चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीटमा डिजिटल पूर्वाधारमा गहन छलफल गर्दै महत्वपूर्ण सहकार्य सम्झौताहरूमा हस्ताक्षर गरियो।
सम्मेलनमा पहिलो दिन एआई डाटासेन्टर, साइबर सुरक्षा, र डिजिटल रोडम्यापका विषयमा विज्ञहरूले आफ्ना विचारहरू प्रस्तुत गरे।
दोस्रो दिन आईक्यान र अन्य संस्थाका वक्ताहरूले आइपीभी सिक्स कार्यान्वयनका रणनीति र त्यसका चुनौतीबारे चर्चा गरे।
काठमाडौं- सुबिसु लिमिटेडको आयोजनामा भएको चौथो एपाक आइपीभी सिक्स (IPv6) काउन्सिल मीट सम्पन्न भएको छ ।
बिहीबारदेखि सुरु भएको यस अन्तर्राष्ट्रिय सम्मेलनमा डिजिटल पूर्वाधार र इन्टरनेट पारिस्थितिक प्रणालीका विविध पक्षहरूमा गहन छलफल गरिएको थियो ।
सम्मेलनको दौरान नेपालको डिजिटल पूर्वाधार विकासमा सहयोग पुग्ने गरी सुबिसु लिमिटेड र एपाक आइपीभी सिक्स काउन्सिलबीच एक महत्त्वपूर्ण सहकार्य सम्झौतामा समेत हस्ताक्षर भएको छ ।
उक्त सम्झौतामा एपाकका तर्फबाट प्रा. एमेरिटस डा. सुरेश्वरन रामदास र सुबिसुका सीईओ बिनय मोहन साउदले हस्ताक्षर गरे ।
सम्मेलनको पहिलो दिन आइपीभी सिक्सद्वारा सञ्चालित एआई डाटासेन्टर, इन्टरप्राइज आईसीटीको भविष्य, साइबर सुरक्षा, र नेपालको सार्वभौम डिजिटल रोडम्याप जस्ता विषयहरूमा विज्ञहरूले आफ्ना धारणा राखेका थिए ।
दोस्रो दिनको सत्रमा सीएन ल्याब्सका निर्देशक कृष्णकुमार लाहोती, आईक्यान (ICANN) का चम्पिका विजयतुङ्गा र एपाक आइपीभी सिक्स काउन्सिलका अध्यक्ष डा. नवनीथन सी. अर्जुमनले आइपीभी सिक्स कार्यान्वयनका रणनीति र प्राविधिक पक्षबारे प्रकाश पारे ।
साथै, सानिमा बैंकका बिक्रम श्रेष्ठले वित्तीय क्षेत्रमा आइपीभी सिक्सका चुनौती र आईपीभी६ फोरमका लतिफ लादिदले विशेष वक्ताको रूपमा सम्बोधन गरेका थिए ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले यस सम्मेलनले कनेक्टिभिटी र उपलब्धता विस्तारमा ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
प्राधिकरणले यसै अवसरमा आइपीभी सिक्स माइग्रेसनलाई सम्बोधन गर्न तयार पारिएको परामर्श पत्र समेत प्रस्तुत गरेको छ ।
सुबिसु लिमिटेडका सीईओ बिनय मोहन साउदले यो सम्मेलनले नेपालको ‘डिजिटल नेपाल’ अभियानलाई साकार पार्न र आगामी दिनमा आवश्यक नीति नियम बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
भर्खरै
लोकप्रिय
