झापा- भारतको सिलिगुडीनजिकै बागडोगरा क्षेत्रमा शनिबार साँझ भएको भीषण कार दुर्घटनामा परी गम्भीर घाइते भएका झापाका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ का २३ वर्षीय अमित चौधरी रहेका छन् । उनी बिर्तामोडका व्यवसायी भरत चौधरीका छोरा हुन् ।
नेपाली नम्बर प्लेटको बाग्मती प्रदेश ०१ ०३२ च १६८० नम्बरको कार दिउँसो पूर्वी नाका काँकरभिट्टाबाट करिब २३ किलोमिटर टाढा रहेको बागडोगरामा दुर्घटनामा परेको थियो ।
तीव्र गतिमा रहेको कार अनियन्त्रित भई सडकमा दुर्घटनाग्रस्त हुँदा झन्डै दुई टुक्रा भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनालगत्तै स्थानीय बासिन्दा र भारतीय प्रहरीको सक्रियतामा कारका चालक अमितको उद्धार गरिएको थियो ।
उनलाई तत्कालै उपचारका लागि बागडोगरास्थित ग्यालेक्सी अस्पताल पुर्याइएको थियो ।
घटनाको जानकारी पाउनासाथ अमितका बुबा भरत चौधरीसहित परिवारका सदस्यहरू अस्पताल पुगेका थिए ।
अत्यधिक चोटका कारण उपचारकै क्रममा उनको निधन भएको अस्पताल स्रोतले पुष्टि गरेको छ ।
भर्खरै
लोकप्रिय
