काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ-गभर्न्मेन्ट प्रोक्युर्मेन्ट’ (इ-जीपी) प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्काका विवरणहरू हेरफेर गरेको आरोपमा नेपाल प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
आर्थिक प्रस्ताव खोल्नुभन्दा अगावै डकुमेन्ट परिवर्तन गरी विद्युतीय कारोबार ऐन अन्तर्गतको कसूर गरेको उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो र साइबर ब्यूरोको संयुक्त टोलीले विभिन्न मिति र स्थानबाट यी अभियुक्तहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा ३३ वर्षीय दिवाकर देउजा, २५ वर्षीय भरत धामी, ३९ वर्षीय संजय भट्ट, ३५ वर्षीय भाष्कर राज अर्याल, ४० वर्षीय सागर कटुवाल र ६२ वर्षीय जीवन कुमार दास रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले सरकारी प्रणालीमा अनाधिकृत प्रवेश गरी ठेक्का प्रक्रियामा चलखेल गरेको पाइएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ का साथै हाल परिवर्तन भएको संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत थप अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले जानकारी दिएका छन्।
भर्खरै
लोकप्रिय
