काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आइसिसी विश्वकप लिग–२ अन्तर्गत अवे कन्डिसनमा र युरोपमा खेल्न सहज नहुने बताएका छन्।
विश्वकप लिग–२ को श्रृंखलाअन्तर्गत नेपाली टोलीले नेदरल्यान्ड्समा घरेलु टोली र नामिबियासँग जुलाई २१ तारिखदेखि त्रिदेशीय श्रृंखला खेल्ने तालिका छ। लिग–२ को अंकतालिकाका नेदरल्यान्ड्स नेपालभन्दा माथिको टोली हो। समान २८ खेल खेलेको नामिबियासँग पनि नेपाल दुई अंकले मात्र अघि छ।
श्रृंखला खेल्न जानुअघि बिदाइ कार्यक्रममा नेपालका कप्तान रोहितले युरोप भ्रमणमा नतिजा निकाल्न सहज नहुने उल्लेख गर्दै होम कन्डिसनभन्दा अवेमा खेल्ने गाह्रो हुने बताएका छन्। तर टिम कम्बिनेसन राम्रो भएकाले सुखद नतिजा ल्याउने उनको विश्वास छ। पछिल्ला दुई वटा सिरिजको नतिजापछि आफ्नो टोली राम्रो स्थानमा रहेको कप्तान रोहित बताउँछन्।
उनले नेदरल्याण्ड्स र नामिबियालाई हराउने मानसिकताका साथ खेल्ने बताए। यद्यपि, दुई वटा अवे सिरिजमध्ये यो कठिन हुने उनी बताउँछन्। आफूहरूले पनि त्यहीअनुसार तयारी पनि गरेको उनले उल्लेख गरे। नेदरल्याण्ड्समा जतिसक्दो बेस्ट दिने टोलीको लक्ष्य हुने कप्तान रोहित बताउँछन्।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार एक कार्यक्रमका बीच नेपाली टोलीलाई बिदाइ गरेको हो। क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्कालगायतले नेपाली टोलीलाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै बिदाइ गरे।
भर्खरै
लोकप्रिय
