काठमाडौँ – एमालेले गृहमन्त्रीमा सुधन गुरुङको पुनरागमनप्रति आपत्ति जनाएको छ।
विपक्षी दलहरुको बैठकपछि मंगलवार सिंहदरबारमा एमाले प्रमुख सचेतक ऐन महरले गुरुङको आगमनलाई सुशासनप्रतिको मजाक भनि टिप्पणी गरेका हुन्।
गुरुङले मंगलबार दोस्रोपटक गृह मन्त्रालयको नेतृत्व लिएका छन्। गृहमन्त्रीको सम्पत्ति विवरणबारे छानबिन गर्न आफ्नै मातहतमा आायेग बनाएर आरोपितहरू चोख्याउने काम गरेको उनको दाबी छ।
सुशासनको नयाँ नारा दिए पनि सरकारले पुरानै र जनस्तरबाट तिरस्कृत शैली अपनाएको महरले बताए।
अर्थ मन्त्रालयसँग जोडिएका पछिल्ला विवादहरूमा गम्भीर प्रश्न उठाउँदै महरले संसदीय छानबिनको हुनुपर्ने जनाए।
बिवाइडी गाडीको आयातमा भएको भनिएको कर छली र आर्थिक विधेयकमा करका दरहरू हेरफेर गरिएको विषयलाई उनले ‘नीतिगत भ्रष्टाचार’ र ‘राज्यविरुद्धको अपराध’ को संज्ञा एमालेले दिए।
‘अब यसमा सरकारले सुसज्जित सुशासन कायम गर्ने कुरा गरेको छ। तर आफूलाई नयाँ भन्ने सरकारले जुन प्रकारको अत्यन्त पुरानो, घृणित र जनताबाट तिरस्कृत शैली अपनाएको छ, त्यो विडम्बनापूर्ण, दुःखद र अचम्मलाग्दो छ । विशेषगरी, कुनै ज्वलन्त प्रश्न उठेपछि सरकारले आफैँ आयोग गठन गर्ने, त्यसलाई म्यान्डेट तथा निर्देशन दिने, अनि त्यसैमार्फत आफूलाई सफाइ दिने प्रयास गरेको छ,’ महरले भने,‘यसप्रति हाम्रो आपत्ति छ। म यस विषयमा दुःख व्यक्त गर्न चाहन्छु। नेपालीमा एउटा उखान छ, आफैँ धामीझाँक्री, आफैँ बोक्सी, सरकारले त्यही प्रयास गरेको देखिन्छ। यो सुशासनको भद्दा नमूना हो।’
विपक्षी दलहरूले सरकारले गठन गरेका छानबिन संयन्त्रहरूले निष्पक्ष परिणाम नदिने भन्दै संसद्मार्फत नै उच्चस्तरीय छानबिन हुनुपर्ने अडान राखेका छन्।
भर्खरै
लोकप्रिय
