काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले स्पष्ट प्राथमिकता र निश्चित समस्याको पहिचान नगरी संविधान संशोधनको प्रक्रिया अघि बढाउन खोजेको भन्दै आपत्ति जनाएका छन्।
बिहीवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक विचार गोष्ठीमा बोल्दै सभापति थापाले सरकारद्वारा गठित कार्यदलको प्रक्रिया, कार्यविधि र नेतृत्वमाथि प्रश्न उठाएका हुन्।
उनले संविधान निर्माणको ऐतिहासिक पृष्ठभूमि, सशस्त्र द्वन्द्वको पीडा र हजारौँ नागरिकको बलिदानबाट प्राप्त उपलब्धिका संवेदनाहरूलाई बिर्सिएर संशोधनको विषयमा प्रवेश गर्न खोजिएको टिप्पणी गरे।
सभापति थापाले सरकारले कुन विशिष्ट समस्या समाधानका लागि संशोधन गर्न खोजेको हो भन्नेकुरा स्पष्ट नभएको उल्लेख गरे। संविधानको समग्र अन्तर्वस्तुलाई एकैपटक बहसको विषय बनाउँदा अप्रत्याशित संवैधानिक र कानुनी जटिलता उत्पन्न हुनुका साथै चरम दलीय ध्रुवीकरण निम्तिने उनको तर्क छ।
उनले भने, ‘नेपाल कुन राजनीतिक द्वन्द्वबाट गुज्रेर यहाँसम्म आएको हो र संविधान सभाले कसरी संविधान बनाएको हो भन्ने तथ्यलाई नजरअन्दाज गर्न मिल्दैन। १७–१८ हजार मानिस मारिएको विषयलाई हामीले एक हरफमा सीमित गरिदिए पनि प्रत्येक मृतकको कथा र परिवारको संवेदना जोडिएको छ। ती सबै कुरालाई बिर्सिएर हठात् संविधान संशोधनमा प्रवेश गर्न खोज्नु चिन्ताजनक छ। संविधान संशोधनको ढोका हचुवाका भरमा खोलिँदा यसले समाज र भूगोललाई जोडेर राख्ने मूल आधारहरू भत्काउन सक्छ र समग्र शासन व्यवस्थालाई नै अस्थिर बनाइदिन सक्छ। सरकारले प्राथमिकता निर्धारण नगरी अघि बढ्दा यस्तो जोखिम देखिन्छ।’
उनले कांग्रेसले संविधान संशोधनको विषयमा गम्भीर र जिम्मेवार बहसको आवश्यकता रहेको भन्दै यस प्रक्रियाले मुलुकको राजनीतिक स्थिरतालाई खलबल्याउन नहुनेमा जोड दिए।
भर्खरै
लोकप्रिय
