- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम समझदारी समाप्त भएको र अब वार्तामा समय नबर्बाद गर्ने घोषणा गरे।
- ट्रम्पले इरानलाई ‘दुष्ट बिरामी मानिसहरू’ भन्दै, स्ट्रेट अफ हर्मुजमा जहाजहरूलाई निशाना बनाएको आरोप लगाए।
- नेटो शिखर सम्मेलनअघि ट्रम्पले अमेरिकी सुरक्षा खर्चको असमानता र ग्रिनल्यान्ड, इरानलाई चिन्ताको विषय बताए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानसँग भएको युद्धविरामसम्बन्धी समझदारी समाप्त भएको घोषणा गरेका छन्। उनले अब वार्तामा अल्झिएर समयको बर्बादी नगर्ने र अन्य विकल्पका बारेमा छलफल गरिरहेको बताए।
ट्रम्पको घोषणाले गत जुनको मध्यतिर भएको प्रारम्भिक शान्ति सम्झौता प्रभावहीन बन्दै गएको स्पष्ट संकेत दिएको छ। ट्रम्पको प्रतिक्रिया त्यतिबेला आएको हो, जब इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आईआरजीसी) ले अमेरिकाले इरानमाथि गरेको आक्रमणको जवाफस्वरूप बहराइन र कुवेतमा अमेरिकी सैन्य लक्ष्यहरूमा आक्रमण गरेको दाबी गरेको थियो।

ट्रम्पले इरानको कडा आलोचना गर्दै त्यहाँका शासकहरूलाई ‘दुष्ट बिरामी मानिसहरु’ र ‘निकृष्ट’ भन्दै आलोचना गरे। उनले ‘स्ट्रेट अफ हर्मुज’ मा व्यावसायिक जहाजहरूलाई निशाना बनाएर युद्धविराम उल्लंघन गरेको आरोप पनि लगाए।
ट्रम्पले इरानसँगको कूटनीतिक वार्ता समयको बर्बादी भएको टिप्पणी गर्दै अब वार्ताभन्दा अन्य कदममा ध्यान केन्द्रित गर्ने बताए।
नेटोप्रति पनि असन्तुष्टि
‘नर्थ एट्लान्टिक ट्रिटी अर्गनाइजेसन’ (नेटो) को शिखर सम्मेलन सुरु हुनुअघि ट्रम्पले सदस्य राष्ट्रहरूसमक्ष आफ्ना असन्तुष्टि राख्ने बताएका छन्। नेटो महासचिव मार्क रुटेसँगै बोल्दै उनले अमेरिका युरोपको सुरक्षाका लागि असमान रूपमा धेरै खर्च गरिरहेको दाबी गरे।
उनले ग्रिनल्यान्ड र इरानलाई पनि अमेरिकाका प्रमुख सुरक्षा चिन्ताका विषयका रूपमा उल्लेख गर्दै, ‘हामीसँग अन्याय भएको छ। हामीले असन्तुलित रूपमा धेरै खर्च गरिरहेका छौं।’ यता नेटो सदस्य राष्ट्रहरूले भने सम्मेलनअघि रक्षा खर्च उल्लेखनीय रूपमा बढाएको बताएका छन्। रुट्टेका अनुसार, क्यानडा र युरोपेली देशहरूले सन् २०२५ र २०२६ मा रक्षा क्षेत्रमा थप २५८ अर्ब अमेरिकी डलर खर्च गर्ने प्रतिबद्धता जनाएका छन्, जसलाई उनले ‘अत्यन्त ठूलो वृद्धि’ बताएका छन्।
नेटो शिखर सम्मेलनका क्रममा एक पत्रकारले अमेरिकी राष्ट्रपति ट्रम्पलाई सोधे, ‘के युद्धविराम समाप्त भयो? के समझदारी अब समाप्त भइसकेको हो?’ जवाफमा ट्रम्पले भने ‘यो निकै रोचक प्रश्न हो। मेरो विचारमा यो अब समाप्त भइसकेको छ।’
उनले इरानका बारेमा भने ‘म अब उनीहरूसँग कुनै व्यवहार गर्न चाहन्नँ। उनीहरू निकृष्ट हुन्। थाहा छ, निकृष्ट भनेको के हो? उनीहरू निकृष्ट हुन्। उनीहरू बिरामी मानिस हुन्। उनीहरूलाई बिरामी मानसिकताका मानिसहरूले नेतृत्व गरिरहेका छन्। उनीहरू निर्दयी र हिंसात्मक छन्।’
ट्रम्पले थपे ‘यदि उनीहरूसँग परमाणु हतियार हुन्थ्यो भने, उनीहरूले त्यसको प्रयोग गर्थे। मेरो हिसाबले यो अध्याय अब समाप्त भएको छ।’ उनले भने ‘म हाम्रो वार्ता टोलीसँग कुरा गर्नेछु। उनीहरू वार्ता गर्न चाहन्छन्, उनीहरू राम्रो मानिस हुन्। तर अन्तिम निर्णयका लागि उनीहरू फेरि मसँग आउनुपर्छ। मेरो विचारमा उनीहरूसँग व्यवहार गर्नु समयको बर्बादी मात्र हो। उनीहरू झुटा हुन्।’
ट्रम्पले इरानले सहमति पालना नगरेको आरोप लगाउँदै भने ‘हामी सम्झौता गर्छौं। यदि मैले (नेटो महासचिव) सँग सम्झौता गरें भने, त्यो सम्झौता हुन्छ। तर इरानसँग हामीले सम्झौता गर्छौं, सबै सहमत हुन्छन् कि उनीहरूले परमाणु हतियार राख्ने छैनन्। त्यसपछि उनीहरू बाहिर गएर सञ्चारमाध्यमलाई भन्छन्, ‘हामीले त त्यसबारे कुरा नै गरेका थिएनौँ।’ उनीहरूमा केही न केही समस्या छ। उनीहरू असामान्य व्यवहार गरिरहेका छन्। मेरो हिसाबले यो विषय अब समाप्त भएको छ।’
उनलाई के वार्ता फेरि सुरु हुन्छ? भनि सोधिएको प्रश्नमा ट्रम्पले संक्षिप्त जवाफ दिंदै भने ‘मलाई त्यसको कुनै मतलब छैन। उनीहरूले कुरा गर्न सक्छन्। तर मेरो विचारमा उनीहरूले आफ्नो समय मात्र खेर फालिरहेका छन्। उनीहरू झुट बोल्ने मानिसहरूको समूह हुन् अब वार्ता केवल समयको बरबादी हुन्।’
भर्खरै
लोकप्रिय
