- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी फाउण्डेसनलाई पार्टी नभई विचार र बहसको थलो भएको बताइन्।
- उनले पार्टीभित्र देखिएको अन्तरद्वन्द्वका कारण नेता–कार्यकर्ता फरक धारमा उभिएको उल्लेख गरिन्।
- भण्डारीले फाउण्डेसनको उद्देश्यलाई आत्मसात गर्दै पार्टी अध्यक्ष केपी ओलीको सहयोगको महत्त्व बताए।
मोरङ – पूर्वराष्ट्रपति तथा एमाले नेत्री विद्यादेवी भण्डारीले मदन भण्डारी फाउण्डेसन पार्टी नभई विचार र बहसको थलो भएको बताएकी छन्।
विराटनगरमा बुधबार आयोजित पुरस्कार वितरण समारोह तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले मदन भण्डारी फाउण्डेसन पार्टी नभएको बताउँदै भनिन्, ‘यो पार्टी होइन। यसले चुनाव पनि लड्दैन। तर, यो विचार र बहसको थलो हो।’
उनले जनताको बहुदलीय जनवादलाई अघि बढाउन स्थापित फाउण्डेसनको क्रियाकलापप्रति पार्टीले जसरी अघि बढाउनुपर्ने थियो त्यो हुन नसकेको भन्दै पार्टीभित्र देखिएको अन्तरद्वन्द्वसँगै नेता–कार्यकर्ता पनि फरक धारमा उभिएको उल्लेख गरिन्।

पूर्व राष्ट्रपति भण्डारीले कोशी प्रदेशका मुख्यमन्त्री तथा पार्टीका प्रदेश अध्यक्षप्रति तिक्तता पोख्दै मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेश अध्यक्ष घनश्याम खतिवडाप्रति संस्थापन पक्ष र विपक्षको कित्ता प्रष्ट्याएको बताइन्।
कार्यक्रममा उनले पार्टीभित्रको अन्तरविरोधसँगै विगतमा दुवै नेता मदन भण्डारी फाउण्डेसनको पदाधिकारी रहेको स्मरण गराइन्।
उनले भनिन्, ‘फाउण्डेसनको स्थापना र यसको उद्देश्यप्रति नेता–कार्यकर्ताको बुझाइ फरक रह्यो। कुनै बेला फाउण्डेसनमा म अध्यक्ष हुँदा मुख्यमन्त्री कार्की महासचिव हुनुहुन्थ्यो। पार्टीको अन्तरविरोधको कुरा गर्दा उहाँ प्रतिपक्षजस्तो अवस्थामा हुनुहुन्थ्यो। तर, अहिले संस्थापन पक्षमा हुनु भा’छ। पार्टीका प्रदेश अध्यक्ष घनश्याम खतिवडा पनि फाउण्डेसनको मोरङ जिल्लाको १२ वर्षसम्म अध्यक्ष रहनुभयो। यसअवधिमा कति सिन्का भाँच्नुभयो, उहाँले भन्नुहोला। अहिले खड्ग बस्नेत हुनुहुन्छ। त्यसले पार्टीलाई कति मलजल गर्छ भन्ने कुरा हाम्रो क्रियाकपालमा भर पर्छ।’
मदन भण्डारीले अघि बढाएको जबजलाई फाउण्डेसनले आत्मसात गरेको र यसको स्थापनामा पार्टी अध्यक्ष केपी ओलीले सहयोग गरेको उनको भनाइ छ। पार्टीले फाउण्डेसनको क्रियाकलापलाई जसरी अघि बढाउनुपर्ने थियो त्यो हुन नसकेको प्रति भण्डारीले दुःख व्यक्त गरिन्।
फाउण्डेसनद्वारा आयोजित अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा विराटनगरस्थित बिकेभिएम स्कुलकी कक्षा १२ की रागिनी न्यौपाने पहिलो भएकी थिइन्। न्यौपानेले ‘युवा राजनीति र अनुशासन’ विषयक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा पहिलो स्थान हासिल गरेकी हुन्।
भर्खरै
लोकप्रिय
