काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्को गतिरोध कायमै राखेको आरोप लगाएको छ।
मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस सचेतक निश्कल राईले संसद्को गतिरोध जारी हुनुमा प्रधानमन्त्री नै जिम्मेवार रहेको बताएका हुन्।
उनले प्रधानमन्त्री शाहले संसद्मा आएर चाँडै गतिरोध अन्त्य गर्नुपर्ने बताए। प्रधानमन्त्री शाहले मुलुकको राष्ट्रियताको विरुद्धमा गम्भीर अभिव्यक्ति दिएकाले सबै विपक्ष दलहरू एक ठाउँमा उभिएर विरोध गर्नुपरेको पनि सचेतक राईले स्पष्ट पारे।
‘सदन अवरोध हामीले कुनै रहरले गरिराखेका छैनौँ। सबैभन्दा महत्वपूर्ण कुरा राष्ट्रियता, राष्ट्रिय अखण्डताको कुरा नै आइसकेपछाडि हामी सबै प्रतिपक्ष दलहरू एक ठाउँमा छौँ। तर पनि यो गतिरोधलाई, यो डेडलकलाई लामो समय राखि राख्न सकिँदैन,’ उनले भने, ‘सबैभन्दा जिम्मेवार भएकाले प्रधानमन्त्रीले डेडलक खोल्न पनि संसद्मा आउनुहुन्छ, आउनु पर्दछ। अर्थमन्त्रीले पनि कर छलीको विषयमा संसद्मा स्पष्ट पार्नु पर्दछ।’
भर्खरै
लोकप्रिय
