झापा – झापाको दमकमा बोराभित्र फेला परेको महिलाको शवको रहस्य खुलेको छ। गत जेठ १६ गते दमक नगरपालिका वडा नं. १० स्थित रतुवा खोलाको पुलमुनि सेतो बोराभित्र पोको पारिएको अवस्थामा अन्दाजी २१ वर्षीया रोमा (रमा) तिवारीको शव फेला परेको थियो।
दमक-८ बसन्त टोल निवासी मृतक युवतीको शवलाई उनका पिता नारायण तिवारीले पहिचान गरेका थिए। घटनालगत्तै सुक्ष्म अनुसन्धानमा जुटेको प्रहरी टोलीले हत्यामा संलग्न रहेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला स्थायी घर भई हाल दमक-५ मा डेरा गरी बस्ने ३४ वर्षीय टाइल्स मिस्त्री राकेशकुमार पण्डित रहेका छन्।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय दमकको संयुक्त प्रहरी टोलीले प्राविधिक विश्लेषण, सुक्ष्म निगरानी र घटनास्थल आसपासको सीसीटीभी फुटेजको अध्ययनबाट अभियुक्तको पहिचान गरेको हो।
प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतको कमाण्डमा खटिएको टोलीले जेठ २१ गते राति अभियुक्त पण्डितलाई उनकै डेरा कोठाबाट नियन्त्रणमा लिएको थियो।
प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा अभियुक्तले मृतकसँग पैसाको विषयलाई लिएर विवाद उत्पन्न भएको र सोही झगडाका क्रममा उनको हत्या गरेको स्वीकार गरिसकेका छन्।
मृतक युवतीकी आमा मुनादेवी तिवारीले घटनास्थलनजिकै फेला परेको एक जोर चप्पल आफ्नी छोरीकै भएको भनी पहिचानसमेत गरेकी छन्।
प्रहरीले अभियुक्तको साथबाट घटनामा प्रयोग भएका महत्त्वपूर्ण प्रमाणहरू समेत बरामद गरेको छ। जसमा मृतकलाई भेट्न जाँदा र लिएर आउँदा प्रयोग गरिएको मे २ प ८२३ नम्बरको निलो होन्डा शाइन मोटरसाइकल र शव फाल्न प्रयोग गरिएको बीआर ३८ एएम ३७७८ नम्बरको रातो-कालो अपाचे मोटरसाइकल रहेका छन्।
यसका साथै अभियुक्तले घटनाको समयमा लगाएका कपडा, ३ थान मोबाइल र मृतकको चप्पलसमेत बरामद गरिएको छ। हाल पक्राउ परेका पण्डितविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ र १८ बमोजिम ज्यानसम्बन्धी कसूर र जबरजस्ती करणी कसूरमा मुद्दा दर्ता गरिएको छ।
झापा जिल्ला अदालतबाट अनुसन्धानका लागि ५ दिनको म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय दमकबाट घटनाको थप विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
भर्खरै
लोकप्रिय
