- थाइल्यान्डको बैंककस्थित एक बारमा भएको आगलागीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ।
- प्रधानमन्त्रीअनुसार आधिकारिक कारण अनुसन्धानकै क्रममा छ, तर आगो झ्यालबाट देखेपछि चालकले दुई जनालाई बचाए।
- घटनामा ८ जनाको अवस्था गम्भीर छ र अधिकांश मानिसको मृत्यु धुवाँ निसास्सिएर भएको अनुमान छ।
थाइल्यान्डको राजधानी बैंककको एक चर्चित चाटुचक क्षेत्रमा रहेको एक बारमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ।
घटनामा परी ८ जनाको अवस्था गम्भीर रहेको प्रधानमन्त्री अनुटिन चार्नभिराकुलले बताएका छन्। सोमबार मध्यरातपछि भएको आगलागीको खबर पाएलगत्तै दमकल टोली घटनास्थल पुगेको थियो।
त्यतिबेलासम्म बारको मुख्य प्रवेशद्वार आगोले ढाकिसकेको थियो र ग्राहकहरू ज्यान बचाउन भागिरहेका थिए। प्रत्यक्षदर्शीका अनुसार आगो बारको स्टेज नजिकबाट सुरु भएको थियो।
त्यसपछि आगो तीव्र गतिमा फैलिँदा विद्युत् आपूर्ति अवरुद्ध भयो र केही क्षणमै पूरा हल धुवाँले भरियो। सामाजिक सञ्जाल एक्समा सार्वजनिक भिडियोहरूमा बारबाट भीषण ज्वाला निस्किरहेको, मानिसहरू चिच्याउँदै बाहिर भागिरहेको र केही लडिरहेको देखिन्छ।
प्रधानमन्त्री चार्नभिराकुलका अनुसार आगलागीको आधिकारिक कारण अझै अनुसन्धानकै क्रममा छ। स्थानीय सञ्चारमाध्यमका अनुसार राति करिब ११:३० बजे त्यहाँबाट गुज्रिरहेका एक चालकले बारमा आगो लागेको देखेपछि झ्याल फुटाएर दुई जनालाई उद्धार गरेका थिए।

त्यसको केही समयपछि दमकल टोली घटनास्थलमा पुगेको थियो। घटनाबारे जानकारी दिँदै प्रधानमन्त्रीले आगो लागेका बेला स्टेजमा प्रस्तुति दिइरहेका एक संगीतकर्मीसँग आफूले कुरा गरेको बताए। उनले बताएअनुसार मुख्य विद्युत् स्विच (कट–आउट स्विच) नजिक आगो लागेको थियो।
त्यसपछि सबै कुरा अत्यन्त छिटो भयो। विस्फोटजस्तो आवाज आयो र सबै जना धुवाँ र आगोबाट बच्न भाग्न थालेको उनले बताए। प्रधानमन्त्रीका अनुसार धेरै मानिस मुख्य ढोकाबाट निस्कन नसकेपछि भवनको पछाडितिर भागेका थिए। ‘धेरैले शौचालयमा लुकेर धुवाँबाट जोगिन खोजे, तर हामीले अधिकांश शव त्यहीँ फेला पार्यौं।’
दमकलकर्मीहरूले करिब आधा घण्टामै आगो नियन्त्रणमा लिएका थिए। तर त्यसबेलासम्म नौ पुरुष र १८ महिलाको मृत्यु भइसकेको थियो। साथै ६० भन्दा बढी घाइतेको अस्पतालमा उपचार भइरहेको छ, जसमध्ये आठ जनाको अवस्था गम्भीर छ।

बैंकक विपद् व्यवस्थापन विभागका प्रमुख सुरियाचाइ रविवानका अनुसार प्रारम्भिक अनुसन्धानले अधिकांशको मृत्यु धुवाँका कारण निसास्सिएर भएको देखाएको छ। यद्यपि यसको औपचारिक पुष्टि विस्तृत अनुसन्धानपछि मात्र हुने छ।
घटनास्थलमा उद्धारमा खटिएका मोटरसाइकल चालक सुरिन जाइहार्नले आफूले करिब पाँच जनालाई आगोबाट बचाएको बताए। ‘म निकै दुःखी छु। मैले यति धेरै मानिसको मृत्यु देखेँ। मैले बचाएका मानिसहरूको अवस्था अहिले कस्तो छ भन्ने पनि थाहा छैन,’ उनले एएफपीसँग भने।
आगो लागेको बार ‘रोङ बियर ना लाट फ्राओ’ नामले परिचित छ। आगो निभेपछि खिचिएका तस्बिरहरूमा बार बाहिर शव राखिएका झोलाहरूको लाम देखिन्छ भने घटनास्थललाई सुरक्षा घेरामा राखिएको छ।
बारभित्रको फर्निचर, भित्ताहरू र छत पूर्ण रूपमा जलेर कालो बनेका छन् भने छतका केही भाग खस्न थालेका छन्। बैंककका गभर्नर चात्चार्ट सित्तिपुन्टका अनुसार छतमा प्रयोग गरिएका सजावटी सामग्री अत्यधिक ज्वलनशील भएकाले आगो निकै छिटो फैलिएको हुन सक्छ।
ती सामग्री जलेर निस्किएको विषालु धुवाँका कारण धेरै मानिस बेहोस भएको हुन सक्ने उनको भनाइ छ। उनका अनुसार आपत्कालीन निस्कने ढोकानजिक धेरै मानिस अचेत अवस्थामा भेटिएका थिए।
त्यहाँ राखिएका टेबुल वा अन्य सामानले बाहिरिने बाटो अवरुद्ध गरेको हुन सक्ने आशंका गरिएको छ। यद्यपि उनले यसबारे फरेन्सिक विज्ञहरूको विस्तृत अनुसन्धानपछि मात्र अन्तिम निष्कर्ष आउने बताए।
यो थाइल्यान्डमा बार वा नाइटक्लबमा भएको पहिलो ठूलो आगलागी भने होइन। चार वर्षअघि बैंककको दक्षिणमा रहेको एक बारमा आगलागी हुँदा २२ जनाको मृत्यु भएको थियो।
त्यस्तै सन् २००९ मा बैंकककै एक नाइटक्लबमा भएको भीषण आगलागीमा ६६ जनाले ज्यान गुमाएका थिए।
भर्खरै
लोकप्रिय
