फिफाले फाइनलमा किन तोड्दै छ आफ्नै नियम?

फिफाले फाइनलमा किन तोड्दै छ आफ्नै नियम?
+
-

काठमाडौँ – फिफाले विश्वकपको फाइनलमा यो पटक आफ्नै नियम तोड्ने भएको छ। फाइनलमा अमेरिकी खेल ‘सुपर बाउल’ जस्तै भव्य हाफटाइम शो आयोजना गर्ने तयारी गरेपछि आइतबारको फाइनलमा मध्यान्तर करिब ३० मिनेट लामो हुन सक्ने जनाइएको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ११ मिनेटको सांगीतिक प्रस्तुति र त्यसपछि आफ्नो नियमित १५ मिनेटको विश्लेषण प्रसारण गर्नुपर्ने भएकाले हाफटाइम करिब आधा घण्टा पुग्ने अनुमान छ।

फुटबलको आधिकारिक नियम (ल अफ द गेम) अनुसार कुनै पनि खेलको मध्यान्तर १५ मिनेटभन्दा बढी हुन पाउँदैन। तर फिफाले गत वर्षको क्लब विश्वकपमा यो नियम तोड्दै करिब २५ मिनेट लामो हाफटाइम गराएको थियो।

यसपटक विश्वकप फाइनलको हाफटाइमलाई सुपर बाउलको चर्चित शोसँग प्रतिस्पर्धा गराउने उद्देश्य राखिएकाले मध्यान्तर अझै लामो हुने अपेक्षा गरिएको छ। यसले विश्वकप फाइनललाई इतिहासकै सबैभन्दा लामो फाइनलमध्ये एक बनाउन सक्छ। खेलका दुवै हाफमा राखिएका तीन-तीन मिनेटका पानी पिउने (हाइड्रेसन) ब्रेकलाई पनि धेरैले थप विज्ञापन देखाउने माध्यमका रूपमा हेरेका छन्।

विश्वप्रसिद्ध कलाकारहरूको प्रस्तुति

न्यू जर्सीको मेटलाइफ स्टेडियममा हुने फाइनलमा मडोना, जस्टिन बिबर, शकिरा, बीटीएस, बर्ना ब्वाय, गुस्ताभो डुडामेल तथा कोल्डप्लेसँगै पीएस२२ कोरसले प्रस्तुति दिने कार्यक्रम छ।

नेपाली समयअनुसार आइतबार मध्यराति १२:४५ मा खेल सुरु हुनेछ। खेल सुरु हुनुअघि समापन समारोह आयोजना हुनेछ। जहाँ रोबी विलियम्स, टम क्रुज र निकोल शर्जिङ्गरलगायतका चर्चित व्यक्तित्व सहभागी हुनेछन्।

खेलका नियम बनाउने निकायको असहमति

फुटबलका नियम बनाउने संस्था इन्टरनेसनल फुटबल एसोसिएसन बोर्ड (आइएफएबी) ले सन् २०२१ मा दक्षिण अमेरिकी फुटबल महासंघ (कोनमेबोल) ले हाफटाइमलाई २५ मिनेट पुर्‍याउने प्रस्ताव अस्वीकार गरेको थियो।

आइफ्याबले लामो समय खेलाडी निष्क्रिय रहँदा त्यसले खेलाडीको स्वास्थ्य र सुरक्षामा नकारात्मक असर पर्ने निष्कर्ष निकालेको थियो। यद्यपि, कोनमेबोलले सन् २०२४ को कोपा अमेरिका फाइनलमा मियामीमा शकिराको करिब २५ मिनेट लामो सांगीतिक कार्यक्रम आयोजना गरेको थियो। त्यसपछि कोलम्बियाका मुख्य प्रशिक्षक नेस्टर लोरेन्जोले विरोध जनाएका थिए। त्यही प्रतियोगितामा उनको टोली एक मिनेट ढिलो मैदान फर्किएको भन्दै उनलाई कारबाही गरिएको थियो। तर फिफाले भने यो विषयमा कुनै टिप्पणी गरेको छैन।

परामर्शबिनै बदलिँदै फुटबल

आँखा अगाडि नै फुटबलको स्वरूप परिवर्तन भइरहेको छ। दुई हाफमा खेलिने खेल अहिले चार भागमा विभाजित भएकोजस्तो देखिन थालेको छ र विश्वकप फाइनलमा सुपर बाउल शैलीको आधा घण्टाको हाफटाइम थपिने तयारी भइरहेको छ।

फिफाले फुटबललाई अमेरिकी शैलीको ‘सकर’मा रूपान्तरण गर्न खोजिरहेको जस्तो देखिन्छ। यस क्रममा उसले १५ मिनेटभन्दा बढी हाफटाइम हुन नपाउने स्पष्ट नियमलाई बेवास्ता गरेको छ।

अझ चिन्ताजनक कुरा, यो परिवर्तन गर्दा खेलाडी, समर्थक र फुटबलको मौलिक मूल्यबारे कुनै गम्भीर छलफल गरिएको छैन। संसारकै सबैभन्दा लोकप्रिय खेल किन लोकप्रिय बन्यो भन्ने कुरा पनि बेवास्ता गरिएको छ।

हाइड्रेसन कि विज्ञापन ब्रेक?

दुवै हाफको बीचमा राखिएका पानी पिउने ब्रेकलाई खेलाडीको सुरक्षाको नाम दिइएको छ। तर धेरै खेल वर्षा वा चिसो मौसममा समेत यस्ता ब्रेक दिइएका छन्, जहाँ त्यसको आवश्यकता नै थिएन। त्यसैले धेरै समर्थकले यसलाई थप विज्ञापन देखाउने बहाना मात्र ठानेका छन्। कतिपय खेलमा दर्शकले असन्तुष्टि जनाउँदै हुटिङसमेत गरेका छन्, तर त्यो आवाज स्टेडियममा बजाइएको संगीतले छोपिएको छ।

यी ब्रेकले खेलको लय, गति र रोमाञ्चमा पनि असर पुर्‍याएका छन्। प्रशिक्षक र खेलाडीले रणनीति फेरबदल गर्ने अवसर पाए पनि खेल बारम्बार रोकिने भएकाले प्रतिस्पर्धा टुक्रिएको अनुभव हुन्छ। यी खेलका लागि होइन, विज्ञापनदाताका लागि बनाइएका ‘टाइम–आउट’ जस्ता देखिन्छन्।

व्यापारिक स्वार्थ हाबी?

यी सबै परिवर्तनको मुख्य उद्देश्य विश्वकपबाट अझ बढी आम्दानी निकाल्ने प्रयासजस्तो देखिन्छ। लामो प्रसारण समयले टेलिभिजन कम्पनीलाई थप विज्ञापन बेच्ने अवसर दिन्छ, जसबाट उनीहरूले महँगो प्रसारण अधिकारको खर्च उठाउन सक्छन्।

अर्कोतर्फ, अहिलेको पुस्ताको ध्यान लामो समय एउटै कुरामा केन्द्रित रहँदैन भन्ने सोच पनि यसमा मिसिएको देखिन्छ। तर वास्तविकता के हो भने, खेल अब ४५ मिनेटमा सीमित छैन। अतिरिक्त समय, भिएआर जाँच र हाइड्रेसन ब्रेकका कारण प्रत्येक खेल निकै लम्बिन थालेको छ।
यदि फाइनलमा दुई हाइड्रेसन ब्रेक, ३० मिनेटको हाफटाइम, पहिलो हाफमा चार मिनेट र दोस्रो हाफमा सात मिनेट अतिरिक्त समय थपियो भने खेल धेरै लामो समय चल्ने छ। यदि खेल अतिरिक्त समय र पेनाल्टी सुटआउटसम्म पुग्यो भने खेलको निर्णय आउन बिहान करिब ४ बज्ने छ।

अर्थात्, पूरा कार्यक्रम झन्डै तीन घण्टा लामो हुनेछ, जुन सुपर बाउलकै अवधिसँग तुलना गर्न सकिने अवस्था हो। तर, अमेरिकी फुटबलको संरचना नै फरक भएकाले त्यस्तो तुलना उचित नहुन सक्छ।

खेलाडीको स्वास्थ्यबारे उठ्यो प्रश्न

यति लामो समय खेल रोकिँदा खेलाडीलाई बारम्बार शरीर तातो राख्नुपर्ने हुन्छ। लामो निष्क्रियताले विशेषगरी मांसपेशीमा चोट लाग्ने जोखिम बढाउन सक्छ। त्यसैले यसले खेलाडीको स्वास्थ्यमा पनि प्रश्न उठाएको छ।

फुटबल कि मनोरञ्जन महोत्सव?

फिफाले फाइनलका लागि मडोना, जस्टिन बिबर, शकिरा, बीटीएस, बर्ना ब्वाय, गुस्ताभो डुडामेल र कोल्डप्लेको सहभागिता घोषणा गरेको छ। यसबाहेक समापन समारोहमा रोबी विलियम्स, टम क्रुज र निकोल शर्जिङ्गर पनि रहनेछन्। यसले प्रश्न उठाएको छ कि यो विश्वकप फाइनल हो कि कुनै विशाल मनोरञ्जन महोत्सव?

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले यो कार्यक्रमलाई फुटबल, संगीत र साझा मूल्यको उत्सवका रूपमा प्रस्तुत गरेका छन्। उनले यसलाई कोल्डप्लेका क्रिस मार्टिनको संयोजनमा तयार पारिएको ऐतिहासिक कार्यक्रम भनेका छन्, जसमा द मपेट्स र सेसम स्ट्रिटका पात्रहरू पनि समावेश हुनेछन्। तर, आलोचकहरूका अनुसार यसको वास्तविक उद्देश्य फुटबलभन्दा बढी व्यापारिक लाभ र मनोरञ्जन हो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…