देशसञ्चार चौतारीमा भाग-१५४

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

+
-
देशसञ्चार AI सारांश
  • डाक्टर चन्द्र गिरीले विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्दै संसारभर १२६ भन्दा बढी देशको भ्रमण गरेका छन्।

  • अवैध बाटो (डङ्की रूट) हुँदै अमेरिका जाने नेपालीहरूको कथामा आधारित उपन्यास ‘डङ्की’ले आप्रवासनको जटिलता चित्रण गर्छ।

  • विज्ञान र प्रविधि क्षेत्रमा डा. गिरीको योगदान प्रशंसा योग्य छ, उनले नेपाली भाषामा पनि लेख्न रुचि देखाएका छन्।

अमेरिकामा बसेर विज्ञानको क्षेत्रमा काम गर्ने थोरै नेपाली मध्ये एक हुन्, डाक्टर चन्द्र गिरी। खोटाङको चिमचिमामा जन्मिएका गिरी हाल अमेरिकी सरकारको वातावरण मन्त्रालयमा वरिष्ठ सल्लाहकार र ड्युक विश्वविद्यालयमा एड्जन्क्ट प्रोफेसरका रूपमा कार्यरत् छन्।

उनीसँग विश्वको विभिन्न देशमा बसेर सरकारी, शैक्षिक तथा निजी क्षेत्रमा काम गरेको अनुभव छ। नेपालमा सरकारी जागिरबाट करिअर शुरु गरेका गिरीले थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी, राष्ट्र संघीय वातावरण कार्यक्रम (युपेन), कोलम्बिया युनिभर्सिटी, ड्युक युनिभर्सिटी, नर्थ क्यारोलिना स्टेट युनिभर्सिटी, साउथ डकोटा स्टेट युनिभर्सिटी र युनाइटेड स्टेट्स जिओलोजिकल सर्भेजस्ता विश्वप्रसिद्ध संस्थाहरूमा काम गरिसकेका छन्। उनै गिरी यसपाली किताब लोकार्पणको सिलसिलामा नेपाल आएका थिए। गिरीले देश सञ्चार चौतारीमा किताबका कुरा र आफ्ना अनुभव पनि साझा गरेका छन्।

‘पहिला-पहिला विदेशी ल्याएर रिसर्च गरिन्थ्यो नेपालमा। फन्डिङका हिसाबले उसले जे भन्यो त्यही गरिन्थ्यो,’ गिरी भने, ‘हामीले चाहिँ हाम्रो प्राथमिकता स्पष्ट गर्नुपर्‍यो।’

मन्त्री महाबीर पुनकै पहलमा नेपालमा नवप्रवर्द्वन मन्त्रालय स्थापना भएको छ। नयाँ खोज अनुसन्धान तथा विज्ञानका काम गर्न के कति सहज होला त्यो समयले बताउला। तर गिरी नेपालको  विज्ञान तथा प्रविधिमा काम गर्न चाहेको पनि बताए। र उनले भने, ‘विज्ञान प्रविधि क्षेत्रमा मन्त्रालय नै स्थापना गरी काम गर्नु सकारात्मक कुरा हो।’

नेपालबाट बीएस्सी (साइन्स र फरेष्ट्री) तथा थाइल्याण्डबाट रिमोट सेन्सिङ र जिआइएसमा स्नातकोत्तर र विद्यावारिधि गरेका गिरीले वातावरण क्षेत्रका अमेरिकी वैज्ञानिक डा. गिरी मेन्ग्रोभ नक्साङ्कन तथा अनुगमनका अगुवाका रूपमा परिचित छन्। त्यसैले विश्वमा भइरहेको जलवायु परिवर्तन र त्यसको असर बारे पनि उनले आफ्नो कुरा सुनाए।

गिरीले ‘मैले नदेखेको सपना’ (आत्मकथा) र ‘संसारको सेरोफेरो’ (यात्रा संस्मरण) गरी नेपाली भाषाका पुस्तक पनि प्रकाशित गरिसकेका छन्।

दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका उनले विश्वका १२६ भन्दा बढी देशको भ्रमण गरेका छन्। दर्जनौं राष्ट्रका राजनेता, वैज्ञानिक तथा नीति निर्माताहरूसँग सहकार्य गरेका उनले विभिन्न राष्ट्रिय-अन्तर्राष्ट्रिय पत्रपत्रिका र अनलाइनहरूमार्फत १२५ भन्दा बढी अनुसन्धानात्मक एवं समसामयिक विषयका लेख-रचना प्रकाशित गरेका छन्।

अवैध मार्ग हुँदै अमेरिका प्रवेश गर्ने नेपाली युवाहरूको त्रासद कथामा आधारित उपन्यास ‘डङ्की, सपनाको कालबाटो’ भर्खरै बजारमा आएको हो। ‘डङ्की’ डा. चन्द्र गिरीको पहिलो उपन्यास हो।

कुनै पनि उपन्यासको मूल्य त्यसले कस्तो कथा भन्यो भन्नेमा मात्र निर्भर हुँदैन; त्यसले आफ्नो समयलाई कति गहिराइसँग पढ्यो भन्नेमा पनि निर्भर हुने बताउँछन् गिरी।

डङ्की रुट हुँदै अमेरिका पुग्ने यात्राको बाहिरी दृश्य मात्र प्रस्तुत गर्दैन, बरु भूमण्डलीकरण, असमानता, अवसरको असन्तुलित वितरण र नेपाली समाजमा गहिरिँदै गएको ‘अमेरिकी सपना’को मनोविज्ञानलाई साहित्यिक भाषामा व्याख्या गर्ने प्रयास गर्छ।

‘विज्ञानको जगतमा काम गर्न थालेपछि लेखनी त रोकियो तर लेख्ने रहर थियो। त्यो पनि नेपालीमा,’ उनले भने। अंग्रेजीमा गहिरा गहकिला अनुसन्धान लेखहरु लेखेका गिरी नेपाली भाषामा लेख्नुको मजा अद्भूत मान्छन्। भन्छन्, ‘अंग्रेजीमा लेख्दा धेरै कुराहरु छुटेको अनुभूत हुन्छ। अंग्रेजीमा डाटा र  थ्योरिटिकल कुरा लेख्दा चित्त बुझ्छ। तर भावनाका कुराहरु नेपालीमा लेख्दा बढी आनन्द र लेखेँ भन्ने अनुभव हुन्छ।’

‘डङ्की: सपनाको कालबाटो’ ‘डङ्की’ अवैध बाटोबाट अमेरिका प्रवेश गर्ने एक नेपाली युवकको कथा हो। तथापि यो सुन्दर भविष्यको सपना बोकेर जोखिमपूर्ण अवैध बाटो हुँदै संसारभरबाट अमेरिका प्रवेशको प्रयास गर्ने र प्रवेश गर्न सफल हुने लाखौँ आप्रवासीहरूको प्रतिनिधिमूलक साझा कथा पनि हो।

उपन्यासमा अनधिकृत रूपमा अमेरिका प्रवेश पछिको सङ्घर्षको कथालाई पनि रोचक ढङ्गमा प्रस्तुत गरिएको दाबी गर्छन् गिरी। अवैध बाटो (डङ्की रूट) को यात्रा कति खर्चालु र डरलाग्दो छ भन्ने कुरा छर्लङ्ग पारेको बताउने गिरीले थुप्रै पटक त्यस्ता पात्रलाई अमेरिका भेटेका छन्। ‘अमेरिकामा भेटेका ती नेपालीहरु जसले डङ्की रुट भएर पुगे । तिनलाई काम लगाउन सघाएको छु,’ उनले भने।

उपन्यासको केन्द्रमा यात्रा छ, तर यसको वास्तविक विषय यात्रा होइन। यसको मूल विषय हो- सपनाको मूल्य। मानिस किन आफ्नो जन्मभूमि छोड्छ? किन ऊ कानुनी बाटो बन्द भएपछि मृत्युको जोखिम बोकेको अवैध बाटो रोज्न बाध्य हुन्छ? र, आखिर त्यो सपना गन्तव्यमा पुगेर पूरा हुन्छ कि अर्को भ्रममा परिणत हुन्छ ? उपन्यासले यिनै प्रश्नलाई सामान्य तरिकाले सोध्छ।

 

आफ्ना पुस्तकमा वैज्ञानिकको तथ्यपरक दृष्टि र साहित्यकारको संवेदनशील भाषा यहाँ सुन्दर ढंगले संयोजित गरेका छन्।

उपन्यासले अमेरिकी सपनालाई न त पूर्ण रूपमा महिमामण्डित गर्छ, न पूर्ण रूपमा अस्वीकार गर्छ। बरु यसले त्यो सपनाभित्र लुकेका विरोधाभासहरू देखाउँछ। अमेरिका यहाँ केवल एउटा देश होइन; अवसर, भ्रम, आशा र पीडाको सम्मिलित प्रतीक बनेर उपस्थित हुन्छ। त्यसैले यो उपन्यास आप्रवासनको कथा मात्र होइन, आधुनिक विश्व व्यवस्थाको आलोचना पनि हो।

उनी आफ्ना किताबको शीर्षकमा ‘सपना’ जोड्दै आइरहेका छन्। अमेरिका जानेहरु सपना देखेर जाने र बाँच्नेहरू पनि सपना देखेरै भन्ने उनको बुझाइ छ। किताब ‘मैले देखेको सपना’मा उनले आफ्ना संघर्षका कथा भनेका छन्। भन्छन्, ‘हामी जहाँ जसरी पुग्छौँ सपना देखेरै हो। तर कुनै सपना साह्रै जोखिमयुक्त हुन्छ। त्यसलाई पार लगाउन गाह्रो हुन्छ।’

भू-उपग्रहबाट लिइएका तस्बिरहरूको माध्यमबाट पृथ्वीको सतह, मङ्ग्रोभ जंगल र विश्वव्यापी भूमि कभरको म्याप र अनुगमनमा ठूलो योगदान पुर्‍याएका गिरी पढ्न सक्नुको जस आफ्नो हजुरबालाई दिन्छन्। भन्छन्, ‘मैले हजुरबाका कारण पढ्न सकेको हुँ। र त्यही जगमा उभिएर म आफ्नो कर्म गरिरहेको छु।’

नेपालको सरकारी सेवामा राम्रै सेवा सुविधा लिँदालिँदै अमेरिका हानिए। किन?  उनको अनुभव यस्तो छ- ‘मलाई नेपालमै केही गर्न मन थियो। तर त्यो समय अमेरिका जाने लहर थियो । त्यही लहडमा अमेरिका पुगेंको हुँ।’

गिरी आफ्ना-आफन्तहरु अहिले अमेरिकामा बढी भएका र नयाँ पुस्ताहरु उतै जन्मी हुर्केकाले नेपालमा पहुना जस्तो भएको अनुभव सुनाए। अब नेपालमा भन्दा अमेरिका बढी आफन्तहरु छन्। उतैको जीवनशैली र अभ्यस्ताले नेपाल चाहेर पनि फर्किन सकिँदोरहेनछ।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…