- अमेरिका र इरानबीचको फ्रेमवर्क एग्रिमेन्टले ३०० अर्ब डलरको निजी लगानी कोष स्थापनाको योजना समेटेको छ।
- ‘रिकन्स्ट्रक्सन एन्ड डेभलपमेन्ट फन्ड’ कोषले इरानमा युद्धपछिको ठूलो निजी लगानी भित्र्याउने लक्ष्य राखेको छ।
- कोषमा सरकारी रकम समावेश नहुने र क्षेत्रीय मुलुकहरूले पुनर्निर्माणमा वित्तीय सहयोग गर्ने अपेक्षा गरिएको छ।
अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने उद्देश्यले भएको फ्रेमवर्क एग्रिमेन्टअन्तर्गत ३०० अर्ब अमेरिकी डलरको निजी लगानी कोष स्थापना गर्ने योजना समावेश गरिएको छ।
रोयटर्सका अनुसार ‘रिकन्स्ट्रक्सन एन्ड डेभलपमेन्ट फन्ड’ नाम दिइने उक्त कोषले युद्धपछि इरानमा ठूलो मात्रामा निजी लगानी भित्र्याउने लक्ष्य राखेको छ। यद्यपि अन्तिम शान्ति सम्झौतापछिमात्र यो कोष औपचारिक रूपमा स्थापना हुनेछ।
कोषमा कुनै पनि सरकारी रकम वा अनुदान समावेश नहुने तथा सबै पुँजी निजी क्षेत्रबाट जुटाइने पनि समाचारमा उल्लेख छ।
अमेरिका, खाडी मुलुक, एसिया, दक्षिण अमेरिका र अफ्रिकाका विभिन्न कम्पनीहरूले ऊर्जा, यातायात, उत्पादन तथा लजिस्टिक्स क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाइसकेका छन्।
रोयटर्सका अनुसार अमेरिका र इरानले आइतबार युद्ध अन्त्यका लागि प्रारम्भिक रूपरेखामा सहमति गरेका थिए। उक्त सहमतिमा अमेरिकी नाकाबन्दी हटाउने, तेल तथा ग्यास आपूर्तिको प्रमुख मार्ग मानिने हर्मुज पुनः सञ्चालन गर्ने लगायतका विषय समेटिएका छन्।
तेहरानले सुरुमा युद्धबाट भएको क्षतिको क्षतिपूर्तिस्वरूप अमेरिकासँग ४०० अर्ब डलर माग गरेको थियो । तर, वासिङ्टनले प्रत्यक्ष क्षतिपूर्ति दिन अस्वीकार गरेपछि निजी लगानीमार्फत पुनर्निर्माणलाई सहयोग गर्ने अवधारणा अघि सारिएको हो।
यो संयन्त्रअन्तर्गत क्षेत्रीय मुलुकहरूले ऋण सुनिश्चित गर्ने, कर्जा सुविधा उपलब्ध गराउने वा युद्धबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा प्रत्यक्ष वित्तीय सहयोग गर्ने अपेक्षा गरिएको छ । यसमा मोबारेकेह स्टिल कम्प्लेक्स, रिफाइनरी, विमानस्थल तथा अन्य पूर्वाधारको पुनर्निर्माण समावेश हुने पनि बताइएको छ।
भर्खरै
लोकप्रिय
