काठमाडौँ – एसीसी वुमेन्स यु-१९ प्रिमियर कपको सेमिफाइनलमा नेपाल युएईसँग सुपर ओभरमा पराजित भएको छ।
नेपाललाई पराजित गर्दै युएईले फाइनलमा स्थान बनायो। अब उपाधिका लागि युएईले थाइल्यान्डको सामना गर्नेछ। हारका बाबजुत नेपालले एसिया कपमा स्थान भने यसअघि नै बनाइसकेको छ।
निर्धारित २० ओभरमा दुवै टोलीले समान १०० रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। जहाँ नेपालले पहले ब्याटिङ गर्दै ६ रन मात्र बनायो। जवाफमा युएईले ३ बलमै ७ रन बनाउँदै जित हासिल गर्दै फाइनलमा स्थान पक्का गर्यो।
मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको युएइ १९.५ ओभरमा अलआउट हुँदै १०० रनमा समेटियो। उसका लागि लाभन्या केन्याले २५ रन बनाउँदा मेहुल प्रनब कुलकर्नीले ३० रन बनाएकी थिइन्। त्यस्तै, नेहा कुमारीले १९ रन बनाइन्।
नेपालका लागि अनु कडायत र रिया शर्माले समान ३-३ विकेट लिँदा तिर्सना विश्वकर्माले २ विकेट लिएकी थिइन्। त्यस्तै, अर्को १ विकेट मनिशा उपाध्यायले लिइन्।
जवाफमा १ सय १ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा १०० रनमै समेटियो। नेपालका लागि साना प्रभिनले १७ रन बनाउँदा अनु कडायतले २० रन बनाइन्। त्यस्तै, अलिशा कुमारी यादवले १७ रन बनाएकी थिइन्। अन्य खेलाडीले भने गतिलो प्रदर्शन गर्न सकेनन्।
भर्खरै
लोकप्रिय
