- रञ्जीत आचार्य विश्व प्रसिद्ध कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड २०२६ को निर्णायक मण्डलमा सदस्य मनोनित भएका छन्।
- उनले नेपाली विज्ञापन तथा सिर्जनात्मक उद्योगलाई अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक उपलब्धि दिलाउन सफल भएका छन्।
- आचार्यले विज्ञापन क्षेत्रमा ३५ वर्षभन्दा बढीको अनुभव र प्रभावशाली नेतृत्वका साथै विभिन्न चर्चित अभियानहरूको नेतृत्व गरेका छन्।
काठमाडौं- नेपालको सञ्चार तथा विज्ञापन क्षेत्रका स्थापित व्यक्तित्व एवं प्रिज्मा एड्भर्टाइजिङका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य प्रतिष्ठित ‘१७औं कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड २०२६’ को निर्णायक मण्डल (जुरी) सदस्यमा मनोनित भएका छन् ।
विश्वकै प्रतिष्ठित कर्पोरेट फिल्म अवार्डको निर्णायक मण्डलमा स्थान बनाउने उनी पहिलो नेपाली सिर्जनशील व्यक्ति हुन् । कर्पोरेट फिल्म, दृश्य कथन (भिजुअल स्टोरीटेलिङ) तथा ब्रान्डेड मिडिया निर्माणको क्षेत्रमा विश्वस्तरीय मापदण्ड निर्धारण गर्ने यस प्रतियोगितामा नेपालीको प्रतिनिधित्व हुनु समग्र नेपाल र यहाँको विज्ञापन तथा सिर्जनात्मक उद्योगका लागि एक ऐतिहासिक उपलब्धि हो ।
सन् २०१० मा स्थापना भएको र अष्ट्रियाको भियना शहरमा मुख्यालय रहेको कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड्स प्रत्येक वर्ष फ्रान्सको प्रसिद्ध चलचित्र केन्द्र कान्स शहरमा आयोजना हुने गर्दछ ।
यस प्रतिष्ठित महोत्सवको निर्णायक मण्डलमा यसअघि ओस्कार र एमी अवार्ड विजेताहरू समेत सहभागी भइसकेका छन् । यस वर्ष आयोजना हुन लागेको १७औं संस्करणको अवार्डमा ६३ प्रतिस्पर्धात्मक विधाहरू समावेश गरिएका छन्, जसमा विश्वभरका फिल्म निर्माता, विज्ञापन एजेन्सी, प्रसारण संस्था र विद्यार्थीहरूको सहभागिता रहनेछ । यस मञ्चमा प्रदान गरिने गोल्ड, सिल्भर, ब्ल्याक, ब्लु र ह्वाइट डल्फिन ट्रफीहरूलाई कर्पोरेट फिल्म क्षेत्रकै सर्वोच्च सम्मान मानिन्छ ।
विज्ञापन, ब्रान्ड रणनीति, फिल्म निर्माण र जनसम्पर्क (पीआर) को क्षेत्रमा ३५ वर्षभन्दा बढीको अनुभव बोकेका आचार्य नेपालको सञ्चार उद्योगका एक प्रभावशाली नेतृत्व हुन् । उनकै नेतृत्वमा प्रिज्मा एड्भर्टाइजिङले नेपालको चर्चित ‘कृति अवार्ड’ मा लगातार चार पटक ‘बेस्ट एजेन्सी अफ द इयर’ को उपाधि जित्दै सर्वाधिक पुरस्कार प्राप्त गर्ने स्वतन्त्र एजेन्सीको रूपमा इतिहास बनाएको छ ।
उनले कोका-कोला नेपालको ‘मन खोलौँ कोकसँग’ र एनसेलको ऐतिहासिक रि-ब्रान्डिङ जस्ता चर्चित अभियानहरूको नेतृत्व गरेका छन् । एनसेलको ब्रान्डिङका क्रममा नेपालमै पहिलो पटक दैनिक पत्रिकाको मास्टहेडलाई वैजनी रंगमा रूपान्तरण गरिएको थियो । यस्तै, उनले सिर्जना गरेका ‘चिसो भनेकै कोका-कोला’, ‘मुटु चाहिन्छ मुटु’, र ‘गरी खाना देऊ’ जस्ता नाराहरू नेपाली उपभोक्ताको जनजिब्रोमा झुण्डिएका छन् ।
अन्तर्राष्ट्रिय स्तरमा पनि आचार्यले सन् २००० मा अमेरिकाको जोन्सन एण्ड जोन्सनबाट ‘वेल रिङ्गर अवार्ड’, सन् २००७ मा एड क्लब मुम्बईबाट ‘एबी अवार्ड’ र सन् २०२५ मा सिंगापुरमा ‘ब्रान्डलरिएट बेस्ट ब्रान्ड्स अवार्ड’ प्राप्त गरिसकेका छन् ।
विज्ञापन क्षेत्रबाहेक उनी नीलबाराही फिल्म्स, बाईस्कोप सिनेमा, संस्कृति इन्टरनेसनल स्कुल र डीएनए प्रालि जस्ता संस्थाहरूमा नेतृत्वदायी भूमिकामा छन् । साथै, टोस्टमास्टर्स इन्टरनेसनलमा २६ वर्षभन्दा बढीको अनुभव सँगालेका आचार्य सन् २०२१-२२ मा डिस्ट्रिक्ट डाइरेक्टर रहनुका साथै संस्थाको सर्वोच्च व्यक्तिगत सम्मान ‘प्रेसिडेन्सियल साइटेसन २०१८’ पाउने नेपालको एकमात्र व्यक्ति हुन् ।
आफ्नो यस ऐतिहासिक मनोनयनप्रति खुसी व्यक्त गर्दै आचार्यले भने, “सिर्जनशीलताका लागि कुनै सीमारेखा वा पासपोर्ट हुँदैन। सत्य र उत्कृष्ट प्रस्तुतीकरणसहित सुनाइने हरेक कथाले विश्वमञ्च पाउन योग्य हुन्छ। यो मनोनयन मेरो मात्र होइन, सीमाभन्दा पर सपना देख्न साहस गर्ने प्रत्येक नेपाली सिर्जनशील व्यक्तिको उपलब्धि हो ।”
जुरी सदस्यका रूपमा आचार्यले विश्वभरका प्रविष्टिहरूको मूल्याङ्कन गर्दा आफ्नो तीन दशक लामो अनुभव, दक्षिण एसियाली कथा-वाचन शैली र विकासशील बजारको दृष्टिकोणलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नेछन्, जसले नेपाली सिर्जनशीलतालाई विश्वस्तरमा नयाँ पहिचान र स्वीकारोक्ति दिलाउने विश्वास गरिएको छ ।
भर्खरै
लोकप्रिय
