नर्वेकी युवराज्ञीका छोरा मारियुस बलात्कारका दुई अभियोगमा दोषी ठहर

नर्वेकी युवराज्ञीका छोरा मारियुस बलात्कारका दुई अभियोगमा दोषी ठहर
+
-

नर्वेकी युवराज्ञी मेट मारिटका २९ वर्षीय छोरा मारियुस बोर्ग होइबी बलात्कारका दुई अभियोगमा दोषी ठहर भएका छन्। ओस्लो जिल्ला अदालतले उनलाई चार वर्षको जेल सजाय सुनाएको हो।

अदालतले उनीमाथि लगाइएका अन्य दुई बलात्कार अभियोगबाट भने सफाइ दिएको छ। तर बलात्कारबाहेक उनीमाथि लगाइएका अन्य धेरै अपराधमा पनि दोषी ठहर गरेको छ।

स्वास्थ्यसम्बन्धी कारण देखाउँदै होइबी फैसला सुनाउने क्रममा अदालतमा उपस्थित भएनन्। उनले भिडियोमार्फत सुनुवाइमा सहभागिता जनाएका थिए।

अभियोजन पक्षले उनलाई सात वर्ष सात महिनाको जेल सजाय हुनुपर्ने माग गरेको थियो भने बचाउ पक्षले १८ महिनाको सजाय पर्याप्त हुने तर्क गरेको थियो। उनका वकिलहरूले फैसलाविरुद्ध पुनरावेदन गर्ने तयारी रहेको बताएका छन्।

होइबी स्वयं राजपरिवारका औपचारिक सदस्य नभए पनि यो मुद्दाले नर्वेको राजपरिवारमाथि गम्भीर प्रभाव पारेको छ। उनी चार वर्षका हुँदा उनकी आमा मेट मारिटले युवराज हाकोनसँग विवाह गरेकी थिइन् र त्यसयता होइबी राजपरिवारकै वातावरणमा हुर्किएका थिए। राजदरबारले सोमबारको फैसलाबारे कुनै टिप्पणी नगर्ने जनाएको छ।

युवराज्ञी मेट मारिट फोक्सोसम्बन्धी गम्भीर रोग पल्मोनरी फाइब्रोसिसबाट पीडित छिन् र हालै उनलाई फोक्सो प्रत्यारोपणको प्रतीक्षा सूचीमा राखिएको छ। आमाको स्वास्थ्य अवस्था कमजोर बन्दै गएकाले उनीसँग समय बिताउन पाउनुपर्ने भन्दै होइबीका वकिलहरूले पटक–पटक उनको रिहाइको माग गरेका थिए।

फैसलापछि पनि बचाउ पक्षका वकिल पेटार सेकुलिचले अदालतसँग पुनः रिहाइको आग्रह गरेका छन्। यद्यपि, तल्लो अदालतले गत साता दिएको रिहाइ आदेश पुनरावेदन अदालतले उल्ट्याएको थियो।

अदालतले होइबीलाई सन् २०१८ मा स्काउगुमस्थित युवराजको निवास क्षेत्रमा एक महिलामाथि र सन् २०२४ मा ओस्लोमा अर्की महिलामाथि बलात्कार गरेको ठहर गरेको छ। दुवै घटनामा पीडित महिलाहरू निदाएको वा प्रतिरोध गर्न नसक्ने अवस्थामा रहेको अदालतको निष्कर्ष छ।

होइबीलाई उनकी पूर्वप्रेमिका तथा नर्वेली सामाजिक सञ्जाल प्रभावकर्ता नोरा हाउकलान्डमाथि दुर्व्यवहार गरेको तथा अर्की एक महिलालाई गम्भीर शारीरिक चोट पुर्‍याएको अभियोगमा पनि दोषी ठहर गरिएको छ। सन् २०२४ अगस्टमा ओस्लोको फ्रोग्नर क्षेत्रमा रहेकी ती महिलाको अपार्टमेन्टबाट उनलाई पक्राउ गरिएको थियो।

यद्यपि, सन् २०२४ मा ओस्लोको एक होटलमा भेटिएकी महिला र सन् २०२३ मा लोफोटेन टापुमा भेटिएकी अर्की महिलासम्बन्धी दुई बलात्कार अभियोगबाट भने उनले सफाइ पाएका छन्।

यो मुद्दामा कुल ६ जना महिलाको नाम जोडिएको थियो। फैसला सुनाइँदा अदालतमा उपस्थित एक महिलालाई होइबी दोषी ठहर भएपछि रुँदै गरेको देखिएको थियो।

अभियोजन पक्षका अनुसार सन् २०२४ मार्चमा ओस्लोमा आयोजित एक पार्टीपछि ती महिला निदाएकी वा असक्षम अवस्थामा हुँदा बलात्कार गरिएको थियो। अदालतले पनि पीडित महिला प्रतिरोध गर्न नसक्ने अवस्थामा रहेको निष्कर्ष निकालेको छ।

अदालतले होइबीलाई चार महिलालाई कुल ६ लाख ४० हजार नर्वेली क्रोनर (झन्डै ५० हजार पाउन्ड) क्षतिपूर्ति तिर्न आदेश दिएको छ। त्यसमा नोरा हाउकलान्ड पनि समावेश छिन्।

अब होइबीका वकिलहरूले चार वर्षको जेल सजायविरुद्ध पुनरावेदन गर्ने वा नगर्ने निर्णय गर्नुपर्ने छ। बचाउ पक्षले यसअघि स्वीकार गरिएका केही कम गम्भीर अपराध, जस्तै ३.५ किलोग्राम गाँजा ओसारपसार र ट्राफिक नियम उल्लंघनका आधारमा कम सजाय हुनुपर्ने तर्क गरेको थियो।

यसैबीच राजपरिवारले अदालतको निर्णयबारे टिप्पणी गर्न अस्वीकार गरेको छ। राजदरबारले युवराज्ञी मेट मारिटको स्वास्थ्य अवस्थाबारे पनि फोक्सो प्रत्यारोपण नभएसम्म थप जानकारी नदिने जनाएको छ।

राजपरिवारसम्बन्धी विश्लेषकहरूका अनुसार यो घटनाले नर्वेली राजसंस्थाको छविमा गम्भीर असर पारेको छ। प्रतिष्ठा व्यवस्थापन विज्ञ पेगी सिम्चिच ब्रोनका अनुसार यो घटना राजपरिवारका लागि पारिवारिक मात्र होइन, संस्थागत संकट पनि हो।

उनले भनिन्, ‘यो कुनै पनि परिवारका लागि दुःखद् घटना हो। अब उनीहरूले अदालतको निर्णय स्वीकार गर्दै सजाय भोग्न दिनुपर्छ र परिवार तथा राजसंस्थाको प्रतिष्ठामा परेको क्षति कम गर्ने प्रयास गर्नुपर्छ।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…