- दाङको चुरे क्षेत्रमा वन्यजन्तुको संरक्षण र जलस्रोत व्यवस्थापनका लागि संरक्षण पोखरी निर्माण गरिएको छ।
- डिभिजन वन कार्यालय दाङ देउखुरीले चालु वर्षमा तीन नयाँ पोखरी निर्माण र एकको मर्मतसम्भार गरेको छ।
- यी पोखरीले वन्यजन्तुको बासस्थान संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र जलस्रोत पुनर्भरणमा सहयोग पुर्याएका छन्।
दाङ- दाङको चुरे क्षेत्रमा वन्यजन्तुको संरक्षण र जलस्रोत व्यवस्थापनका लागि संरक्षण पोखरी निर्माण गरिएको छ ।
वन क्षेत्रमा पानीका मुहान सुक्दै जान थालेपछि वन्यजन्तुलाई सहज रूपमा पानी उपलब्ध गराउने उद्देश्यले डिभिजन वन कार्यालय दाङ देउखुरीले वन्यजन्तुमैत्री पानी पोखरी निर्माणलाई प्राथमिकता दिएको हो ।
कार्यालयले चालु आर्थिक वर्षमा तीन वटा नयाँ पानी पोखरी निर्माण गरेको छ भने एउटा पुरानो पोखरीको मर्मतसम्भार गरेको छ । लमही–८ स्थित उपकार सामुदायिक वन, गंगा सामुदायिक वन गढवालगायतका क्षेत्रमा निर्माण गरिएका पोखरीले वन्यजन्तुको बासस्थान संरक्षणमा सहयोग पुर्याउन थालेका छन् ।
डिभिजन वन कार्यालय दाङ देउखुरीका प्रमुख गणेश खड्काले वन संरक्षणसँगै वन्यजन्तुको सुरक्षित आवास व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताए ।
उनका अनुसार पानीको खोजीमा वन्यजन्तु बस्ती तथा सडक क्षेत्रमा पुग्ने अवस्था घट्दा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा समेत सहयोग पुगेको छ ।
वरिष्ठ फरेस्टर चिरञ्जीवी खनालले चुरे क्षेत्रमा प्राकृतिक पानीका स्रोत सुक्दै गएकाले कृत्रिम पोखरी निर्माण संरक्षणको प्रभावकारी माध्यम बनेको बताए ।
यस्ता पोखरीले पाटेबाघ, चितुवा, मृग, बँदेललगायत वन्यजन्तुलाई पानी उपलब्ध गराउनुका साथै चराचुरुङ्गी र अन्य जीवजन्तुको संरक्षणमा समेत योगदान पु¥याउने उनको भनाइ छ ।
वर्षाको पानी संकलन हुने भएकाले यस्ता पोखरीले भू–जल पुनर्भरण, वन क्षेत्रको चिस्यान कायम राख्ने र वन डढेलोको जोखिम घटाउने अपेक्षा गरिएको छ ।
संरक्षण पोखरी वन्यजन्तुको प्यास मेटाउने संरचना मात्र नभई जैविक विविधता संरक्षण र दिगो वन व्यवस्थापनको महत्वपूर्ण आधार बन्दै गएका छन् ।
भर्खरै
लोकप्रिय
