- काठमाडौँ महानगरपालिकाले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई बुधबार बिहानदेखि खाना खुवाउन बन्द गरेको छ।
- सत्संग भवनमा रहेका १४७ जनाको खानाको जिम्मेवारी अब राधास्वामी सत्संगले लिने बताइएको छ।
- हप्ताभरपछि खाना व्यवस्थापनको विषयमा काठमाडौँ महानगर र राधास्वामीबीच थप छलफल हुने जनाइएको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले होल्डिङ सेन्टर (राधास्वामी सत्संग)मा राखिएका सुकुम्बासीलाई खाना खुवाउन छाडेको छ।
आज (बुधबार) बिहानदेखि महानगरले खाना खुवाउन छाडेको हो। सहरी विकास मन्त्रालयका अनुसार सत्संग भवनमा थापाथली र गैरीगाउँका ३३ परिवारका १४७ जनाले आश्रय लिइरहेका छन्।
सत्संग भवनमा राखिएकालाई महानगरले व्यवस्थापन गर्ने जिम्मेवारी लिएको थियो जहाँ बालबालिका, सुत्केरी, गर्भवती, अपांगता भएका व्यक्तिहरू पनि रहेका छन्।
उनीहरूलाई मंगलबार शनिबारदेखि मंगलबार साँझ चार दिनसम्म महानगरले खानाको व्यवस्था गर्दै आइरहेको थियो। बुधबार बिहानबाट भने राधास्वामी सत्संगले नै खाना खुवाउन थालेका छन्।
उनीहरूले हप्ता दिनसम्म खाना खुवाउने बताएका छन्। ‘हाम्रोमा आश्रय लिइरहेकाहरूलाई हामीले पनि सेवा गर्न पाउँ भन्दै राधास्वामीबाटै अनुरोध आएपछि हामीले उहाँहरूलाई नै खानाको जिम्मेवारी दिएका हौँ’, काठमाडौँ नगर प्रहरी प्रमुख विष्णु जोशीले देशसञ्चारसँग भने।
हप्ता दिनपछि खाना खुवाउने विषयमा थप छलफल हुने उनले बताए।
थापाथली, गैरीगाउँ, मनोहराको सुकुम्बासी बस्तीमा डोजर चलाइएपछि विस्थापित भएका केहीलाई सरकारले आश्रय दिइरहेको छ। जसमध्ये १४७ जना सत्संग भवनमा रहे पनि अन्यलाई भने विभिन्न होटलहरूमा राखिएको छ।
सत्संग भवनमा राखिएकाहरूलाई मंगलबारसम्म आधारभूत सेवाकोसमेत अभाव रहेको थियो।
भर्खरै
लोकप्रिय
