभिन्न समयमा मृत्यु भएका उनीहरुको शव नेपाल ल्याउन सरकारले गम्भीरतापूर्वक काम गरिरहेको प्रवक्ता क्षेत्रीले बताए।
उनले मध्यपूर्व क्षेत्रमा जारी आक्रमणमा परी हालसम्म एक जना नेपालीको मृत्यु तथा २१ जना घाइते भएको जानकारी पनि दिए। उनले जारी युद्धका कारण सिर्जित असहज परिस्थितिमा रहेका नेपालीको विवरण संकलन र सम्भावित उद्धारका लागि कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमाहालसम्म ८६ हजार ४ सय २० जनाले आफ्नो विवरण दर्ता गराएको जानकारी दिए।
यस्तै, ट्रान्जिटमा फसेका सबै नेपाली नागरिकहरूको व्यवस्थापन भइसकेको र कुवेतमा रहेका दुई नेपालीले साउदीको भिसा प्राप्त गरिसके पनि उनीहरु आफ्नै इच्छाले तत्कालका लागि कुवेतमै बसेको जानकारीसमेत क्षेत्रीले दिए।
पछिल्लो समय मन्त्रालयको सम्पर्कमा आएर आफू असुरक्षित रहेको जानकारी गराउनेको संख्या क्रमशः घट्दै गएको उनको भनाइ छ।
भर्खरै
लोकप्रिय
