- श्रीमती उपन्यासको समीक्षा कार्यक्रममा वक्ताहरूले यसले सामाजिक संरचनामा श्रीमतीको भूमिकामाथि बहस सृजना गरेको बताए।
- कथा नेपाल, कोरिया, जापान हुँदै अमेरिकामा श्रीमान्–श्रीमतीको सम्बन्धको सफलता र स्थानीय संस्कृतिको चित्रणमा केन्द्रीत छ।
- साहित्यकार तथा पत्रकारहरूले यस उपन्यासलाई प्रवासको साहित्यमा उत्कृष्ट नमूना भन्दै पात्रमार्फत समाजको बहुआयामिक पाटो खोतल्ने प्रयास गरेको बताए।
वासिङ्टन डिसी (अमेरिका) – अमेरिकामा बस्दै आएका लेखक तथा साहित्यकार तीर्थराज पाण्डेयद्वारा लिखित उपन्यास ‘श्रीमती’माथि समीक्षा गरिएको छ।
दुई सय १३ औँ भानुजयन्तीको अवसरमा ‘स्टार स्कलर्स नेटवर्क अमेरिका’ले आयोजना गरेको कार्यक्रमका सहभागी वक्ताहरुले श्रीमती उपन्यासले सामाजिक संरचनामा श्रीमतीको भूमिकामाथि बहस सृजना गरेको बताए।
कार्यक्रममा मेरिल्याण्ड राज्यका राज्य सांसद डा. ह्यारी भण्डारीले श्रीमती उपन्यासले नेपाल र प्रवासको बहुआयामिक पाटोको बारेमा समेटेको बताए।
उनले भने, ‘उपन्यासमा विभिन्न पात्रहरुले सूदूरपश्चिमको जनजीवनलाई राम्रोसँग व्याख्या गर्दै स्थानीय भाषा, संस्कृतिको विषयमा चर्चा गरिएको छ। यो पुस्तकले जन्मभूमिमा भोगिने भोगाइ र त्यसपछि प्रवासमा भोगिने भोगाइलाई श्रीमती र श्रीमान्को सहकार्यमार्फत कसरी सफलता प्राप्त गर्न सकिन्छ भन्ने तथ्यलाई राम्रोसँग उजागर गरेको छ।’
साहित्यकार तथा पत्रकार मधुकर अधिकारीले श्रीमती उपन्यास पछिल्लो समयमा लेखिएका प्रवासको साहित्यमा उत्कृष्ट नमूना भएको बताए। उनले भने, ‘उपन्यासकारले समाजको संरचनागत कार्यात्मकतालाई श्रीमती उपन्यासमा पात्रमार्फत बहुआयामिक पाटो खोतल्नुभएको छ।’
मोर्गन स्टेट युनिभर्सिटीका प्रा. कृष्ण विष्टले उपन्यासकारले यस उपन्यासमार्फत समाजको संरचनामा श्रीमतीको भूमिकाबारे चर्चा गरेको बताए।
स्टार स्कलर्सका अध्यक्ष प्रा डा उत्तम गौली, डा दीपक कोइराला, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलगायतले उपन्यासका विविध पाटोबारे चर्चा गरेका थिए।
पुस्तकका लेखक तथा साहित्यकार पाण्डेयले किताब प्रकाशनबारे जानकारी दिए। अनेसास मेरिल्याण्ड च्याप्टरकी अध्यक्ष पूजा चन्द, अनेसास विओटीका महासचिव प्रकाश नेपाल, साहित्यकार सीता पाण्डे, डिसी च्याप्टरका अध्यक्ष नीलकण्ठ सुवेदी, पशुपति वञ्जाडे, अर्जुन हमाल, दमन विक्रम शाहलगायतले पुस्तकमाथि टिप्पणी गरेका थिए।
दोस्रो पुस्ताका सलोना भण्डारी, प्रज्ज्वल श्रेष्ठ, स्वर्णिम त्रिपाठी, मलिना छन्त्याल र सहिसा छन्त्यालले पुस्तकबारे आ–आफ्नो धारणा राखेका थिए। कार्यक्रममा साहित्यकार, लेखक, कवि तथा साहित्यका अनुरागीको बाक्लो उपस्थिति थियो।
श्रीमती उपन्यास सामाजिक विषयमा लेखिएको छ। यसका मुख्य पात्र वितुर र धिमही नेपालको सूदूरपश्चिममा जन्मिएर हुर्किएर कोरिया, जापान हुँदै अमेरिका पुगेर बस्दा श्रीमान् र श्रीमतीबीच पारस्परिक सम्बन्धले सफलता हासिल गरेको घटनाको व्याख्या गरिएको छ। यसलाई ‘स्टार स्कलर्स’ले प्रकाशन गरेको हो।
भर्खरै
लोकप्रिय
