- लमही सामुदायिक डायलाइसिस सेन्टरमा ५० भन्दा बढी नयाँ बिरामीले पालो नपाउँदा उपचारमा गम्भीर समस्या देखिएको छ ।
- बिरामीको संख्या बढ्दै गएपछि उनीहरूको स्वास्थ्य अवस्था जटिल बन्ने जोखिम र मानसिक, आर्थिक भार बढेको छ ।
- जनशक्ति र उपकरणको कमीले गर्दा विभिन्न जिल्लाबाट आएका बिरामीलाई नियमित सेवा दिन सकिएको छैन ।
दाङ- दाङको लमही सामुदायिक डायलाइसिस सेन्टरमा मृगौलाको डायलाइसिस गराउने नयाँ बिरामीले पालो नपाउँदा उपचारमा गम्भीर समस्या देखिएको छ ।
नियमित सेवा लिइरहेका बिरामीबाहेक ५० भन्दा बढी नयाँ बिरामी डायलाइसिसको पालो कुरेर बस्न बाध्य भएको सेन्टरका प्रमुख सुशील पाण्डेले जानकारी दिए ।

मृगौला फेल भएका बिरामीको संख्या निरन्तर बढ्दै गएपछि नयाँ बिरामीलाई तत्काल सेवा दिन नसकिएको हो । नियमित डायलाइसिस आवश्यक पर्ने बिरामीले समयमै सेवा नपाउँदा उनीहरूको स्वास्थ्य अवस्था थप जटिल बन्ने जोखिम बढेको छ । यसले बिरामीसँगै उनीहरूका परिवारलाई पनि ठूलो मानसिक र आर्थिक भार परेको छ ।
हाल लमही सामुदायिक डायलाइसिस सेन्टरबाट ५८ जना बिरामीले नियमित रूपमा डायलाइसिस सेवा लिइरहेका छन् । उपलब्ध जनशक्ति र उपकरणको अधिकतम उपयोग गरिए पनि बढ्दो बिरामीको चापका कारण नयाँ बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको प्रमुख पाण्डेले बताए ।

उनका अनुसार दाङ मात्र नभई कपिलवस्तु, प्युठान, रोल्पा, रुकुम, सल्यान र कञ्चनपुरलगायत विभिन्न जिल्लाबाट समेत बिरामी उपचारका लागि लमही आउने गरेका छन् । सेवा क्षेत्र फराकिलो हुँदै गए पनि आवश्यक पूर्वाधार विस्तार हुन नसक्दा समस्या झन् बढ्दै गएको छ ।
पर्याप्त भवन र उपकरणको व्यवस्था गर्न सके सेवाको दायरा विस्तार गरी पालाे कुरिरहेका बिरामीलाई समेत नियमित सेवा दिन सकिने सेन्टरको भनाइ छ । स्थानीयवासी तथा बिरामीका आफन्तले बढ्दो आवश्यकतालाई ध्यानमा राख्दै सरकारले थप डायलाइसिस मेसिन, दक्ष जनशक्ति र पूर्वाधार विस्तारमा तत्काल पहल गर्नुपर्ने माग गरेका छन् ।
भर्खरै
लोकप्रिय
