काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि नेतृत्व तहमा गम्भीर र इमान्दार संवादको आवश्यकता रहेको बताएका छन्।
सोमबार संस्थापन इतर पक्षको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै नेता महतले बाहिर चर्चाका लागि मात्र नभई वास्तविक निष्कर्ष निकाल्ने उद्देश्यले वार्तामा बस्नुपर्ने बताएका हुन्।
उनले अहिलेसम्मका वार्ता र छलफलहरू ठोस निष्कर्षमा पुग्न नसकेको बताए। उनका अनुसार बैठकमा सहमति खोज्ने तर बाहिर निस्किएपछि फरक ढङ्गले प्रस्तुत हुने प्रवृत्तिले एकता प्रक्रियामा अवरोध सिर्जना गरेको छ।
उनले भने, ‘कुन विषयमा सहमति जुट्न सक्छ र कुनमा सक्दैन भन्ने स्पष्ट हुन एकै ठाउँ बसेर छलफल गर्नुपर्छ। मिडिया वा सार्वजनिक खपतका लागि मात्र नभई साँचो मनले सम्मानजनक एकताका लागि वार्ता आवश्यक छ।’
पार्टी समायोजन र क्रियाशील सदस्यता अद्यावधिकका विषयमा देखिएका मतभेद संवादको माध्यमबाट हल गर्न सकिने उनले बताए। उनले केवल प्रचारका लागि मात्र एकताको कुरा गरेर कुनै अर्थ नहुने भन्दै गम्भीर भएर वार्ताको टेबुलमा आउन र पार्टीलाई एकढिक्का बनाउन आग्रह गरे।
भर्खरै
लोकप्रिय
