‘स्पेस एक्स’को ऐतिहासिक आईपीओ सूचिकृत हुँदा ‘पहिलो ट्रिलिनियर’ बने मक्स

‘स्पेस एक्स’को ऐतिहासिक आईपीओ सूचिकृत हुँदा ‘पहिलो ट्रिलिनियर’ बने मक्स
+
-

विश्वकै सबैभन्दा ठूलो आईपीओका रुपमा रहेको दाबी गरिएको कम्पनी ‘स्पेस एक्स’ सेयर बजारमा सूचीकृत (लिस्टिङ) हुँदा कम्पनीका संस्थापक एलन मस्क विश्वको पहिलो ट्रिलिनियर बनेका छन्।

टेस्ला र स्पेसएक्सका संस्थापक मस्कको कुल सम्पत्ति अहिले १.११ ट्रिलियन अमेरिकी डलर पुगेको छ। यससँगै उनले विश्वकै सबैभन्दा धनी व्यक्तिको स्थान अझ मजबुत बनाएका छन्। स्पेसएक्सले नास्डाक शेयर बजारमा २.२ ट्रिलियन डलर मूल्याङ्कनसहित सूचीकृत हुँदै इतिहासकै सबैभन्दा ठूलो आईपीओका रुपमा बजारमा आएको छ।

कम्पनीले प्रति शेयर १३५ डलर मूल्य तोकेको भए पनि कारोबार सुरु हुँदा मूल्य १५० डलर पुगेको थियो र केही समयका लागि १७६.५० डलरसम्म उक्लिएको थियो। अन्ततः शुक्रबार कारोबार बन्द हुँदा शेयर मूल्य करिब १६१ डलरमा कायम रह्यो। यस आईपीओबाट कम्पनीले ७५ अर्ब डलर पूँजी संकलन गरेको छ। स्पेसएक्समा मस्कको ४२ प्रतिशत स्वामित्व रहेको छ, जसले कम्पनीका प्रमुख निर्णयहरूमा उनलाई लगभग पूर्ण नियन्त्रण प्रदान गर्दछ।

ब्लूमबर्गको विवरणअनुसार मस्कको स्पेसएक्समा रहेको हिस्साको मूल्य मात्र ७६७ अर्ब डलरभन्दा बढी पुगेको छ। यसबाहेक टेस्लामा रहेको उनको शेयर र अन्य लगानिको मूल्य सयौं अर्ब डलर रहेको छ। यो सँगै मस्कको सम्पत्ति अहिले पोल्यान्ड वा स्विट्जरल्याण्डजस्ता देशहरूको वार्षिक आर्थिक उत्पादन (जीडीपी) सरह पुगेको छ। यसले विश्वव्यापी रूपमा सम्पत्ति असमानता सम्बन्धी बहसलाई पुनः चर्काएको छ।

अमेरिकी सिनेटरहरू बर्नाइ स्यान्डर्स र एलिजावेथ वार्नले यस्तो अत्यधिक सम्पत्तिलाई चिन्ताको विषय भन्दै धनीमाथि थप कर लगाउनुपर्ने तर्क गरेका छन्। यद्यपि मस्कको अधिकांश सम्पत्ति शेयरको मूल्यमा आधारित भएकाले यो ‘कागजी सम्पत्ति’ (पेपर वेल्थ) का रुपमा रहेको छ। उनले कम्तीमा एक वर्षसम्म आफ्ना स्पेसएक्सका शेयर बेच्न पाउने छैनन्।

स्पेसएक्स अझै नाफामा छैन

यति ठूलो मूल्याङ्कन भए पनि स्पेसएक्स हालसम्म नाफामा पुगेको छैन। कम्पनीले सन् २०२५ र २०२६ मा कृत्रिम बुद्धिमत्ता (एआइ) र पूर्वाधार विकासमा ठूलो लगानी गरेकाले ९ अर्ब डलरभन्दा बढी घाटा व्यहोरेको छ। कम्पनीको मुख्य व्यवसाय पुनः प्रयोग गर्न मिल्ने रकेट निर्माण तथा प्रक्षेपण हो। यसबाहेक स्टारलिङ्क इन्टरनेट स्याटेलाइट सेवा सञ्चालन गर्ने स्पेसएक्सले मस्ककै अर्को कम्पनी एक्स एआई खरिद गरेपछि एआई क्षेत्रमा पनि प्रवेश गरेको छ।
कम्पनीले आईपीओबाट उठेको रकम रकेट प्रविधि, स्टारलिङ्क विस्तार, एआई विकास तथा अन्तरिक्षमै डाटा सेन्टर निर्माणजस्ता महत्वाकांक्षी योजनामा खर्च गर्ने जनाएको छ।

चन्द्रमा र मंगल ग्रहसम्मको सपना

स्पेसएक्सको दीर्घकालीन लक्ष्य मानव जीवनलाई बहुग्रहीय बनाउनु रहेको कम्पनीले जनाएको छ। कम्पनीको भनाइ अनुसार मानव र सामानको नियमित रूपमा चन्द्रमा तथा मंगल ग्रहसम्म आवतजावत हुने ‘चन्द्र अर्थतन्त्र’निर्माण गर्नु यसको प्रमुख उद्देश्य हो। तर कम्पनी आफैंले यस्तो योजना सफल हुने कुनै ग्यारेन्टी नरहेको स्वीकार गरेको छ। आफ्ना धेरै परियोजनाहरू जटिल प्रविधि, अपरीक्षित अवधारणा तथा अझै अस्तित्वमै नरहेका प्रविधिमा आधारित रहेको कम्पनीले जनाएको छ।

लगानीकर्ताहरू उत्साहित

कम्पनीको भविष्य अनिश्चित भए पनि लगानीकर्ताहरू भने निकै उत्साहित देखिएका छन्। धेरैले मस्कको दीर्घकालीन अन्तरिक्ष तथा प्रविधि सम्बन्धी दृष्टिकोणमाथि भरोसा राखेर लगानी गरेका छन्। यद्यपि केही विश्लेषकहरूले अहिलेको शेयर मूल्य वास्तविक वित्तीय आधारभन्दा बढी उत्साह, प्रचार र भविष्यका सम्भावनामा आधारित रहेको चेतावनी दिएका छन्।

७५ अर्ब डलरको विशाल आईपीओलाई लगानीकर्ताले उत्साहजनक प्रतिक्रिया दिएका छन्। खुद्रा (रिटेल) लगानीकर्तातर्फ मात्रै करिब ७० अर्ब डलर बराबरको आवेदन परेको बताइइन्छ।

एकै दिनमा २७४ अर्ब डलरले बढ्यो सम्पत्ति

स्पेसएक्सको लिस्टिङअघि मात्रै मस्कको सम्पत्तिमा २७४ अर्ब डलरको वृद्धि भएको बताइएको छ। यो रकम भारतका दुई अर्बपति गौतम अडानी र मुकेश अम्बानीको संयुक्त सम्पत्तिभन्दा पनि बढी हो। यस वर्ष मात्रै मस्कको सम्पत्तिमा ३५१ अर्ब डलरले वृद्धि भएको बताइन्छ। सम्पत्तिको हिसाबले उनी अन्य अर्बपतिभन्दा निकै अगाडि छन्।

नजिकका प्रतिस्पर्धी पनि धेरै पछाडि रहेका छन्। धनाढ्यहरूको सूचीमा दोस्रो स्थानमा रहेका लरी पेजको सम्पत्ति करिब ३०४ अर्ब डलर रहेको बताइएको छ, जुन मस्कको सम्पत्तिको एक तिहाइभन्दा पनि कम हो।

कसरी कमाउँछन् मस्क?

दक्षिण अफ्रिकाको प्रिटोरियामा जन्मिएका ५४ वर्षीय मस्क पेशाले इन्जिनियर हुन्। उनले युनिभर्सीटी अफ पेन्सिलभेनियाबाट स्नातक गरेपछि प्रविधि क्षेत्रमा आफ्नो यात्रा अघि बढाएका थिए।

सन् २००८ मा उनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बने। टेस्ला र स्पेसएक्सबाहेक उनले द बोरिङ कम्पनी तथा नीउरोलिंक सहित अन्य कम्पनीहरू पनि स्थापना गरेका छन्। मस्कको अधिकांश आम्दानी टेस्ला र स्पेसएक्समा रहेको उनको स्वामित्व हिस्सेदारीबाट आउने गर्छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…