- मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजित पुँजीगत बजेटको मात्र १३.७६ प्रतिशत खर्च गरेको छ।
- खेलकुद तथा समाज कल्याण मन्त्रालयले सबैभन्दा कम ०.५८ प्रतिशत र अर्थमन्त्रालयले २४.५९ प्रतिशत बजेट खर्च गरेका छन्।
- चालु आवमा कुल बजेटको ५९.१५ प्रतिशत खर्च हुने अनुमान गरिएको छ।
जनकपुरधाम – मधेस प्रदेश सरकारले विकास बजेट अर्थात पुँजीगत खर्च गर्न सकेको छैन्। आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकी रहेको समय प्रदेश सरकारले पुँजीगत तर्फ विनियोजित बजेटको १३.७६ प्रतिशत बजेट मात्र खर्च गर्न सकेको हो। पुँजीगत तर्फ ३१ अर्ब ३३ करोड ९६ लाख २९ हजार १८० रुपैयाँ विनियोजन गरिएकोमा ४ अर्ब ३१ करोड ३४ लाख ७७४ रुपैयाँ मात्र खर्च भएको हो।
मन्त्रालयगत अनुसार खेलकुद तथा समाज कल्याण मन्त्रालयले सबैभन्दा कम बजेट खर्च गरेको छ भने अर्थमन्त्रालयले सबैभन्दा बढी खर्च गरेको हो। खेलकुद मन्त्रालयले कुल विनियोजित बजेटको ०.५८ प्रतिशत बजेट खर्च गरेको हो भने अर्थमन्त्रालयले २४.५९ प्रतिशत खर्च गरेको हो।
चालु आर्थिक वर्ष २०८२।८३ मा खेलकुद तथा समाजकल्याण मन्त्रालयका लागि पुँजीगत तर्फ १ अर्ब ३२ करोड ४४ लाख १९ हजार विनियोजन गरिएकोमा ७६ लाख ९७ हजार ७५८ रुपैयाँ खर्च गरेको हो। अर्थमन्त्रालयका लागि पुँजीगत तर्फ ३४ करोड २९ लाख रुपैयाँ विनियोजन गरिएकोमा ८४ लाख ३१ हजार ८९६ रुपैयाँ खर्च भएको हो।
प्रदेश लेखा नियन्त्रक कार्यालय, मधेस प्रदेशका अनुसार उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले चालु आवको ११ महिनामा २.४२ प्रतिशत मात्र खर्च गर्न सकेको हो।
यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयले १९.६२ प्रतिशत, वन तथा वातावरण मन्त्रालयले १९.२८ प्रतिशत, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १४.३४ प्रतिशत, गृह, सञ्चार तथा कानुन मन्त्रालयले १३.२३ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ११.६४ प्रतिशत, श्रम तथा यातायात मन्त्रालयले ९.५४ प्रतिशत, उर्जा, सिँचाई तथा खानेपानी मन्त्रालयले ९.१५ प्रतिशत, शिक्षा तथा संस्कृति मन्त्रालयले ५.२२ प्रतिशत र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ४.९४ प्रतिशत पुँजीगत बजेट खर्च गरेको हो।
हालसम्मको खर्च २१.२४ प्रतिशत, ५९.१५ प्रतिशत खर्च गर्ने अनुमान
मधेस प्रदेश सरकारले हालसम्म चालु र पुँजीगत तर्फ गरी कुल २१.२४ प्रतिशत बजेट खर्च गरेको हो। प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी निरेन्द्रलाल कर्णका अनुसार चालु आव २०८२।८३ का लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रुपैयाँ विनियोजन गरिएकोमा जेठ मसान्तसम्ममा ९ अर्ब ९८ करोड ५४ हजार १२६ रुपैयाँ खर्च भएको छ भने ३७ अर्ब ३२ लाख ९६ हजार ८७४ रुपैयाँ खर्च गर्न बाँकी रहेको छ।
चालु तर्फको अन्तिम बजेट १५ अर्ब ६४ करोड ३७ लाख २१ हजार ८२० रहेकोमा जेठ मसान्तसम्ममा ५ अर्ब ६६ करोड ६६ लाख ५३ हजार ३५२ रुपैयाँ खर्च भएको हो। यस्तै पुँजीगत तर्फ ३१ अर्ब ३३ करोड ९६ लाख २९ हजार १८० बजेट रहेकोमा ४ अर्ब ३१ करोड ३४ लाख ७७४ रुपैयाँ खर्च भएको हो।
मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईका अनुसार चालु आर्थिक वर्षमा विनियोजित बजेटमध्ये ५९.१५ प्रतिशत बजेट मात्र खर्च हुने अनुमान रहेको छ। मन्त्री भट्टराईका अनुसार चालु आवमा विनियोजित बजेटमध्ये २७ अर्ब ७९ करोड खर्च हुने अनुमान रहेको छ। उनका अनुसार चालुतर्फ ८ अर्ब ६४ करोड र पुँजीगत तर्फ १९ अर्ब १४ करोड रकम खर्च हुने अनुमान रहेको छ।
भर्खरै
लोकप्रिय
