मान्छेहरू कमाउन मन छ मलाई

मान्छेहरू कमाउन मन छ मलाई
+
-
देशसञ्चार AI सारांश
  • सीता पोखरेलको आत्मकथाले जीवनका अनुभवमा आधारित कथा लेख्न प्रेरित गर्ने प्रयास गरेको छ।
  • नेपाली समाजमा छोरी र छोराप्रतिको भेदभाव र चुनौतीका बीचमा संघर्ष गरेर लक्ष्य हासिल गर्न प्रेरित गरेको छ।
  • थर्मल थेरापी व्यवसाय गरेर आर्थिक रूपले सशक्त भएको जीवन यात्राले प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।

यतिबेला मलाई नेपाली साहित्यका तारा कृष्ण धाराबासीकी श्रीमती सीता पोखरेलले आफ्नो पुस्तकको भूमिकामा लेख्नुभएको एक अनुच्छेद याद आइरहेछ। जिन्दगीको कथा जसको पनि हुन्छ, लेख्ने हो भने जसको जिन्दगी पनि पुस्तक हुने रहेछ।

पुस्तक हुने गरी या भनाैँ आत्मकथा लेख्नका लागि म त्यस्तो योग्य मान्छे हुँ जस्तो त लाग्दैन तर कहिलेकाहीँ जीवन बाँच्ने क्रममा अनेकन अनुभवको साक्षी बनिँदोरहेछ। तिनै अनुभव आज साझा गर्ने जमर्काे गरेकी छु।

जिन्दगीमा दुःखको साक्षी सायद हरेक मानिस होलान् तर तमाम परिस्थितिबीच दुःख अँगाल्दै खुसी बन्न पनि दुःख गर्नुपर्ने बाध्यतालाई आज तपाईंसामु साझा गर्न लागेकी छु।

जिन्दगीको सुरुवात जन्मबाट हुन्छ। मेरो जन्म २०५१ साल माघ २० गते भएको थियो। श्रीपञ्चमी अर्थात् सरस्वती पूजाको दिन। लगातार तीन छोरीलाई जन्म दिएपछि फेरि छोरा पाउने आशामा मन्दिर र धामी–झाँक्रीकोमा भाकल गरेकी मेरी आमाले सहनुपरेको पीडा र कष्टबारे लेखिसाध्य छैन।

मेरो पालामा आमाको पेट अरुबेलाको गर्भावस्थाभन्दा ठूलो भएर पनि होला सायद गाउँमा सबैले यसपालि ‘जैवीरे कान्छी’ले पक्का छोरा पाउँछे भन्दा मक्ख हुने मेरी आमा छोरालाई पोषण पुगेन भनेर अन्नपानी बरोबर खानुभएछ।

उहाँ भन्नुहुन्छ, नौ महिना पूरा नभई जब आमालाई व्यथा लाग्यो, अरु दिदीहरू जन्माउँदाभन्दा धेरै गाह्रो परेको थियो रे ! व्यथा लागेपछि नजिकको स्वास्थ्यचौकी गएर पनि रात बित्दासमेत डेलिभरी नभएपछि बिहान बुबाले अरू दिदीहरूको जस्तै घरमै होस् भन्ने चाहनाले आमालाई घरमै ल्याउनुभयो। कठ्यांग्रिँदो त्यो जाडोको मौसम एकाबिहानै भाले बासेसँगै मेरो रुवाइले गाउँ वरपरका मान्छेलाई पनि ब्युँझाएछ क्यारे! ‘जैवीरे कान्छी’ले छोरो पाइछ क्यारे ! भनेर हेर्नेहरूको ठूलो लर्को हाम्रोतिर आइपुगेछ। ए पेट त ठूलै थियो छोरी पो भइछ… भन्दै आउने र जानेको क्रम चलिरह्यो।

आमा अचेल सुनाउनुहुन्छ, ‘छोरी भएको सुन्दा कता–कता नरमाइलो लागेर धेरै पटक थाङ्नाले मुख छोपेर बच्चाको ‘च्याहाँच्याहाँ’ सँगै आफू पनि धेरै पटक रोएकी छु।’

०४० सालमा हो बाबा–आमाको बिहे भएको। त्यसको केही महिनामा आमा गर्भवती हुनुभयो। आमा र हजुरआमाको दिनरात झगडा भइरहन्थ्यो। एक दिन असैह्य भएपछि उहाँ विक्षिप्त भएर गर्भवती ज्यानसहित राति घर छाडेर निस्किनुभएछ।

बाबाले केही दिनसम्म त आमा आउने आशामा पर्खिनुभएछ तर ५–७ दिनसम्म पनि घर नफर्केपछि उहाँ निरास मुद्रामा पहाडको मूलघरबाट आमालाई खोज्न बेंसी झर्नुभएछ आमा माइती जानुभएको छैन भन्ने कुरामा बुवा ढुक्क हुनुहुन्थ्यो। किनकि मेरी आमा ४ वर्षकी हुँदा मामाघरकी हजुरआमाले मामा र मेरी आमालाई छाडेर परदेश पस्नुभएको थियो रे अरूसँग। त्यसपछि उहाँ हामीलाई भेट्न कहिल्यै आउनुभएन।

हजुरआमा परदेश पसेपछि, हजुरबुवाले अर्को बिहे गर्नुभएको रहेछ। अर्की हजुरआमाबाट पनि छोराछोरी भएपछि आमाले भाइ बहिनीलाई हुर्काएर ठूलो बनाएपछि मेरो बुवासँग बिहे गर्नुभएको रहेछ। बुवालाई आमा बेंसी गोठमा झरेको अनुमान लागाएर सीधै त्यतै जानुभएछ।

प्रायः अन्नबाली बेंसीमै हुने भएर पनि होला स्याहार्न सजिलो हुनाले बेंसीमा सानो अन्न भण्डारका लागि गोठ बनाउनुभएको थियो बाले। बर्खे र हिउँदेवाली धान फापर कोदो, मकैजस्ता सिजनल अन्न राख्ने भकारो नजिकै रोइरहेकी मेरी आमालाई देखेर बाको मन पनि पोलेछ क्यारे!

त्यसपछि बुवाआमाले पेट पाल्न र गर्भमा रहेको सन्तानका लागि संघर्ष गर्न सुरु गर्नुभयो।

त्यतिबेलाको समाज, छोराप्रतिको तीव्र चाहना हुनु स्वाभाविकै थिो। जसले छोरा पाउँछ त्यो आफूलाई संसारकै भाग्यमानी ठान्ने चलन। समाजले पनि छोरा पाउनेलाई पुण्य र छोरी मात्रै पाउनेलाई पापको संज्ञा दिने गथ्र्यो।

भएको थोरै खेतीपाती र ज्याला–मजदुरीले जसोतसो गुजारा चलिरहेको थियो बुवा–आमाको जिन्दगी। आमाले बिहे भएको एक वर्षलगत्तै छोरा पाउने आसमा बच्चा जन्माइरहनुभयो। पहिलो सन्तान छोरी, दोस्रो छोरी, तेस्रो छोरी हुँदा–हुँदा सातौँ गर्भसम्म पनि छोरी नै जन्मिएपछि उहाँलाई घरपरिवार र टोल छिमेकले हेर्ने दृष्टि पनि फरक हुन थाल्यो।

यो बीचमा उहाँले छोरा पाउने आसले धेरै पटक मन्दिर धाउनुभयो, भाकल गर्नुभयो, व्रत तीर्थ गर्नुभयो, कति पटक धामी–झाँक्रीकोमा धाउनुभयो त्यो कुरा गरिसाध्य छैन। तैपनि उहाँले हरेश खानुभएन।

जब आमाको छैटौँ गर्भ बस्यो, त्यतिबेला उहाँको पेट अरु बेलाको भन्दा टम्म र ठूलो थियो। वरपर टोल–छिमेक सबैले आमालाई अबचाहिँ यसले पक्कै छोरा पाउँछे भन्ने गर्थे । घरमा अर्कै उत्साह थियो। बुबाले पनि छोरा जन्मेपछि टोल छिमेकलाईसमेत भोज दिने मनसाय बनाएर खसीसमेत जोगाड गर्नुभएको रहेछ। गर्भ रहेको जब नौ महिना पुग्यो। यस धर्तीमा च्याहाँच्याहाँ गर्दै पैदा भएको समाजका लागि ‘अभागी बच्चा’ अर्थात् छोरी हुँ म।

छोराको सट्टा छोरी नै जन्मेपछि बुबाले त्यो खसी फिर्ता दिनुभएछ।

त्यतिबेला साँच्चिकै बाबा–आमाको मन कुँडियो होला छोरी–छोरीपछि पनि फेरि छोरी…। त्यसबीचमा दुई जना बच्चा जन्मिएको केही महिनामै बितेछन् ती पनि छोरी नै थिए। कारण थियो, स्वास्थ्य सेवाको पहुँच नपुग्नु। सरकारी अस्पतालमा डाक्टर उपलब्ध नहुने। प्राइभेट अस्पतालमा जान आर्थिक समस्या। यसका बाबजुद पनि बाबा–आमाको जीवन संघर्ष ज्याला मजदुरी गरेर आधा पेट खाइ नखाई हामी ३ दिदी–बहिनीको हेरचाह र पढाइमा ध्यान दिनुभयो।

नीलो सर्ट र नीलो फ्रक स्कुलको ड्रेस थियो। ठूली दिदीको कपडा माहिली दिदीले र साहिँलीको कपडा मैले लगाएर जसोतसो जीवन निर्वाह हुँदै गयो। राम्रो स्वास्थ्य, पोषणजस्ता आधारभूत कुरा त परै जाओस् जुत्ता चप्पलबिनाको जीवन भोगाइ पनि गरिबीकै कारण बन्यो।

धेरै पछि पहिलो पटक एक जोर चप्पल मेरो खुट्टामा परेको याद छ। दिदीहरूले अर्मपर्म मेलापात गरेर चप्पल किनेर ल्याइदिएको दिन खुसीको सीमै थिएन। दैलेमा चप्पल राख्दा कसैले लैजाने, हराउने डरले आफू सुत्ने विस्तारामा सिरानीमुनि चप्पल राखी सिरानी बनाई सुतेको अहिले पनि आँखामा झलझली छ। जब म पाँच कक्षामा पुग्दै थिएँ। गहुँ काट्ने बेला हुँदैथियो दिदीहरू अर्मपर्म तिर्न जाँदा मलाई पनि जाऊँ जाऊँ लाग्यो। दिदीहरूको पछि लागेर म पनि जान्थेँ तर ठूली दिदी र माहिली दिदीको तुलनामा मेरो उमेर सानो भएका कारण मलाई मान्छेहरू अर्मपर्म र ज्यालामा खासै लिन खोज्दैनथे।

तर, म भने सकीनसकी दिदीहरूको पछिपछि लागेर जान्थेँ। मल बोक्ने, धान काट्ने, बोक्ने गर्दै विस्तारै मैले ज्यालामा काम गर्न लागेँ। दिनभरि मल बोकेर ५० रूपैयाँ जम्मा गरेर कापी र किताबमा लगाउने गाता किनेको अहिले पनि झलझली सम्झन्छु।

शनिबार स्कुल छुट्टी हुँदा पनि काम गर्न जाने गर्थ्यौँ। कापी–किताब स्कुल जाँदा लाउने चप्पल तिनै ज्याला–मजदुरी गरेको पैसाले पु¥याउने गथ्र्याैं। तर, कामै गरेर स्कुल पढ्नेबेलामा पनि हामी दिदी–बहिनी पढ्नमा राम्रै थियौँ।

म स्कुलमा दोस्रो, तेस्रो स्थानमा आउँथे। स्कुल पढ्दासम्म हाम्रो पढाइ राम्रै थियो। १० कक्षामा पुगेपछि एसएलसी नजिकिँदै गर्दा ट्युसन पढ्ने पैसा पनि ज्याला गरेको पैसाले बचाएर पढियो।

एसएलसीपछि अरू भने कम्प्युटर, सिलाइ–कटाइ सिक्न गए। मेरो ३ महिनाको समय भने बिहान–बेलुका घाँस काटेर बित्यो। घरमा ३ वटा गाई ४ हल गोरु, ७ वटा बाख्रा २ वटा सँगुर थिए। एसएललीको रिजल्ट आउँदा पनि म बनमा घाँस नै काटिरहेकी थिएँ। कहिलेकाहीँ घास काट्दै गर्दा कति पटक हातमा सर्पसमेत समाएकी छु।

मलाई बाल्यकालका साह्रै मीठो सम्झना बनेर एक–दुई कुरा याद आउँछन्। बाबाले भन्नुहुन्थ्यो यदि तिमीहरू कक्षामा राम्रो अंक ल्याएर पास भयौ भने म तिमीहरूलाई जलेबी (जेरी) खुवाउन बेंसी बजार लिएर जान्छु। त्यो सुनेकै दिनबाट जलेबी खाने लोभमा हामी दिदीबहिनीले जहिले पनि कक्षामा दोस्रो या तेस्रो स्थान हासिल गर्दै गयौँ।

बाबाले हरेक रिजल्टपछि तात्तातो जलेबी खुवाउन लिएर जानुहुन्थ्यो, त्यो जलेबीको स्वाद अझै मुखमा झुण्डिरहेछ। नयाँ वर्षमा नयाँ कपडा एक जोर र दशैँमा नयाँ पैसा अनि फेरि एक जोर नयाँ लुगा। नयाँ लुगाको वासना मलाई साह्रै मन पर्ने। आज पनि म यदाकता मन परेको लुगा किन्दा आएको लुगाको वासनाले उही बालापनको याद दिलाउँछ।

जिन्दगीको दौड जित्न दौडिने क्रममा मलाई पनि प्लस टु पढ्न मन लाग्यो। तर, दुःख गरेरै भए पनि ३ जना दिदीहरू सदरमुकाम गएर पढेका थिए। आफन्तको कोठामा बसेर काम खोज्दै, सानोतिनो जे जस्तो भेटिन्छ काम गर्दै पढिरहेका थिए। दिदीहरू सदरमुकाम पुगे पनि मैले १० पास गर्दा मेरो गाउँ नजिकै हिँडेर एक घण्टाको दूरीमा क्याम्पस खुलेको थियो।

बाबाले त त्यहीँ बसेर पढ भन्नुभयो। जाने रहर त मलाई पनि सदरमुकाम नै थियो तर दिदीहरूको दुःख सुनेकी थिएँ। गाडी भाडासम्म नभएर घर आउन–जानसमेत हम्मे–हम्मे परेको त्यो क्षण सम्झिँदा मैले गाउँमै बसेर पढ्ने निधो गरेँ।

अंक पनि राम्रै ल्याएर पास गरेँ। त्यसपछि मलाई ब्याचलर पढ्ने हुटहुटी चल्यो। बुवाले अब मैले खर्चले धान्नै नसक्ने भएँ आफैँ पढ्छौ भने ठीकै छ होइन भने तीन दिदीबहिनीलाई जसोतसो पढाएँ…। यसबीच माहिली दिदी गाउँको स्कुलमा पढाउने भइसकेकी थिइन्।

मपछि भाइ, अनि त्यसपछि लगत्तै बहिनी जन्मिए। बुबालाई भाइबहिनीको पनि जिम्मेवारी थपियो। भाइ जन्मिएपछि घरमा खुसीको माहोल बन्यो।

दिन बित्दै गए। एक रात सँगै सुतेकी साहिली दिदीलाई नदेख्दा मन आत्तियो। बुझ्दै जाँदा दिदीले भागेर बिहे गरिसकेकी रहिछन्। दिदीले ब्याचलर पढ्दै गर्दा भागेको देख्दा बाबा झाँगाबाट खसेझैँ हुनुभयो। उहाँको होस हवासै उड्यो। बाबाको त्यो छट्पटी र पीडा देखेर मैले दिदीलाई भगाउने भिनाजुको जसोतसो फोन नम्बर पत्ता लगाएँ र कल गरेँ। अनि भनेँ, ‘भिनाजु, अझै केही बिग्रिएको छैन, दिदीलाई फर्काइदिनू, यहाँ बुबालाई सम्झाइबुझाइसमेत गर्न सकिने अवस्था छैन।’ त्यसपछि भिनाजुले नसुनेझैँ गरी फोन राखिदिए।

यता, बुबाको त्यो पीडामिश्रित बोली झलझली सम्झिन्छु जसले हामीलाई आज यस धर्तीमा जिउन सिकायो, आफू खाइ नखाई पालन पोषण ग¥यो, पढायो गुनायो। आज त्यही व्यक्ति आफ्नै सन्तानका कारण दुःखी हुनुपरेको छ।

दुःख, सुख पढाएकै थिएँ, कम्तीमा आफ्नो खुट्टामा उभिने भएर बिहे गरे पनि त हुने। मेरैजस्तो उमेर पुगेका सबैका छोरीले बुबाको पीडा नबुझ्ने त हुँदैनन् होला भनेर बुबा धेरैबेर खुइय गर्दाै सुँकसुकाइरहनुभयो।

यसै त छोरीले मात्र हुन्न छोराको जति छोरीले केही गर्न सक्दिन भन्ने हाम्रो समाज, त्यसमाथि दिदीको व्यवहार त्यस्तो देखेपछि बुबालाई सहन कठिन हुनु स्वाभाविकै थियो।

बुबाको त्यो पीडा मेरो मुटुमा किलोजसरी गढेछ क्यारे! सायद बाबाले दिदीलाई भनेको एउटै शब्द ‘कम्तीमा आफ्नो खुट्टामा उभिएर बिहे गरेको भए त हुने। समाजका अगाडि भागेर जाने हतारो पनि किन पो गर्नुप¥यो र !’ यही कुरा दिनरात मेरो मानसपटलमा घुमिरह्यो।

सायद त्यही सोचाइ नै अहिले फर्किएर हेर्दा जिन्दगीको टर्निङ प्वाइन्ट थियो जस्तो लाग्छ मलाई। त्यसपछि मलाई कम्तीमा आफूले केही गर्नै पर्छ भन्ने कुराले सधँै घच्घच्याइह्यो।

ब्याचलर पढ्न र २–४ पैसा कमाएर घरको मजबुत पिलर बन्न झापा झरेकी म। नजिकका इष्टमित्र र साथीभाइलाई दिनकै मलाई जागिर खोजिदिन भनिरहे। ब्याचलर भर्ना गर्न पैसा छैन न त छ साथमा कुनै रोजगार। साउदीमा भएका काकाको छोरालाई भर्ना हुने पैसा मागेँ। कलेज पढ्न गए पनि मन भने जागिरतिर घुमिरह्यो।

केही न केही काममा अभ्यस्त भई अर्थाेपार्जन गरेर बाबा–आमालाई आर्थिक रूपले भरथेग गर्नेतिर मेरो ध्यान खिचिरह्यो।

एक दिनको कुरा हो, दिदी र म जो आफन्तकोमा बस्दै आएका थियौँ। त्यहीँको दाइले कामको सिलसिलामा थर्मल थोरापीको फर्म भर्न लगाउनुभयोे। फर्म एउटा थियो। काम गर्ने चाहना दुई जनाको। दिदीलाई मैले फकाएर आफूले फर्म भर्ने र काम सुरु गर्ने निधो गरेँ। जुन थर्मल थेरापी कम्पनी नेपालमा पहिलो पटक भित्रिएको रहेछ।

सुरुमा त उमेर पुगेका बूढाबूढी, नशा तथा मेरुदण्डलगायत समस्या भएका बिरामीलाई निःशुल्क थोरापी गराउने भन्ने बुझेँ। कामसँगै सेवा पनि रहेछ भन्ने लाग्यो। विस्तारै तालिम लिन गएपछि थाहा भयो कि यो त ‘सेल्स’ पनि गर्नुपर्ने रहेछ। त्यसपछि डर लाग्यो। यो काम सुरु त गरेँ, कतै फसिने त होइनजस्तो पनि लाग्यो।

तालिम लिएर फर्किएको १२ दिन मात्र भएको थियो। त्यहाँ थेरापी सेवा लिन आउनेहरूलाई थेरापी किन महत्वपूर्ण छ र किन गर्नुपर्छ अर्थात् कस्तो अवस्थामा गर्नुहुँदैन भनेर थरापी सेन्टरमा सहभागीहरूलाई भनिरहँदा र थेरापी गराइरहँदा मुख बांगिएको एक जना अधबैंसे दाइको मुख थेरापी गरेको १२ दिनकै दिन सामान्य अवस्थामा फर्कियो।

त्यसपछि त झन् कोरियन थर्मल थेरापीप्रतिको विश्वास बढेर आयो। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको मेरो दैनिकी थेरापी गराउने र थरापीबारे बुझाउनमै ब्यस्त भयो।

क्षमता हुनेले आफूमा सुधार आएपछि किनेरै लैजान्थे। आर्थिक अवस्थाले नभ्याउनेहरू नियमित निःशुल्क थेरापी गर्न आउँथे। त्यो सेन्टरमा अरु स्टाफभन्दा मलाई नै सबैले माया गर्थे। धेरैजसो थेरापी गर्न आउनेहरूमध्ये बाबाआमाकै उमेर समूहका हुन्थे।

म सँगैका मेरा सहकर्मीलाई म विस्तारै मन पर्न छाडेको थियो। कारण थियो, त्यहाँ आउने कस्टुमरदेखि सेन्टर सञ्चालक सबैले मलाइ नै रुचाउँथे।

अक्सर मान्छेहरूले मान्छे रुचाउने भन्दा पनि उसको काम रुचाउने हो। त्यतिबेला मैले साह्रै लगनशील अनि मिहिनेत गरेकी थिएँ। मलाई नरुचाउने स्टाफले फाटो ल्याएर मलाई नराम्रो बनाएको अनुभूति भएपछि मेरो आत्मसम्मानभन्दा ठूलो सम्पत्ति अरू केही होइन भन्ने लागेर मैले काम छाडेँ।

यद्यपि, पाँच हजार रुपैयाँको जागिरबाट पछि हट्दा मलाई संसारै अँध्यारो लाग्यो। त्यसबीचमा मेलै आर्मीमा भर्ना खुलेको थाहा पाएर फिजिकल दिएँ। तर किन हो कुन्नि अघिल्लो दिन तपाईं सेलेक्ट हुनुभयो भनिएको थियो भोलिपल्ट फोन आयो र फोनमा भनियो कि तपाईं छानिनुभएन।

मैले सोचेँ सायद मेरो भनसुन पुगेन होला। बीचमा जागिरका लागि भैंतारिँदा पढाइ बिग्रिएको चालै पाइएन। एक दिन एउटा फोन आयो, उठाएँ। भनियो– तपाईंले त जागिर छाड्नुभएछ। तपाईंजस्तो काम गर्न जानेको मान्छेलाई मैले स्यालरी र खान बस्न राम्रो सुविधा दिन्छु, भनेपछि मैले केही नसोची एकै वचनमा हुन्छ भनँे।

उहाँ सर जसले मलाई फोन गर्नुभएको थियो उहाँलाई मैले तालिममा पहिले १–२ पटक भेटेकी थिएँ। नेपालगञ्ज झापाबाट धेरै टाढा छ थाहा थियो तर मान्छेलाई आर्थिक अवस्था सुदृढ बनाउने र जिन्दगीमा केही गरी यो समाजलाई देखाउँछु भन्ने इखले झापाबाट रात्रि बस चढेर नेपालगन्ज हिँडेँ। बाटोमा गाडीमा चढ्ने–झर्ने मान्छेहरू आइरहे। बीच–बीचमा मेरो साइडको सिटमा बस्ने पुरुष पात्रहरूले गिद्धेनजर लगाइरहे। रातभरि ननिदाइकन म नेपालगन्ज पुगेँ।

१८ बर्से केटी। नयाँ ठाउँ। नयाँ परिवेश। सबैभन्दा गाह्रो कुरा गर्मीको तातोहावा त्यसमाथि लामखुट्टेको टोकाइ कति रात त सुत्नै सकिनँ। तर मनको अठोटले सधँै भनिरह्यो– म यहाँ काम गर्न आएकी हँु। मलाई गर्मी भयो भन्ने छुट छैन। विस्तारै काम राम्रै हुँदै गयो। ४ महिनापछि दसँैमा घर फर्किंदा मेरो हातमा ३५ हजार थियो। त्यति धेरै पैसा एकैचोटि नदेखिकी मलाई खुसीको सीमा रहेन। दसँै मनाएर फेरि नेपालगन्ज फर्किएर काम गर्न थालँे। उही थेरापी। उस्तै मायालु कस्टुमर, उस्तै मिहिनेत।

विस्तारै स्टाफबाट म्यानेजर भएँ, काम मन लगाएरै गरिरहँे। शुक्रबार आएपछि घरको साह्रै याद आउँथ्यो तर कामसँगै दिमागलाई डाइभर्ट गरिरहेँ। फेरि ३ महिनापछि घर आउन मन लाग्यो र छुट्टी मागेँ। त्यतिबेला मेरो जिन्दगीको अर्को खुसी भनेको मैले पहिले पटक हवाईजहाजमा यात्रा गर्ने अवसर पाएँ। नेपालगन्जको एयरपोर्टबाट भद्रपुरसम्मको मेरो हवाईयात्रा जिन्दगीको अर्को अविष्मरयीण बन्यो। त्यतिबेला संसारकै ठूली मान्छे मै हुँ कि जस्तो लाग्यो मलाई।

समय क्रममा मैले पनि कमाएको पैसाबाट १० प्रतिशत सेयर हालेर आफ्नै सेन्टर दाङमा खोल्ने सोच बनाएँ। त्यतिबेला मलाई हृदयदेखि उदारो मेसिन दिएर सहयोग गर्ने नेपाल हेड अफिस मिस्टर सीन सर्क, नेपालमा थेरापी बिस्तार गर्ने सुनिल श्रेष्ठ र जनक भुसाललगायत ती कस्टुमर जसले सधैँ मलाई हैसला दिनुभयो उहाँहरूप्रति आभारी छु र हृदयदेखि नमन गर्न चाहन्छु जसकारण आज म यो अवस्थामा चलिरहेको छु।

आफ्नो व्यवसाय विस्तारै फस्टाउँदै गएपछि सपनाको सहर काठमाडौँ आएँ। जिन्दगीले यस्तो मोड लेला भनेर हिजो डोकोमा मल बोक्दै गर्दा सेचेकी थिइनँ तर आज मलाई मल बोक्दै गर्दा पनि इमानदारीसाथ पैसा कमाउनुपर्छ भन्ने लागिरह्यो। मलको भारी थाप्लोमा भए पनि सपना देख्न कहिल्यै छाडिनँ। फलस्वरुप लगनशील भएर गरेको कर्मकै कारण आज म विश्वको १७ वटा देश घुमिसकेकी छु। आफ्नो मिहिनेत अनि आफ्नै पौरखले।

मसँगै बाबा–आमालाई पनि मैले केही देश घुमाउने अवसर पाएँ। त्यतिबेला बल्ल जिन्दगीले सार्थकता पाएजस्तो लाग्यो। बुबा–आमालाई पहिलो पटक इनरनेशनल फ्लाइटमा चढाउँदै गर्दा बुबाले भनेको कुरा सम्झिन्छु, ‘तँ जन्मिँदाकै वर्ष हो हाम्रो घरको छानोको जस्ता (टिन) फेरेको पनि। आज तैँले घरको टिन मात्रै होइन, जिन्दगी नै फेरिदिएकी छस्। छोरी पाउने बाबाआमाले छोरा र छोरीबीचको विभेद समाजले मानसपटलबाट हटाउनुपर्ने ज्वलन्त उदाहरण बनेकी छस्, जुन कुरा आज हामीले महसुस गरेका छौँ।’

बाँचुन्जेलसम्म यो माटोको सेवक हुन, आफ्नै ठाउँमा धेरै काम गर्न र एक पलको यो जिन्दगी पैसासँगै मान्छे कमाउन मन छ मलाई।

(राई थर्मल थेरापी व्यवसायी हुन्।) 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…