- अमेरिका र इरानबीचको शान्ति सम्झौताले एसिया-प्रशान्त क्षेत्रका प्रमुख शेयर सूचकांकहरूमा उल्लेखनीय वृद्धि ल्याएको छ।
- सम्झौतापछि अमेरिकी शेयर बजारका फ्युचर्स सूचकांकहरूमा हरियाली देखिएको र एस एण्ड पी फ्युचर्स १ प्रतिशतले बढेको छ।
- विश्व बजारमा कच्चा तेलको मूल्य ४ प्रतिशतभन्दा बढीले घटेर प्रति ब्यारेल ८१.१५ अमेरिकी डलरमा झरेको छ।
अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमतिपछि विश्वका शेयर बजारमा उत्साह छाएको छ। शान्ति सम्झौताको घोषणासँगै एसिया-प्रशान्त क्षेत्रका प्रमुख शेयर सूचकांकहरूमा उल्लेखनीय वृद्धि देखिएको छ। त्यस्तै सम्झौताको खबरपछि कच्चा तेलको मूल्यमा गिरावट आएको छ।
जापानको प्रमुख शेयर सूचकांक निकेइ को प्रारम्भिक कारोबारमा ५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। त्यस्तै, दक्षिण कोरियाको कोस्पी ५.७ प्रतिशतले बढेको छ। साथै ताइवानको टाइएक्स २.७ प्रतिशतले माथि उक्लिंदा अष्ट्रेलियाको सेयर बजार करिब १.५ प्रतिशतले मजबुत बनेको छ।
अमेरिकी शेयर बजारका फ्युचर्स सूचकांकहरूमा पनि हरियाली छाएको छ। एस एण्डपीसँग सम्बन्धित फ्युचर्स करिब १ प्रतिशतले बढेको छ भने प्रविधि कम्पनीहरूको प्रदर्शन मापन गर्ने नासक कम्पोसाइटका फ्युचर्स १.६ प्रतिशतसम्म उकालो लागेका छन्।
करिब १०७ दिन लामो द्वन्द्वपछि अमेरिका र इरानले युद्ध अन्त्यका लागि शान्ति सम्झौतामा सहमति जनाएको समाचार सार्वजनिक भएपछि लगानीकर्ताहरूमा आशा बढेको हो। यसको प्रत्यक्ष प्रभाव अन्तर्राष्ट्रिय तेल बजारमा पनि देखिएको छ।
विश्व बजारमा कच्चा तेलको मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ। सोमबारको एसियाली कारोबारका क्रममा कच्चा तेलको भाउ ४.३९ प्रतिशतले घटेर प्रतिव्यारेल ८१.१५ अमेरिकी डलरमा झरेको छ।
विश्लेषकहरूका अनुसार मध्यपूर्वमा तनाव कम हुने अपेक्षाले ऊर्जा आपूर्तिमा रहेको जोखिम घटाएको छ। त्यसैले तेलको मूल्य ओरालो लागेको छ भने लगानीकर्ताहरू पुनः शेयर बजारतर्फ आकर्षित भएका छन्।
भर्खरै
लोकप्रिय
