- जापोरिज्जिया आणविक ऊर्जा केन्द्रमा युक्रेन युद्ध शुरू भएयता २१औं पटक बाह्य विद्युत आपूर्ति अवरुद्ध भएको छ।
- बाह्य विद्युत अवरोध हुँदा आपत्कालीन डिजेल जेनेरेटरले रिएक्टर शीतलन र सुरक्षा प्रणालीलाई निरन्तर विद्युत उपलब्ध गरायो।
- आइएईएले सुरक्षा अवस्थाको संवेदनशीलता औंल्याउँदै सैन्य संयमता अपनाउन सबै पक्षलाई आग्रह गरेको छ।
अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)ले युक्रेन युद्ध सुरु भएयता जापोरिज्जिया आणविक ऊर्जा केन्द्र (जेडएनपीपी) मा २१औँ पटक बाह्य विद्युत आपूर्ति अवरुद्ध भएको जनाएको छ। एजेन्सीले यस घटनाले केन्द्रको आणविक सुरक्षा अवस्था अझै अत्यन्त कमजोर रहेको देखाएको बताएको छ।
आईएईएका अनुसार प्लान्टलाई ‘३३० केभी फेरोस्प्लाभ्ना–१’ प्रसारण लाइनसँग जोड्ने विद्युत सम्पर्क विच्छेद भएपछि बाह्य विद्युत आपूर्ति बन्द भएको हो।
प्लान्टमा खटिएको आईएईएको निरीक्षण टोलीले सैन्य गतिविधिका कारण प्रसारण लाइनका विद्युतीय सुरक्षा प्रणाली सक्रिय हुँदा विद्युत प्रवाह स्वतः अवरुद्ध भएको जनाएको छ।
बाह्य विद्युत आपूर्ति बन्द भएपछि रिएक्टर शीतलन प्रणाली तथा अन्य अत्यावश्यक आणविक सुरक्षा प्रणालीलाई निरन्तर विद्युत उपलब्ध गराउन आपत्कालीन डिजेल जेनेरेटर स्वतः सञ्चालनमा आएको आइएईएले जनाएको छ।
आइएईएका महानिर्देशक राफेल ग्रोसीले पछिल्लो घटनाले जापोरिज्जिया आणविक केन्द्रको सुरक्षा अवस्था अझै अत्यन्त संवेदनशील रहेको पुनः पुष्टि गरेको बताए। उनले सम्भावित आणविक दुर्घटना रोक्न सबै पक्षले अधिकतम सैन्य संयमता अपनाउनुपर्नेमा जोड दिए।
युरोपकै सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्रमध्ये एक मानिने जापोरिज्जिया केन्द्रमा युक्रेन युद्ध सुरु भएदेखि नै बाह्य विद्युत आपूर्तिमा पटक–पटक अवरोध हुँदै आएको छ।
भर्खरै
लोकप्रिय
