- पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कमला नदी पुल निरीक्षणका क्रममा स्थानीयको विरोधमा परेका छन्।
- स्थानीयले पुल निर्माणको ढिलाइ र स्पष्ट कार्ययोजनाको अभावप्रति आक्रोश व्यक्त गरेका थिए।
- बाढीले भत्काएको पुल पुनर्निर्माणमा प्रगति हुन नसकेका कारण यात्रुले सास्तो भोगिरहेका छन्।
काठमाडौँ– १५ वर्षदेखि अलपत्र परेको सिरहा र धनुषा जोड्ने हुलाकी राजमार्गअन्तर्गतको कमला नदी पुल निरीक्षण गर्न पुगेका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल स्थानीयको विरोधमा परेका छन्।
शनिबार पुलको निरीक्षणमा उनी पुगेका थिए। सोहीक्रममा स्थानीयले १५ वर्षदेखि पुल अलपत्र पारिएको र अझै कहिले बन्ने भन्नेसमेत एकिन नभएको भन्दै उनको विरोध गरेका थिए। पुल निर्माण सम्पन्न गर्ने स्पष्ट कार्ययोजना सार्वजनिक नगरेको स्थानीयको आरोप थियो।
स्थानीयले कहिले पुल बनिसक्छ भन्दै प्रश्न गर्दा मन्त्री लम्सालले प्रतिक्रिया दिन सकेका थिएनन्। त्यसपछि उनीविरुद्ध स्थानीयले नाराबाजी नै गरेका थिए।
पूर्वी मधेशका विभिन्न जिल्लामा सञ्चालित विकास आयोजनाहरूको अनुगमन गर्नेक्रममा मन्त्री लम्साल कमला पुलको पनि अवलोकनमा पुगेका थिए। १५ वर्षको अवधिमा मन्त्री लम्सालसहित १८ जना मन्त्रीहरूले यसको निरीक्षण गरिसकेको मन्त्री फेरिने र निरीक्षण हुने क्रम चलिरहे पनि पुलको निर्माण कार्य नभएको भन्दै स्थानीय आक्रोशित भएका थिए।
स्थानीयको विरोधपछि मन्त्री लम्सालले पुल निर्माणको काम अब कुनै बाहनामा नरोकिने बताएका थिए।
४ सय ७० मिटर लामो यो पुल साढे तीन वर्षमै सक्ने गरी २०६८ मंसिरमा २४ करोड ९१ लाख रुपैयाँ लागतमा ठेक्का लागेको थियो। पप्पु-लुम्बिनी जेभीले पटक–पटक म्याद थप हुँदा पनि काम गर्न नसकेपछि २०७६ असोजदेखि लुम्बिनी बिल्डर्सलाई पुल निर्माणको जिम्मा दिइएको थियो।
लुम्बिनी बिल्डर्सले काम सकेर उद्घाटनको तयारी गरिरहेकाबेला २०७८ असार १७ गते बाढीले पुल भत्काएको थियो। त्यपछि पुल निर्माणको काम चलिरहेको भए पनि पूरा हुन सकेको छैन।
पुल नहुँदा यात्रुले सास्तो भोग्दै आएका छन्।
भर्खरै
लोकप्रिय
