- वैभव सूर्यवंशीले १५ वर्ष ९९ दिनको उमेरमा भारतका लागि डेब्यु गर्दै नयाँ कीर्तिमान कायम गरे।
- इंग्ल्यान्डले १९ ओभरमै १९१ रनको लक्ष्य पूरा गर्दै ६ विकेटको शानदार जित हासिल गर्यो।
- पाँच खेलको सिरिजमा इंग्ल्यान्डले भारतविरुद्ध १-० को अग्रता बनाएको छ।
भारतीय युवा ब्याटर वैभव सूर्यवंशी भारतका लागि डेब्यु गर्ने सबैभन्दा कान्छा क्रिकेटर बनेका छन्। उनले १५ वर्ष ९९ दिनको उमेरमा पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दै शेफाली वर्मा र सचिन तेन्दुलकरको कीर्तिमान तोडे।
म्यानचेस्टरमा इंग्ल्यान्ड विरुद्धको खेलअघि तिलक वर्माले वैभवलाई डेब्यु क्याप प्रदान गरेका थिए। क्याप पाएपछि भावुक बनेका वैभवको आँखाबाट आँसु झरेको थियो। यद्यपि, उनको पहिलो अन्तर्राष्ट्रिय खेल जितसँगै यादगार बन्न भने सकेन।
भारतले दिएको १ सय ९१ रनको लक्ष्य इंग्ल्यान्डले ४ विकेट गुमाएर पूरा गर्दै ६ विकेटको शानदार जित निकाल्यो। यो टी-२० अन्तर्राष्ट्रियमा भारतविरुद्ध इंग्ल्यान्डले सफलतापूर्वक पछ्याएको अहिलेसम्मकै सबैभन्दा ठूलो लक्ष्य पनि हो। आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलमा सूर्यवंशी १४ रन बनाएर आउट भएका थिए।
यसअघि भारतका लागि शेफाली वर्माले १५ वर्ष २३९ दिनको उमेरमा ‘डेब्यु’ गरेकी थिइन्। पुरुष क्रिकेटतर्फ भने सचिन तेन्दुलकरले १६ वर्ष २०५ दिनको उमेरमा भारतबाट पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका थिए। वैभवले यी दुवै कीर्तिमानलाई पछि पार्दै भारतीय क्रिकेटमा नयाँ अध्याय सुरु गरेका छन्।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो। उसका लागि अभिषेक शर्माले ४३ रन बनाउँदा इशान किशनले ४९ रन बनाए। त्यस्तै कप्तान श्रेयस अय्यरले ३७ रन बनाउँदा तिलक बर्मा २४ रनमा अविजित रहे।
जवाफमा इंग्ल्यान्डले १९ ओभरमै उक्त लक्ष्य पुरा गर्यो। इंग्ल्यान्डका लागि ज्याकब बेथहिलले ७८ रनको नटआउट इनिङ खेल्दा कप्तान ह्यारी ब्रुक्स र टोम बानटनले समान ३९ रन बनाएका थिए। त्यसअघि पहिलो ओभरमै दुबै ओपनर गुमाएको इंग्ल्यान्डले तेस्रो विकेटका लागि भने ५१ रनको साझेदारी गर्दै खेलमा फर्कियो।
जितसँगै ५ खेलको सिरिजमा इंऊल्यान्डले १-० को अग्रता बनायो।
भर्खरै
लोकप्रिय
