- नेपाल साइकल सोसाइटीको आयोजनामा करिब ७ सय साइकलयात्री सहभागी रहेको साइकल र्यालीमा दुई तिहाइ महिला थिए।
- काठमाडौँ उपत्यका लगायत पोखरा, बिर्तामोड, भैरहवा, र बारामा पनि साइकल र्यालीको आयोजना गरिएको थियो।
- साइकल प्रयोगले शहरी यातायात व्यवस्थापन सुधार्न, वायु प्रदूषण न्यूनीकरण गर्न र महिला सशक्तिकरणमा योगदान पुर्याएको छ।
नेपाल साइकल सोसाइटीको संयोजनमा विभिन्न संस्थाहरूको सहकार्यमा ‘विश्व साइकल दिवस’ (जुन ३) को अवसरमा ‘दैनिक यात्रामा साइकल’ विषयगत साइकल र्याली कार्यक्रम आयोजना भएको छ।
करिब ७ सय साइकलयात्री सहभागी रहेको र्यालीमा दुई तिहाइ महिला साइक्लिस्ट थिए।
कार्यक्रमको उद्घाटन भौतिक पूर्वाधार संसदीय समिति सभापति सांसद आशिष गजुरेलले गरेका थिए।
सांसदहरू खगेन्द्र सुनार, इन्दिरा रानामगर, अरविन्द शाह, कमल सुवेदी अतिथिका रूपमा सहभागी थिए।
र्याली शहरी रुट भएर निस्केको थियो।
काठमाडौँमात्र नभएर नेपालका पोखरा, बिर्तामोड, भैरहवा, बारा लगायत बिभिन्न शहरहरुमा स्थानीय साइकल क्लबहरूले साइकल र्याली तथा कार्यक्रम आयोजना गरेका छन्।
साइकलको बहुआयामिक उपयोगितालाई कदर गरी साइकललाई जन-जनको जीवनमा दैनिक प्रयोगमा ल्याउन साइकलको राष्ट्रिय भिजन बनाउन जरुरी छ। उक्त भिजन हासिल गर्न नीति तथा कार्यक्रमहरू जस्तै: राष्ट्रिय साइकल ऐन, साइकल संस्कृति प्रवर्धनका कार्यक्रम, साइकल पूर्वाधार मापदण्ड तथा निर्देशिका बनाउने लगायत प्रत्येक शहरहरुमा साइकल पुर्वाधारहरु निर्माण गरी साइकलमैत्री शहर बनाउन कार्यक्रममा पनि माग गरिएको छ।
दैनिक साइकल यात्राले ट्राफिक जाम र दुर्घटना न्यूनीकरण गर्दै शहरी यातायात व्यवस्थापन, वायु प्रदुषण न्यूनीकरण र शारीरिक सक्रियता सहित व्यक्तिको स्वास्थ्यमा सुधारका साथै मुटुको रोग, उच्च रक्तचाप, मधुमेह, डिप्रेशन जस्ता रोग प्रतिरोधी क्षमतामा वृद्धि, इन्धन खपतमा कमी, आयात न्यूनीकरण भई आर्थिक लाभ हुनुका साथै महिला साइकल यात्रुहरुको वृद्धिसँगै महिला सशक्तिकरणमा समेत साइकलले ठुलो योगदान पुर्याएको छ।
काठमाडौं उपत्यका विश्वकै सबैभन्दा वायु प्रदूषित शहरको रूपमा बदनाम हुदै गरेको छ।
यहाँको भयावह सडक दुर्घटना र विकराल ट्राफिक कन्जेसन ( ट्राफिक भीड/जाम ) लाइ सम्बोधन गरेर दीर्घकालिन उपाय नअपनाए काठमाडौं उपत्यका बाँच्न अयोग्य हुँदै जानेछ।

भर्खरै
लोकप्रिय
