- पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको माझीटार बस्तीलाई बाढीबाट जोगाउन २७६ मिटर तटबन्ध बनाइएको छ।
- तटबन्ध निर्माणले बाढी र कटानका कारण प्रभावित माझीटारका खेतीयोग्य जमिन र सिंचाइ स्रोत सुरक्षित गर्ने लक्ष्य राखेको छ।
- भविष्यमा संघीय सरकारको बजेटमार्फत तटबन्धको विस्तार गरी माझीटारको जोखिम अझै कम गर्न पहल भइरहेको छ।
पाँचथर- पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमास्थित हेंवा खोला किनारमा रहेको माझीटार बस्ती जोगाउन तटबन्ध निर्माण कार्य सम्पन्न भएको छ ।
सिँचाइ तथा जलस्रोत आयोजना कार्यालय झापाले माझीटारको बस्ती र खेतीयोग्य जमिन संरक्षणका लागि खोलाको दुवैतर्फ तटबन्ध निर्माण गरेको हो ।
आयोजना कार्यालयका प्राविधिक दिनेश सुवेदीका अनुसार हिलिहाङ गाउँपालिकातर्फ १८० मिटर र फिदिम नगरपालिकातर्फ ९६ मिटर गरी कुल २७६ मिटर लामो तटबन्ध निर्माण गरिएको छ । तीन मिटर उचाइ भएको यो तटबन्ध बर्सेनि हुने कटानबाट बस्ती र खेतीयोग्य जमिन जोगाउने उद्देश्यले निर्माण गरिएको सुवेदीले जानकारी दिए ।
रु तीन करोडको लागतमा रणकाली माता निर्माण कम्पनीले हेंवा खोलासँगै पाँचथर–ताप्लेजुङ सीमास्थित काबेली नदीमा पनि २०० मिटर लामो तटबन्ध निर्माण गरेको छ ।
बाढीले बहाव परिवर्तन गरेपछि हेंवा खोलाले विगत तीन वर्षदेखि व्यापारिक तथा पर्यटकीय क्षेत्र माझीटारमा कटान गर्दै आएको थियो । बाढी र कटानका कारण सयौँ रोपनी खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै सिंचाइ र खानेपानीका स्रोतसमेत प्रभावित भएका छन् ।
खोलाको कटान रोक्न यस वर्षदेखि तटबन्ध निर्माण थालिएको हिलिहाङ गाउँपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक वीरेन्द्र मंग्रातीले बताए ।
तटबन्ध विस्तारका लागि आगामी आर्थिक वर्ष २०८३/८४ मा पनि सङ्घीय सरकारले बजेट विनियोजन गर्ने तयारी गरेको छ । स्थानीय सरकारको बजेटले मात्र नपुग्ने भएपछि सङ्घीय सरकारका कार्यालयमार्फत बजेट विनियोजनका लागि पहल भइरहेको र यस वर्ष कामको सुरुआत गर्न सफल भएको संयोजक मंग्रातीको भनाइ छ ।
हेंवा खोलाको दायाँबायाँ रहेको माझीटार बस्ती पछिल्लो समय तमोर नदीको बहाव परिवर्तनका कारण थप जोखिममा परेको स्थानीयवासी वीरबहादुर माझीले बताए । एकातिर हेंवा खोला र अर्कोतिर तमोर नदीको बहाव बस्तीतर्फ सोझिँदा जोखिम बढेकाले तमोर नदीतर्फ पनि तत्काल तटबन्ध निर्माण गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।
नेपाल माझी उत्थान सङ्घ पाँचथरका अध्यक्ष रामकुमार माझीले तटबन्ध निर्माणपछि माझीटारको मुख्य बस्तीको जोखिम केही कम भएको उल्लेख गरे । स्थानीय माछाका परिकारका लागि प्रख्यात माझीटारमा फिदिम आउने अधिकांश पर्यटक पुग्ने गर्छन् ।
बाढीको जोखिमका कारण चिन्तित बनेका स्थानीय व्यवसायी र बासिन्दालाई यो तटबन्धले केही राहत दिएको भन्दै उनले आगामी दिनमा थप व्यवस्थित संरचना निर्माण गर्नुपर्नेमा जोड दिए ।
भर्खरै
लोकप्रिय
