काठमाडौँ – चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले विश्वप्रसिद्ध होटल सञ्जाल ‘म्यारियट इन्टरनेसनल’सँगको साझेदारीले नेपालको आतिथ्य क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्।
म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारियटको नेपाल भ्रमणका अवसरमा आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले यो सहकार्य नेपालको समृद्धिका लागि एक ऐतिहासिक ‘स्टेटमेन्ट’ भएको बताए।
आफ्नो २८ वर्ष लामो आतिथ्य क्षेत्रको यात्रा स्मरण गर्दै चौधरीले सन् १९९८ मा नेपालमा होटल सुरु गर्ने प्रयास प्राविधिक कारणले सफल हुन नसकेको उल्लेख गरे। दुई वर्षअघि सिंगापुरमा म्यारियटको नेतृत्वसँग भएको भेटवार्ताले यो साझेदारीलाई मूर्तरुप दिएको उनको भनाइ थियो।
म्यारियटका ९ हजार ९ सयभन्दा बढी होटल र १७ लाख कोठाहरूसहितको विश्वव्यापी सञ्जालसँगको सहकार्य नेपालका लागि मात्र नभई दक्षिण एसियाकै पर्यटन क्षेत्रका लागि महत्त्वपूर्ण रहेको उनले उल्लेख गरे। समारोहमा चौधरीले नेपालको वर्तमान राजनीतिक नेतृत्व र युवा संसद्प्रति आशावादी हुँदै सरकारको विकासको मार्गचित्रमा निजी क्षेत्रको साथ रहने प्रतिबद्धता जनाए।
नेपालमा म्यारियटका लगभग सबै प्रमुख ब्राण्डहरू भित्र्याउन सफल भएको उनले बताए। साथै, भारतमा पनि म्यारियटसँगको साझेदारीमा ५०० वटा होटल सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको र हरेक हप्ता एउटा होटल थप्ने गरी तीव्र गतिमा विस्तार भइरहेको जानकारी उनले दिए।
नेपाल सरकारले सन् २०२७ लाई वेलनेस पर्यटन वर्षका रूपमा मनाउने तयारी गरिरहेको सन्दर्भमा यो साझेदारीले पर्यटन पूर्वाधार र इकोसिस्टम निर्माणमा थप बल पुग्ने उनको विश्वास छ।
म्यारियट इन्टरनेसनल र सिजी कर्प ग्लोबलबीच नेपाल र भारतमा तीन वटा नयाँ सुविधा सम्पन्न होटलहरू सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौताअनुसार काठमाडौँमा ‘द रिट्ज–कार्लटन’ र ‘द वेस्टिन’ तथा भारतको सिलिगुडीमा ‘जेडब्लु म्यारियट’ होटल सञ्चालनमा आउनेछन्।
भर्खरै
लोकप्रिय
