- विश्वकप २०२६ को फाइनलमा लियोनेल मेस्सी र लामिने यामाल पहिलो पटक प्रतिद्वन्द्वीको रूपमा आमनेसामने हुनेछन्।
- सन् २००७ मा पाँच महिने लामिने शिशुलाई काखमा लिएको मेस्सीको फोटो अहिले फेरि चर्चामा आएको छ।
- लामिनेका लागि विश्वकप फाइनल लगभग दुई दशक पुरानो कथाको सुन्दरतम् अन्त्यको रूपमा रहेको छ।
विश्व फुटबलका महान खेलाडी लियोनेल मेस्सी र बार्सिलोनाको दायाँ विंगमा उनको उत्तराधिकारी मानिएका लामिने यामाल आइतबार हुने फिफा विश्वकप २०२६ को फाइनलमा अर्जेन्टिना र स्पेनबीच पहिलो पटक एकअर्काको प्रतिद्वन्द्वीका रूपमा मैदानमा उत्रनेछन्।
मेस्सी अहिले ३९ वर्षका छन् भने यामाल भर्खर १९ वर्ष पुगेका छन्। उमेरको ठूलो अन्तर हुँदाहुँदै पनि विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा उनीहरू आमनेसामने हुनु मेस्सीको अदम्य निरन्तरता र यामालको असाधारण प्रतिभाको प्रमाण हो।
तर, यी दुईको भेट भने पहिलो पटक हुन लागेको होइन। २००७ मा सुरु भएको एउटा अनौठो कथाका फोटाहरुले अहिले सामाजिक सञ्जाल रंगिएको छ।
सन् २००७ मा, २० वर्षीय मेस्सी बार्सिलोनाको पहिलो टोलीमा आफ्नो स्थान मजबुत बनाउँदै थिए। त्यही बेला, लामिने यामाल मात्र पाँच महिनाका शिशु थिए।

त्यो ऐतिहासिक क्षणलाई फोटोग्राफर जोन मोनफोर्टले आफ्नो क्यामेरामा कैद गरेका थिए। यी तस्बिरहरू सन् २०२४ मा फेरि चर्चामा आए, जब यामालले स्पेनलाई युरो २०२४ को उपाधि जिताउन महत्वपूर्ण भूमिका खेले। त्यसबेला उनका बुबाले इन्स्टाग्राममा एउटा तस्बिर पोस्ट गर्दै लेखेका थिए ‘दुई महान् खेलाडीको यात्राको सुरुवात।’
ती तस्बिरहरूमा मुस्कुराइरहेका मेस्सीले सानो यामललाई काखमा लिएका छन्, नुहाइदिएका छन्, र माया गरिरहेका छन्। कसैले कल्पना पनि गरेको थिएन कि यही शिशु एक दिन मेसीकै बाटो पछ्याउँदै विश्व फुटबलको अर्को चम्किलो तारा बन्ने छ।
फोटोग्राफर मोनफोर्ट भन्छन्, ‘यो साँच्चै भाग्यको अद्भुत चमत्कार हो। यस्तो संयोग जीवनमा विरलै हुन्छ। यदि यो कथा चलचित्रमा लेखिएको भए पनि धेरैले विश्वास गर्ने थिएनन्।’ उनी थप्छन् ‘मेस्सीलाई बच्चा कसरी समात्ने भन्ने नै थाहा थिएन’

यो फोटोसुट बार्सिलोनाको तत्कालीन घरेलु मैदान क्याम्प नोउको पाहुना टोलीको ड्रेसिङ रुममा गरिएको थियो। यामालको परिवार एउटा प्रतियोगिता जितेर त्यहाँ पुगेको थियो।
उनका बुबा मुनिर नस्राउई (मोरक्को मूलका) र आमा शिला एबाना (इक्वेटोरियल गिनी मूलकी) बाल्यकालमै परिवारसँग क्याटालोनिया बसाइँ सरेका थिए। यामाल जन्मिएपछि, क्याटालान पत्रिका स्पोर्ट, बार्सिलोनाका जर्सी प्रायोजक र युनिसेफले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उनीहरूको परिवार चयन भएको थियो। विजेता परिवारका शिशुलाई बार्सिलोनाका पहिलो टोलीका खेलाडीसँग फोटो खिच्ने अवसर दिइन्थ्यो। संयोगवश, यामालका लागि छानिएका खेलाडी थिए लियोनेल मेस्सी!
मोनफोर्ट सम्झन्छन्, ‘सन् २०२४ मा साथीले फोन गरेर इन्स्टाग्राममा पोस्ट भएको तस्बिरबारे नबताएसम्म त्यो बच्चा यामाल हो भन्ने मलाई थाहा नै थिएन।’ उनी थप्छन्, ‘मेसी निकै लजालु र शान्त स्वभावका थिए। ड्रेसिङ रुममा छिरेपछि उनलाई एउटा सानो शिशुसँग फोटो खिच्नुपर्ने भयो। उनको अनुहार हेर्दा बच्चालाई कसरी समात्ने भन्ने नै थाहा नभएको जस्तो देखिन्थ्यो।’
‘तर यामाल अत्यन्त हँसिलो र रमाइलो स्वभावको शिशु थिए। उनकी आमा शिलाले हामीलाई धेरै सहयोग गर्नुभयो। उनीहरूको आर्थिक अवस्था निकै कमजोर थियो, तर परिवार अत्यन्तै विनम्र र सहयोगी थियो।’ उनले थपे ‘मेस्सी सधैंजसो यस्ता कार्यक्रममा पनि पूर्ण व्यावसायिक रहन्थे। केही समयमै उनी परिस्थितिअनुसार सहज भइहाले।’
त्यतिबेला मेस्सीले बार्सिलोनामा १९ नम्बरको जर्सी लगाउँथे। एक वर्षपछि मात्र रोनाल्डिन्हो क्लब छाडेपछि उनले प्रतिष्ठित १० नम्बर जर्सी पाएका थिए।

१९ वर्षको उमेरमा दुवैको उपलब्धि
१९ वर्ष पुग्दासम्म मेस्सीले आफ्नो करियरमा ११ गोल गरेका थिए। उनले एक-एक पटक ला लिगा र यूईएफए च्याम्पियन्स लिग जितिसकेका थिए। तर सोमबार मात्र १९ वर्ष पुगेका यामालले अहिलेसम्म ५६ गोल गरिसकेका छन्। उनले तीन पटक ला लिगा, एक पटक कोपा डेल रे र युरो २०२४ को उपाधि जितिसकेका छन्।
‘यामाल’ वास्तवमा थर होइन यामालको पूरा नाम लामिन यामाल नस्राउई एबाना हो। उनको जर्सीमा देखिने ‘लामिने यामल’ उनका दुईवटा पहिलो नाम हुन्। स्पेनी सञ्चारमाध्यमका अनुसार, आर्थिक कठिनाइको समयमा परिवारलाई सहयोग गर्ने दुई साथीको सम्मानस्वरूप उनका बुबाले छोराको नाम लामिन र यामाल राखेका थिए।
अरबी भाषामा ‘लामिन’ को अर्थ इमानदार वा विश्वासयोग्य हुन्छ भने ‘यामाल’ को अर्थ सौन्दर्य वा गरिमा हो।
रोकाफोन्डाको गर्व
यामाल बार्सिलोनाबाट करिब ३२ किलोमिटर उत्तरमा रहेको मातारो शहरको श्रमिक बस्ती रोकाफोन्डामा हुर्किए। गोल गरेपछि उनले औँलाले ३-०-४ संकेत देखाउने गर्छन्। यो रोकाफोन्डाको पोस्टकोड (३०४) प्रति उनको सम्मान हो। प्रतियोगिताकै क्रममा उनले ‘इआई पाइस’ सँग भनेका थिए, ‘मेरो आमा–बुबाले मेरो लागि जे गर्नुभयो, त्यो म आफ्नै सन्तानका लागि बाहेक कसैका लागि गर्न सक्दिनँ।’
उनले भने, ‘पैसा नभएको अवस्थामा बच्चालाई फुटबल खेलाउनु अत्यन्त कठिन हुन्छ। तर मेरा आमा-बुबाले त्यो असम्भवजस्तो काम सम्भव बनाइदिनुभयो। म उहाँहरूको त्यो गुन जीवनभर तिर्न सक्दिनँ।’
मोनफोर्टका लागि, विश्वकप फाइनलमा मेस्सी र यामाल आमनेसामने हुनु लगभग दुई दशकअघि सुरु भएको कथाको सबैभन्दा सुन्दर अन्त्य हो। उनी भन्छन्, ‘मलाई लाग्छ, उनीहरूको कथाको एउटा चक्र अब पूरा हुँदैछ। यो साँच्चै सुखद अन्त्य हो।’
उनी भन्छन् ‘म बार्सिलोनाको समर्थक हुँ। मेसीले दोस्रो पटक विश्वकप जित्दै आफ्नो करियर टुंग्याउन सके त्यो उनको महान् यात्राको सबैभन्दा सुन्दर समापन हुने छ। उनी त्यसका पूर्ण हकदार छन्।’
उनी भन्छन्, ‘यामालसँग अझै धेरै समय छ। उनले भविष्यमा विश्वकपसहित थुप्रै उपाधि जित्न सक्छन्। तर अहिले स्पेन र यामाल दुवै उत्कृष्ट लयमा छन्। यदि उनले अहिले नै विश्वकप जिते भने त्यो उनका अन्य सबै उपाधिभन्दा अझ विशेष हुनेछ।’
अन्त्यमा उनी मुस्कुराउँदै भावुक बन्दै भन्छन्, ‘मेरो अवस्था निकै कठिन छ। मेरो मुटु दुई टुक्रामा विभाजित भएको छ।’ यही कारणले, आइतबारको विश्वकप फाइनल केवल उपाधिको लडाइँ मात्र हुने छैन, यो १९ वर्षअघि एउटा शिशुलाई काखमा बोकेका मेस्सी र आज विश्व फुटबलको नयाँ चम्किलो ताराका रूपमा उदाएका यामालबीच भाग्यले रचेको एउटा अनुपम कथाको चरम बिन्दु पनि हुनेछ।
भर्खरै
लोकप्रिय
