- स्थानीय मेयरका अनुसार इजरायली बसोबास गर्नेहरूले वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी गरी शत्रुतापूर्ण नारा लेखेका छन्।
- एएफपीका पत्रकारले घटनास्थलमा आगलागी र तोडफोडका संकेत देखेका र मस्जिद भित्तामा हिब्रुमा ‘बदला’ लेखिएको भेटेका छन्।
- मेयर अब्दुल्लाहका अनुसार आगलागी बुधबार बिहान स्थानीय युवाले प्यालेस्टिनी नागरिक सुरक्षा टोलीसँग मिलेर नियन्त्रणमा लिएका थिए।
इजरायली बसोबास गर्नेहरूले वेस्ट बैङ्कस्थित एक गाउँको मस्जिदमा आगजनी गरेको आरोप स्थानीय मेयरले बताए। घटनास्थलमा पुगेका एएफपीका पत्रकारले पनि आगजनी तथा तोडफोडका संकेत देखेका छन्।
सन् २०२३ मा गाजामा युद्ध सुरु भएयता कब्जामा रहेको वेस्ट बैङ्कमा इजरायली बसोबास गर्नेप्यालेस्टिनी समुदायमाथि हुने आक्रमण बढिरहेका बेला उक्त घटना भएको हो।
रामल्लाहको उत्तरमा रहेको जिलजिलिया गाउँ परिषद्का प्रमुख ओसामा अब्दुल्लाहका अनुसार बसोबास गर्नेले मस्जिदको स्नान कक्षमा आगो लगाएका, मस्जिदमा क्षति पु¥याएका तथा बाहिरी भित्तामा शत्रुतापूर्ण नारा लेखेका छन्।
घटनाबारे प्रतिक्रिया माग्दा इजरायली सेनाले तत्काल कुनै टिप्पणी गरेको छैन। बुधबार मस्जिदको निरीक्षण गरेका एएफपीका पत्रकारले छत, भित्ता र भुइँ आगो तथा धुवाँका कारण कालो बनेको देखिएको बताएका छन्। मस्जिदका भित्तामा हिब्रु भाषामा ‘बदला’ र ‘हिलटप युवाबाट नमस्ते’ लेखिएको भेटिएको उनीहरूले जनाएका छन्।
‘हिलटप युथ’ वेस्ट बैङ्कका इजरायली बसोबास गर्नेको एक समूह हो। उनीहरूमाथि आफूले कब्जा गर्न चाहेका क्षेत्रबाट प्यालेस्टिनीलाई हटाउन हिंसात्मक गतिविधि गर्ने आरोप लाग्दै आएको छ।
मेयर अब्दुल्लाहका अनुसार बुधबार बिहान ०२ बजेदेखि ०३ बजेबीचमा आएका व्यक्तिले मस्जिदको ढोका बन्द पाएपछि तल्लो तलामा रहेको स्नान कक्षमा आगजनी गरेका थिए।
उनले स्थानीय युवा तथा प्यालेस्टिनी नागरिक सुरक्षा टोलीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जानकारी दिए।
इजरायलले सन् १९६७ देखि वेस्ट बैङ्क क्षेत्र आफ्नो नियन्त्रणमा राखेको छ। यस क्षेत्रमा करिब ३० लाख प्यालेस्टिनी बसोबास गर्छन् भने पूर्वीजेरुसेलमबाहेक पाँच लाखभन्दा बढी इजरायली बसोबास गर्नेहरू रहेका छन्।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहू नेतृत्वको दक्षिणपन्थी सरकारले सत्ता सम्हालेपछि अन्तरराष्ट्रिय कानुनअनुसार अवैध मानिएका बस्तीको विस्तार वेस्ट बैङ्कका विभिन्न क्षेत्रमा तीव्र भएको छ।
संयुक्त राष्ट्रसङ्घले हालै सार्वजनिक गरेको प्रतिवेदनमा वेस्ट बैङ्कमा बसोबास गर्नेहरूको हिंसा उच्चस्तरमा पुगेको उल्लेख गर्दै दैनिक औसतमा छ वटा आक्रमणबाट जनधनको क्षति हुने गरेको जनाएको छ।
स्थानीय बासिन्दाले इजरायली बसोबास गर्ने दण्डहीन रूपमा कानुनविपरीत गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन्।
भर्खरै
लोकप्रिय
