काठमाडौँ- कञ्चनपुरको भीमदत्त नगरपालिका- १८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि सार्वजनिक कार्यक्रममा हातपात तथा दुर्व्यवहार गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन्।
महेन्द्रनगरस्थित एक होटलमा सञ्चालन भइरहेको कार्यक्रममा पुगेकी कुँवर र वडाध्यक्ष देवकोटाबीच विवाद भएको थियो। उक्त विवादको भिडियो सामाजिक सञ्जालमा भाइरल छ।
घटनापछि वडा प्रहरी कार्यालयको टोलीले कुँवरलाई घटनास्थलबाट नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर राउतकाअनुसार उनलाई हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।
वडाध्यक्ष देवकोटाले कुँवरविरुद्ध अभद्र व्यवहार सम्बन्धी किटानी जाहेरी दिएका छन्। प्रहरीले सोही आधारमा कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।
यता, पत्रकार कुँवरले भने आफ्नो फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै वडाध्यक्ष देवकोटाले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। पक्राउ परेकी कुँवर नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाकी सदस्य हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भर्खरै
लोकप्रिय
