- जर्मन फोटोग्राफर आन्द्रेज वाल्कुजको ‘बाबेल’ श्यामश्वेत फोटो प्रदर्शनी पाटन दरबार परिसरमा सुरु भयो।
- नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले वाल्कुजका फोटोमा कलात्मकपन रहेको र हेर्न विशेष रहेको बताए।
- प्रदर्शनी वैशाख ५ गतेसम्म चल्नेछ र वाल्कुजले भविष्यमा रंगीन तस्वीर पनि ल्याउने प्रतिवद्धता जनाए।
काठमाडौँ – ललितपुरस्थित पाटन दरबार परिसरमा जर्मनीका प्रख्यात फोटोग्राफर आन्द्रेज वाल्कुजको मानवीय संवेदनायुक्त फोटो प्रदर्शनी आजदेखि सुरु भएको छ।
विश्वभरका मानव मुहारको गहिराइ, भावना र सत्यतालाई कैद गर्ने वाल्कुजको ‘बाबेल’ शीर्षकको श्यामश्वेत फोटो प्रदर्शनी नेपालका लागि जर्मनीका राजदूत उडो युगेन भोल्जले आज पाटन दरबार परिसरमा उद्घाटन गरे।
नेपालमा जर्मन फोटोग्राफरको फोटो प्रदर्शनी हेर्न पाउनु खुसीको कुरा भएको राजदूत भोल्जले बताए। राजदूत भोल्जले भने, “उहाँले खिच्नुभएको फोटोहरूमा उहाँको आफ्नै कलात्मकपन देखिन्छ, तपाईँहरूले हेरेपछि देख्नुहुन्छ कि कस्तो तरिकाले उहाँले मानिसका भावहरु फोटोमा उतार्नुभएको छ।”
फोटोग्राफर वाल्कुजलाई नेपालको फोटो छ कि छैन भनेर राजदूतले गरेको प्रश्नमा वाल्कुजले नेपाल निकै सुन्दर र रङ्गीन रहेको बताउँदै ती फोटोहरू अर्कोपटक रङ्गीन तस्वीरसहित प्रदर्शन गर्ने प्रतिबद्धता जनाए।
वरिष्ठ कलाकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धरले वाल्कुजका फोटोका भावहरू निकै गहन रहेको औँल्याए। पोट्रेट तर श्यामश्वेत फोटोहरूको आफ्नै कलात्मक महत्व रहेको भन्दै उहाँले विगतमा जर्मन पुगेर त्यहाँ आफूले पनि कला प्रदर्शनी गरेको स्मरण गरे।
फोटोग्राफर वाल्कुजले आफूले जीवनभर मानिसहरू, संस्कृति र कथाहरू अवलोकन गरेर यी फोटोहरू फ्रेममा उतार्न सफल भएको बताए। ललितकला गुठीको आयोजनामा सुरु भएको उक्त फोटो प्रदर्शनी आगामी वैशाख ५ गतेसम्म जारी रहनेछ।
भर्खरै
लोकप्रिय
