- नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब ७६ कराेड ६४ लाख ८३ हजारकाे बजेट प्रस्तुत गरेको छ।
- संघ र प्रदेशबाट आएकाे बाँडफाँट गर्न पाइने रकम एक अर्ब १६ लाख ३३ हजार रुपैयाँ रहेको छ।
- धार्मिक पर्यटन प्रवर्दन तथा स्थानीय र घरेलु उत्पादन संरक्षण गर्न उपमहानगरपालिकाले विभिन्न कार्यक्रमहरुको शुरुवात गर्ने उल्लेख छ।
नेपालगन्ज- नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब ७६ कराेड ६४ लाख ८३ हजारकाे बजेट प्रस्तुत गरेकाे छ ।
नगर सभाकाे १९ औँ अधिवेशनमा मेयर प्रशान्त विष्टले उक्त बजेट प्रस्तुत गरेका हुन् । उपमेयर खाली रहेकाे नेपालगन्जमा यसपालि नीति तथा कार्यक्रमसँगै बजेटसमेत मेयरले प्रस्तुत गरेका छन् ।
नेपालगन्जमा सशर्त अनुदानमा संघबाट ६८ कराेड ६२ लाख, समपूरकमा ५३ लाख, विशेष अनुदानमा दुई कराेड ६९ लाख, प्रदेशबाट सशर्त अनुदानमा तीन कराेड १४ लाख ५० हजार र समपुरकमा एक कराेड ५० लाख प्राप्त भएकाे छ । याे रकम बाँडफाँट गर्न पाइँदैन ।
संघ र प्रदेशबाट आएकाे र बाँडफाँट गर्न पाइने रकम एक अर्ब १६ लाख ३३ हजार रुपैयाँ रहेकाे छ । नेपालगन्जले सबै वडालाई २१ कराेड दिएकाे छ । गतवर्ष २० कराेड दिएकाे थियाे । विषयगत उपशाखा, शाखा र महाशाखालाई आठ कराेड ७६ लाख ६२ हजार विनियाेजन गरेकाे छ । नेपालगन्जकाे आन्तरिक आय २५ कराेड रहेकाे छ ।
यसैबीच, मेयर विष्टले नीति तथा कार्यक्रममा बागेश्वरी मन्दिर, निर्माणाधिन १०८ फिटकाे हनुमानकाे मूर्तिलगायत ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रलाई समेटेर धार्मिक पर्यटनकाे प्रवर्दन गर्न भारतकाे अयाेध्या नगरसँग भगिनी सम्बन्ध कायम गर्न पहल गर्ने बताएका छन् । उनले धार्मिक तथा सांस्कृतिक महत्त्व बाेकेका क्षेत्रलाई समेटी सद्भाव धार्मिक सर्किटकाे विकास गर्ने उल्लेख गरेका छन् ।
नीति तथा कार्यक्रममा सिँचाई, उन्नत बीउ र मलकाे सहज उपलब्धता सुनिश्चित गरी कृषि उत्पादनकाे बजारीकरणका लागि व्यवस्थित तरकारी तथा फलफूल बिक्री केन्द्र स्थापना गर्ने, स्थानीय र घरेलु उत्पादनकाे संरक्षण र बिस्तार गर्न त्यस्ताे उत्पादन खपत गर्ने व्यवसायीलाई उपमहानगरपालिकाले बस्तु तथा सेवा खरिद गर्दा प्राेत्साहन एवम् प्राथमिकता दिने, सार्वजनिक जग्गाकाे अनाधिकृत अतिक्रमण हटाई सार्वजनिक सम्पतिकाे संरक्षण र व्यवस्थापन गर्न अभियान चलाइने, श्रम बजारकाे माग विश्लेषण, राेजगारीकाे नक्सांकन, परामर्श तथा जब म्याचिङ गरी आन्तरिक राेजगारीलाई प्रवर्दन गर्न स्थानीय राेजगार मेला सञ्चालन गर्ने, उदयपुर स्वास्थ्य चाैकीलाई २५ शैयाकाे प्रसुति गृहमा रुपान्तरण गर्ने, उपमहानगरपालिकालाई शैक्षिक हबका रुपमा विकास गर्न नगर शिक्षा याेजना अद्यावधिक, स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तककाे समयानुकूल परिमार्जन र शैक्षिक सुशासनका लागि विद्यालय अनुगमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउने, उद्यमशील महिलाकाे क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने, भूकम्प प्रतिराेधी तथा इनर्जी इफिसियन्सी भवन निर्माण कार्यलाई प्राेत्साहन गर्ने, सडक हरियाली, वृक्षराेपण र वातावरणीय प्रवर्दन कार्यलाईलागत अनुमानमा समावेश गरी कार्यान्वयन गर्ने, वर्षायाममा नगर क्षेत्रमा हुने डुवान समस्या समाधान गर्न ढल तथा नालाकाे हिउँदमा सरसफाई गर्ने, नेपालगन्जलाई विपद व्यवस्थापन स्राेत परिचालन केन्द्रका रुपमा विकास गर्ने, नगरवासीकाे सुरक्षा संवेदनशीलता ध्यानमा राखी सार्वजनिक स्थल, घनाबस्ती र सीमा क्षेत्रमा सिसिटिभी जडान कार्यलाई आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने उल्लेख गरिएकाे छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बमलगायत जनप्रतिनिधि, कर्मचारीकाे सहभागिता रहेकाे थियाे ।
भर्खरै
लोकप्रिय
