- कीर्तिपुरको होल्डिङ सेन्टरमा विस्थापित सुकुम्वासीहरूले खानाको अभाव झेलिरहेका छन्, जसका कारण विद्यार्थीहरू विद्यालय जान सक्दैनन्।
- सुत्केरी महिलाहरू समेत छन्, जो विभिन्न समस्याहरू भोगिरहेका छन्, तर समयमा औषधि र राम्रो खाना पाउँदैनन्।
- व्यवस्थापनका लागि स्थानीय तहसँगै संघीय सरकारको गैरजिम्मेवारीले व्यवस्थापन गर्न चुनौतीपूर्ण रहेको भन्दै अधिकारीहरूले गुनासो गरेका छन्।
सिंहदरबारदेखि विस्थापित सुकुम्वासीलाई राखिएको कीर्तिपुरस्थित राधा स्वामी सत्संगको होल्डिङ सेन्टर करिब पाँच किमीको दुरीमा छ। तर सिंहदरबारमा बसेर जिस्कने समय पाइरहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई होल्डिङ सेन्टरको अत्यास लाग्दो अवस्थाबारे कुनै मतलब छैन।
०००
काठमाडौँ– सेतो सर्टमा निलो पाइन्ट। घाँटीमा निलै टाई भिरेका ११-१२ वर्षका बालक। पहिरनले भन्छ– उनी सरकारी विद्यालयमा पढ्ने विद्यार्थी हुन्।
तर सोमबार बिहान करिब ११:३० बजे उनी विद्यालयमा होइन। कीर्तिपुरस्थित राधा स्वामी सत्संगको भवन बाहिर रुँदै थिए। दुवै हातले दुवै आँखा छोप्दै पनि थिए। सायद उनलाई आँसु कसैले नदेखोस लागेको थियो कि!
हातले छोपे पनि उनको आँसु रोक्न सकिरहेको थिएन।
के भयो?
भोक लाग्यो।
खान खाएन?
खाना छैन।
हो। उनै विद्यालय पोशाकमा रहेका बालकले भनेको जस्तै राधा स्वामी सत्संगमा राखिएका सुकुम्वासीले सोमबार बिहानको खाना खान पाएनन्। खाना खान नपाएपछि कुँडिएको मनलाई थाम्न नसकेर ती बालकले पीडा आँखाबाट खसालेका थिए।
बल्खुस्थित जनविकास माविमा विद्यार्थी उनले खाना खान नपाएका कारण विद्यालय जान नपाएको बताए।
उनीजस्तै सोमबार होल्डिङ सेन्टरमै रहेका राजन राई र श्रीस तामाङ पनि विद्यालय पोशाकमै थिए। उनीहरूको पनि आज विद्यालय छुट्यो। कारण बिहानको खाना खान पाएनन्। दुवै जना क्रमश: कक्षा ५ र ६ मा जनविकासमै पढ्छन्।
०००
होल्डिङ सेन्टरमा रहेकी युनिसा (नाम परिवर्तन) सुत्केरी हुन्। उनी दिनको १२ बजेसम्म भोक्कै थिइन्। तर खाना के खाने कुनै टुंगो थिएन। ‘भोक लागेको छ। खाने कुरा केही आएको छैन’, उनले भोको मनबाट यस्तै भनिन्।
एक संस्थाले करिब बिहान ११:३० बजे सत्संगका सुकुम्वासीलाई खुवाउने भनेर चिउरा र दालमोठ लिएको थियो। त्यही पनि केहीले सरकारले लिएको खाने र संस्थाले लिएको नखाने भनेपछि त्यो पनि युनिसाले खान पाएकी थिइनन्।
तर उनलाई चिउरा होइन, तातो भात खान मन थियो। चिउरा हो भन्ने सुनेपछि ‘ए चिउरा पो हो!’ धेरै नबोल्ने उनी यस्तै भन्दैथिइन्। ‘चिउरा त यहीँ छ दिदीले पठाइदिएको’, यस्तै भनेर चिउरा खान मन नभएको उनले जनाउ दिइन्।
मन नभए पनि भोक त छ फेरि। एकछिनपछि सुकुम्वासीलाई चिउरा, दालमोठ साथमा दही पनि बाँडियो। उनले पनि त्यही पाइन्।
हाम्रो प्रश्न थियो– अब तातो भात नखाने। यही खाएर हुन्छ?
उनी धेरै बोलिनन्। ‘उम ठिकै छ। साँझ त आइहाल्छ नि खाना’, यत्ति भनिन्।
होल्डिङ सेन्टरमा यो पहिलोपटक खानाको समस्या होइन। यसअघि पनि खानाको समस्या भइरहेको थियो। उनी सुत्केरी हुन्। तर सत्संगमा मासु खान पाइँदैन।
जेठ १० गतेदेखि दिउँसोको खाजासमेत युनिसाले खान पाएकी छैनन्। सत्संगले खाना खुवाउन छाडेपछि जेठ १० गतेदेखि काठमाडौँ महानगरले एक संस्थालाई ठेक्का लगाएर खाना खुवाउन जिम्मा दिएको थियो। उक्त संस्थाले दुई छाक बिहान र साँझमात्र खाना खुवाउने गरे पनि खाजा खुवाउने गरेन।
दिउँसोको भोक मेटाउन युनिसालाई दिदीहरूले ड्राइ फूड (चिउरा, दालमोठ आदि) पठाइदिएका छन्। उनले त्यही खाएर बिताएको बताइन्।
सत्संगमा उनले यतिमात्र होइन, थुप्रै समस्या भोगेकी छन्।
उनी भूइँमा म्याटमाथि डसना बिच्छाएर सुत्ने गरिकी छन्। सिमेन्टको भूँइमा चिसो पस्ने डर हुन्छ। धन्न आजसम्म उनको बच्चालाई केही भएको छैन। ‘भूँइमा सुत्ने हुँदा ओसेप (चिसो) पस्छ। बेलाबेला ओछ्यान सुकाउनुपर्छ। चिसोका कारण अन्य बच्चाहरू बिरामी परिसकेका छन्’, उनले भनिन् ‘धन्न मेरो बच्चालाई आजसम्म केही भएको छैन।’
बिरामी भएमा सरकारले कुनै औषधि उपचार गर्ने गरेको छैन। जाँच गर्ने नाममा आएर सिटामोललगायतका केही औषधि नि:शुल्क दिने गरेको भए पनि अन्य औषधि किन्नका लागि बाहिर जान भन्ने गरिएको छ।
तर पैसा नहुनेले कसरी औषधि किन्ने? उनी प्रश्न गर्छिन्।
०००
प्रमिला राईकी छोरी कलेजोको बिरामी हुन्। प्रमिला पनि प्रेसरको औषधि खान्छिन्। खुट्टाको अप्रेसन गरेको छ। हिँड्नसमेत उनलाई कठिन हुन्छ।
छोरीलाई तीन महिना वीर अस्पतालमा उपचारपछि अहिले होल्डिङ सेन्टरमा राखिएको छ। महिनामा कम्तिमा १० हजार रुपैयाँ छोरीको उपचारमा खर्च हुन्छ। केही समय औषधि सेवनले कलेजो पाउन सक्ने नपालाए अप्रेसन गर्नुपर्ने चिकित्सकले भनेका छन्।
तर प्रमिलासँग औषधि गर्ने पैसा अभाव छ। ‘महिना १० हजार खर्च हुन्छ। त्यो पैसा कहाँबाट ल्याउने मैले। यहाँ सिटामोलबाहेक केही दिँदैन’, उनले भनिन्।
चेकअप गर्न होल्डिङ सेन्टरमा आएको जस्तो गर्ने। फोटो खिचाउने तर कुनै उपचार नगर्ने गरेको उनको गुनासो छ। छोरीको उपचारमा दुई चार रुपैयाँ हुन्छ कि भनेर करिब १५ दिनदेखि उनले सत्संगको बाहिर सडक छेउमा मकै पोल्ने काम गरिरहेकी छन्।
छोरीको उपचार हुँदैन कि भन्ने पीरले उनलाई सताउने गरेको छ। ‘यो सरकारले त औषधि पनि दिएको छैन। मेरो त अब प्राण गइहाल्ला तर छोरीको उपचार अभावमा केही पो हुने कि भन्ने डर लाग्छ’, आँखाभरी आँसु बनाउँदै उनले भनिन्।
सरकारले उठिबास बनाएर राम्रोसँग खानासमेत नखुवाएको उनले गुनासो गरिन्। सोमबार बिहान ११ बजे भेटिँदा उनले खाना खान नपाएको र पानी सकिएको तर पानी पनि नपाएको गुनासो गरिन्।
कीर्तिपुरस्थित होल्डिङ सेन्टर सिंहदरबारबाट दूरी नाप्ने हो भने करिब पाँच किलोमिटर टाढाको दूरीमा पर्छ।
तर गरिब सुकुम्वासी भोकै भएको सिंहदरबारलाई थाहा पनि छैन। सिंहदरबारको नेतृत्व गरेका प्रधानमन्त्री वालेन्द्र शाहलाई सार्वजनिक बिदाका दिनमा जिस्कने समय हुन्छ। चिया, चौतारीतिर समय बिताउने समय हुन्छ। चिया, चौतारीबाटै बिदाका दिन जिस्किएका पोष्टहरू सामाजिक सञ्जालबाट आउँछन्।
आइतबार उनी त्यस्तै मुडबाट देश बनाउने तीन भन्दै गृहमन्त्री सुधन गुरुङ र भौतिकपूर्वाधार मन्त्री सुनिल लम्सालसँगको तस्बिर सार्वजनिक गरेर नागरिकसँग जिस्किए। यस्ता तस्बिर सार्वजनिक दिनमा आउनु भनेको उनी जिस्कनु हो। आइतबार नै उनले आफू सार्वजनिक दिनमा जिस्कने गरेको भन्दै अर्को अभिव्यक्ति सामाजिक सञ्जालबाटै दिए।
उनी देशबासीसँग जिस्किरहँदा सुकुम्वासीलाई राखिएको होल्डिङ सेन्टरले भने प्रधानमन्त्रीलाई जिस्काइरहेको छ, त्यो पनि अत्यास लाग्दो अवस्थासहित।
सोमबार बिहान सुकुम्वासीले खाना खान पाएनन्। दुई छाकमात्र खाना खान थालेको झण्डै महिना दिन पुग्न थाल्यो। जेठ १० गते राधा स्वामी सत्संगले खाना खुवाउन थालेपछि सरकारी खाजा कस्तो हुन्छ बिहान न दिउँसो कुनै समय सुकुम्वासीले देख्न पाएका छैनन्।
होल्डिङ सेन्टरमा बृद्धबृद्धा छन्। बिरामी उस्तै छन्। उनीहरूको उच्च हेरचाह हुनुपर्ने अवस्थामा प्रधानमन्त्री सुकुम्वासी बस्तीमा डोजर चलाइसकेपछि अहिले देशवासीसँग जिस्किएर बसिरहेका छन्।
सत्संगको व्यवस्थापनको काठमाडौँ महानगरको हो। वैशाख १६ गते होल्डिङ सेन्टरको अनुगमनका क्रममा काठमाडौँ महानगरकी कार्यवहाक मेयर सुनिता डंगोलले व्यवस्थापन राम्रोसँग गर्न भनेकी थिइन्।
तर उनको निर्देशनको कार्यान्वयन हुन सकेको छैन। जेठ २१ गते सत्संगमा राखिएका सुकुम्वासी युवा ३६ वर्षीय भेषराज दर्जीको उपचारकाक्रममा मृत्यु भएको थियो। उनले मानव अधिकार आयोगका पदाधिकारीसँग आफूले राम्रोसँग उपचार नपाएको भन्दै गुनासो गरेका थिए।
त्यसको केही समयमा उनको मृत्यु भयो। अहिले पनि सुकुम्वासी बस्तीका कतिपयले दर्जीले राम्रो उपचार पाएको भए अझै बच्ने आशा व्यक्त गर्छन्। तर समयमै उपचार नपाउँदा उनले मृत्युवरण गर्नुपरेको कतिपय सुकुम्वासीको दाबी छ।
सरकार हात उठाउँदै
राधा स्वामी सत्संगमा राखिएका थापाथली र गैरीगाउँका एक सय ५२ जनाको खाने, बस्ने सबै जिम्मेवारी काठमाडौँ महानगरलाई दिइएको छ। बस्तीमा डोजर संघीय सरकार अर्थात् वालेन्द्र शाहको निर्देशनमा हानिएको भए पनि सुकुम्वासीको व्यवस्थापन भने स्थानीय तहलाई दिइएको छ।
यद्यपि सुकुम्वासीको व्यवस्थापन कसरी भइरहेको छ भन्ने जानकारी संघीय सरकारका कुनै मन्त्रालयसँग रहेको छैन। देशसञ्चारले सुकुम्वासीको व्यवस्थापनको जिम्मेवारी लिइरहेको सहरी विकास मन्त्रालयलाई व्यवस्थापनबारे जानकारी माग्दा पूर्ण जानकारी दिन सकिरहेको छैन।
मन्त्रालयका अधिकारहरूले जहाँ जसरी बसिरहेका छन् त्यहाँ त्यहीका स्थानीय तहले व्यवस्थापन गर्ने गरेको अपूर्ण जानकारी दिए।
तर स्थानीय तहहरूले पनि कति दिन कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा अन्योल रहेका छन्। सुकुम्वासीमा डोजर चलाउँदै गर्दा वालेनको सचिवालयले १५ दिनमा व्यवस्थापन हुने हल्ला फैलाएको थियो।
तर दुई महिना हुँदासमेत व्यवस्थापन हुन सकेको छैन। प्रधानमन्त्रीले जेठ १७ गते जति दिन लाग्छ त्यति दिन व्यवस्थापन गर्न लाग्ने गैरजिम्मेवार अभिव्यक्ति संसदबाटै दिएका थिए।
यता स्थानीय तहलाई भने व्यवस्थापनमा चुनौतिपूर्ण भएको छ।
त्यसकै परिणाम हो सोमबार साधा स्वामीमा सुकुम्वासीले खाना खान पाएनन्। बालबालिका, बिरामी जेष्ठ नागरिक रुँदै भोक्कै बस्नुपर्यो। निकै ढिला गरी बिहानको खाना चिउरामा उनीहरूले मन बुझाए।
व्यवस्थापनका विषयमा जानकारी लिनका लागि महानगरकी कार्यवहाक प्रमुख सुनिता डंगोलसँग सम्पर्क गर्न खोज्दा उनले फोन उठाइनन्। प्रवक्ता नवीन मानन्धरले फोननै काटे।
सहायक प्रवक्ता महेश कुमार काफ्लेसँग कुरा गर्दा उनले व्यवस्थापनमा निकै चुनौति भोग्नुपरेको र हात उठाउनुपर्ने अवस्था रहेको बताए।
आजसम्म व्यवस्थापनका लागि पैसा कसरी खर्च गर्नेभन्नेसमेत कुनै टुंगो नलागेको उनले बताए। संघीय तथा प्रदेश सरकारले पैसा नदिएको र आफूसँग पैसा नभएको उनले जानकारी दिए।
आजसम्म महानगरमा क्यान्टिन सञ्चालन गर्दै आएका व्यवसायीलाई हात जोडेर खाना खुवाएको भए पनि आज बिहान व्यवस्थापन गर्न नसक्दा कमजोरी हुन पुगेको उनले स्वीकार गरे। उनले क्यान्टिनले पैसा नपाएको भन्दै कति दिन खुवाउने भन्दै आजको दिन नखुवाएको जानकारी दिए।
‘हामीसँग पैसा छैन। आजको खाना खुवाउन केही कमजोरी भयो। यस विषयमा संघीय सरकारलाई पनि भनिएको छ। अब पैसा नभएपछि कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती भएको छ’, सहायक प्रवक्ता काफ्लेले भने।
सुकुम्वासी व्यवस्थापनका विषयमा गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग पनि सम्पर्क गर्न खोज्दा उनीहरू सम्पकर्कमा आउन सकेनन्। गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्ले, सूचना अधिकारी रमा आचार्य र प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्याल र सहायक प्रवक्ता सिर्जना शर्मा शर्मासँग सम्पर्क गर्दा उनीहरूले टेलिफोन उठाएनन्।
भर्खरै
लोकप्रिय
