- वीर अस्पतालमा गणेश नेपालीको मृत्यु भएपछि उनका आफन्त र सर्वसाधारणहरूले सरकारको विभेदपूर्ण व्यवहारप्रति आक्रोश व्यक्त गरेका छन्।
- स्वतन्त्र चालक फाउण्डेशनले राइडरहरूलाई श्रमिक वा स्वरोजगारका रूपमा स्पष्ट पार्न सरकारलाई दबाब दिएको छ।
- सांसद ऐन महर र डाक्टर निर्मल विश्वकर्माले सरकारलाई गणेशको मृत्युको जिम्मेवारी लिन र अनुसन्धान गर्न आग्रह गरेका छन्।
‘बालेनले गरिबीलाई हटाउन खोजेको हो कि, गरिबलाई?’ भन्ने प्रश्न गरिरहेका थिए शुक्रबार वीर अस्पताल पुगेका मुगुका ४५ वर्षीय बसन्त परियार। उनी गणेश नेपालीलाई न्याय माग्दै त्यहाँ पुगेका थिए। ‘पठाओ चलाएर खान पनि दिएन, यो सरकारले’, उनले भने।
बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। तर परियार भन्छन्- ‘गणेशको निधन भएको होइन हत्या भएको हो। बालेन सरकारले हत्या गरेको हो।’
मुगुकै अर्का युवा मृतक गणेशको आफन्तलाई भेट्न नदिएकोमा कराइरहेका थिए। गणेश नेपालीका आफन्तसँग किन भेट्न नदिएको भन्दै भित्र पस्न कोसिस गरिरहेका युवालाई अस्पताल र मुख्य च्यानल गेटमा पहरा दिएर उभिएका प्रहरीले रोकिरहे।
अस्पताल प्रांगणमा मानिसहरुको भीड थियो। युवाहरु नारा लगाइरहेका थिए— ‘बालेन तिम्रो पाराले दु:ख पायो साराले,’ ‘बेरोजगार युवालाई बाँच्न दे सरकार।’
स्वतन्त्र चालक फाउण्डेशन नेपालकी राइडर रेश्मा विशुंखे आफ्नो साथीहरुसँग अस्पताल प्रांगणमा पुगेकी थिइन्। करिब एक दर्जन राइडरहरु अस्पतालको बाहिर गणेश नेपालीको न्यायका लागि अपिल गरिरहेका थिए।

सरकारले राइडरको वर्गीकरण नगरेकोमा उनले गुनासो गरिन्। ‘सर्वप्रथम त सरकारले राइडलाई स्वरोजगार हो कि श्रमिक हो भनेर छुट्याइदिनु पर्यो’ यो क्षेत्र म श्रमिक हो कि स्वरोजगार । राइडरले पाउने अधिकार स्वरोजगारमा पाउने कि श्रमिकमा?’
उनले थपिन्, ‘राइडरहरु श्रमिक हो भने तलब खाको छैन मन लागेको बेलामा मात्रै काम गरेको छ। स्वरोजगार हो भने कम्पनीलाई ट्याक्स तिरेको छ। त्यसैले राइडरहरु मारमा परेका छन्।’
यांगो चलाउँदा धेरै चुनौती हुने भएकाले राइडरहरूलाई दबाब सिर्जना भएको उनको बुझाइ छ। बौनस र केही समय सीमाका कारण राइडरहरूले हतारमा बाइक पार्क गर्नु पर्ने हुँदा राइडरलाई अप्ठ्यारो हुन पुगेको बताइन् उनै विशुंखेले।
राइडरले सेवा सुविधाहरु चाहिँ नसोच्ने तर सरकार तथा महानगरले चाहिँ नियम मात्रै पेल्ने गरेको पनि बताइन् । स्वतन्त्र चालक फाउण्डेशन नेपाल परिवारले गणेशको न्यायका लागि निरन्तर बोल्ने बताइन्।
साथै गणेश नेपालीलाई त्रिपुश्वेरबाट कीर्तिपुरको बर्न अस्पताल नलगेर वीर लगेकोप्रति पनि बीर अस्पालमा पुग्नेहरूले प्रश्न गरिरहेका थिए।
गणेशको मृत्यु भएपछि वीर अस्पताल पुगेका एमाले सचेतक ऐन महरले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताए।
उनले अहिलेको सरकार गरिब जनता प्रति निर्दयी बनेको धारणा व्यक्त गरे।
‘सम्पूर्ण हिसाबले यसको जिम्मा राज्यले लिनपर्छ। सम्पूर्ण हिसाबले राज्य असफल भएको, जनता प्रति र गरिब प्रति निर्दयी भएको ज्वलन्त उदाहरण र प्रमाण हो,’ उनले भने, ‘खासगरी सरकारका नीतिले जनतालाई दु:ख दिने, त्यो ठाउँमा पुग्ने गरी बाध्य बनाउने गरी बालेन सरकारले नियमहरू लागु गर्यो।’

वीर अस्पताल परिसरमा गणेशका आफन्त लगायत सर्वसाधारणहरूले गणेश नेपालीलाई कीर्तिपुरस्थित नेपाल क्लेफ्ट तथा बर्न सेन्टर नलगेर बीर अस्पताल ल्याइएकोमा आक्रोशित थिए। जलनको अस्पतालमा नपुर्याएको भन्दै सरकारले गरिबप्रति विभेदपूर्ण व्यवाहर गरिएको उनी बताउँछन्। वीर अस्पताल परिसरमा मानिसहरूको भिड जम्मा हुन थालेपछि प्रहरीलाई पनि तैनाथ गरिएको छ ।
जनताको अवस्थालाई सुधार नगरिकन कर थोपरेर मारमा पारेकाले उक्त घटना भएको उनले बताए।
एमाले सांसद् क्षितिज थेबे पनि बीर अस्पताल पुगेका थिए। थेबेले गणेश नेपाली घटना अत्यन्तै संवेदनशील विषय भएको बताए। गरिबले यो देशमा कति संघर्षपूर्ण जीवन बाँच्न पर्दो रहेछ भन्ने गणेश नेपालीको घटनाले बताउने बताए। साथै गणेश नेपालीलाई भेट्न नपाएको पनि उनले बताए। ‘म गणेश नेपालीको परिवारलाई भेट्न भित्र जान खोजेको पाइँन। कति सम्म सुनेको छु भने गणेशको आफन्तलाई दबाब दिइरहेको छ भन्ने सुनेको छु। गणेश नेपालीले जसरी अरुले ज्यान लिनु हुँदैन भन्ने हो,’ सांसद थेबेले भने, ‘सरकार आत्मदाह गर्ने युवालाई बचाउन भन्दा पनि बाइकलाई ट्रकमा हाल्न ब्यस्त भयो। त्यसै गरी बर्न अस्पताल लैजानुको साटो बीर लगियो। सरकारले यो लापर्वाही गरेकै हो।’
दलित अधिकारकर्मी डाक्टर निर्मल विश्वकर्मा पनि अस्पताल परिसर पुगेका थिए। उनले यस घटनाको मिहिन अनुसन्धान गर्नु पर्ने बताए। प्रहरी प्रशासनको कमजोरीकै कारण गणेश नेपालीको ज्यान पुगेको बताउँछन् डाक्टर विश्वकर्मा । ‘प्रहरी प्रशासनमाथि गम्भीर र मिहिन अनुसन्धान हुनु पर्छ। दोषी ठहरिए कार्वाही हुनु पर्छ,’ उनले भने,’गणेशमाथि प्रहरीबाट कुनै दुर्व्यहार नभइकन् उनले आत्मदाह पक्कै गरेनन्। त्यसैले अनुसन्धान हुनुपर्छ।’
डाक्टर विश्वकर्माले गणेशका आफन्तलाई फकाएर घटनालाई ढाकछोप नगर्न पनि सचेत गराए। ‘गणेशको आफन्तलाई केही लोभलालच देखाएर घटनालाई सामसुम नपारियोस्,’ उनले भने, ‘राज्य सत्ताले मर्न बाध्य भएको गणेशलाई उचित क्षतिपूर्ति होस्।’
भर्खरै
लोकप्रिय
