- घनश्याम राजकर्णिकारले पाउरोटी उद्योगलाई आधुनिक व्यवस्थापनद्वारा विस्तार गर्दै विभिन्न मुलुकमा व्यावसायिक ज्ञान आर्जन गरे।
- उनी लेखनका साथै सामाजिक कार्यमा पनि सक्रिय रहँदै लेखेका दर्जनौं कृति प्रकाशित गरेका छन्।
- व्यवसाय, लेखन र समाजसेवामा योगदानका लागि थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन्।
‘भैगो साथी खेल्दिनँ अब, भोक पनि लाग्यो म त जान्छु, खाजा खान्छु,
पाउरोटी कृष्ण पाउरोटी कृष्ण, कृष्ण, कृष्ण कृष्ण पाउरोटी!
२०४० को दशकतिर रेडियोमा लगातार गुन्जिने यो विज्ञापनको धुन कतिपय नेपालीको मानसपटलमा आज पनि ताजै छ। सायद त्यही नै अहिलेका पुस्तामा ‘कृष्ण पाउरोटी’ का उत्पादनले गरिरहेको राजको पहिलो खुड्किलो थियो।
यो विज्ञापनले एक सफल उद्योगलाई स्थापित बनाउन महत्वपूर्ण ब्रान्डको काम गर्याे र यसले उद्योगलाई दीर्घकालीन रुपमा चिरपरिचित बनायो। यही विरासत विस्तारसँग जोडिएको नाम हो– घनश्याम राजकर्णिकार।
पिता कृष्णबहादुर राजकर्णिकार र माता प्राणमाया राजकर्णिकारका सुपुत्र घनश्यामको जन्म १९९८ माघ ३ गते काठमाडौँको कमलपोखरी वडा नं. १ मा भएको थियो। उनी हुर्कंदै गर्दा कमलपोखरी चोकले ‘कृष्ण पाउरोटी चोक’ को नामबाट समेत आफ्नो पहिचान थप्यो। उनी एक प्रतिष्ठित व्यवसायी, स्थापित नियात्राकार र समाजसेवीका रूपमा फरकफरक पहिचानसहित परिचित छन्।
कर्मशील यात्राले दिएको विरासत
नेपालमा पहिलोपटक पाउरोटी (केक र बेक) संस्कृति भित्र्याउने श्रेय घनश्यामका पिता कृष्णबहादुर राजकर्णिकारलाई जान्छ, जसले २००४ सालमा कलकत्ता पुगी पाउरोटी बनाउने सीप सिकेर स्वदेश फर्किएका थिए। २००५ मा उनले पाउरोटी’ का रुपमा स्थानीय नामकरण गरिदिएका थिए।
यसरी २००५ सालमा कमलपोखरी चोकमा स्थापित कृष्ण पाउरोटी भण्डार ८० को दशकसम्म हरेक काठमाडौँवासीको ‘ब्रेकफास्ट’ को पहिलो रोजाइ बन्न सफल भयो।
घनश्यामले जर्मनीबाट ‘प्रोफेसनल एजुकेसन एण्ड एडभान्स ट्रेनिङ’ लिएर आफ्नो पुर्ख्यौली अर्थात् बुबाको व्यवसायलाई आधुनिक व्यवस्थापनबाट अगाडि बढाए। उनी नेपालका अधिकांश जिल्लाका साथै भारत, जर्मनी, अमेरिका, जापान, हल्याण्ड, फ्रान्स, स्पेन, इटलीलगायत दर्जनौं मुलुकको भ्रमण गरी व्यावसायिक ज्ञान आर्जन गर्नमा सक्रिय रहे। कृष्ण पाउरोटी भण्डार प्रालिका अध्यक्ष तथा प्रबन्ध सञ्चालकका रूपमा रहेका उनले अहिले ८४ वसन्त पूरा गरेका छन्।
अहिले पनि उनी प्रातःभोजनपछि १० बजे आफ्नो कारखाना पुग्छन् र २ बजेसम्म नित्य रेखदेख गर्छन्। उनी भन्छन्, ‘कर्म गर्नु पर्छ, भाग्य आफैँ बन्दै जान्छ।’

व्यवसायसँगै लेखन साधनामा खारिए
घनश्याम राजकर्णिकारले व्यापारसँगै आफ्नो लेखनप्रतिको रुचिलाई अगाडि लगे। उनले आफ्नो उक्त रुचिलाई समयसँगै स्थापित गराए। थोरै बोल्ने उनी मृदुभाषी छन्। उनी मिहिनेतसँगै केही गर्नुपर्छ भन्ने स्वभावलाई लिएर अघि बढेको बताउँछन्।
बाल्यकालदेखि नै उनी तत्कालीन साहित्यकारहरुका निबन्ध, उपन्यास, कविता र लेख–रचना पढ्न खुबै रुचाउँथे। उनलाई अधिकृत बन्ने रहर पनि थियो तर उनले आफ्नै पुरानो व्यवसायलाई अगाडि बढाउने सोचले त्यो सपना पूरा गर्न पाएनन्। तर उनले आफ्नो यही पेशालाई जीवन बनाए।
आफू लेखनमा रमिरहेको र आगामी दिनमा पनि हात चलेसम्म लेखिरहने उनी बताउँछन्। उनको पहिलो कृति २०३५ सालमा विदेशको यात्राः स्वदेशको सम्झना (नियात्रा) प्रकाशन भएको थियो।
उनका प्रमुख कृतिमा देश प्रदेशको भ्रमण (नियात्रा, २०४३), सम्झनाको लहरमा लहरिंदै जाँदा (संस्मरण, २०५२), बौद्ध तीर्थयात्राः नालन्दादेखि लुम्बिनीसम्म (नियात्रा, २०६०), यात्रा अमेरिकाको माया नेपालको (नियात्रा, २०६९) लगायत दर्जनौं पुस्तक प्रकाशित छन्।

जीवन दर्शनको आधार सक्रिय दिनचर्या
८४ वर्षको उमेरमा पनि उनको सक्रियता लोभलाग्दो छ। उनी बिहान योग, विपश्यना ध्यान, संस्कार च्यानलमा अध्यात्म विषय र युट्युबबाट बौद्ध प्रवचन छुटाउँदैनन्। साथै, उनी बिना कसैको सहारा भेटघाट, जनसम्पर्क, सम्मेलन र मर्निङवाकमा सक्रिय हुन्छन्। यो उमेर आइपुग्दा उनले विगतलाई अझ मजबुत वर्तमानसँग जोडेर राखेका छन्। समय क्रममा बल, बुद्धिले भ्याएसम्म धेरै सिके, धेरै गरे, केही कमाए र केही गुमाए।
यसैलाई उनी समग्रमा जीवन भन्न रुचाउँछन्। उनी भन्छन्, ‘जीवनलाई परिभाषामा व्यक्त गर्न सकिँदैन। जीवनका बाँकी समयमा भगवान्ले जे–जति दिएका छन्, त्यसैमा सन्तुष्ट र सुखी भएर सहज जीवनका लागि शान्त भएर समयको यथार्थतालाई स्विकारेर अघि बढ्नु पर्छ।’
उनलाई कुनै भौतिक विलासी सामग्रीमा सोख छैन। पहिरनमा विशेष ध्यान दिन्छन्। गरगहना वा विलासितामा भन्दा किताबमा खर्च गर्न रुचाउँछन् र घरमा ठूलो पुस्तकालय छ।
घनश्याम पैसा र सम्पत्ति चल्नका लागि मात्र चाहिन्छ भन्ने मान्यता राख्छन्। उनका लागि नाम, इज्जत, प्रतिष्ठा ठूलो सम्पत्ति हो। राजनीतिमा त्यति चासो नभए पनि उनी जनता जनार्दनको भलो हुनुपर्छ र दल स्वार्थविहीन हुनुपर्छ भन्ने विचार राख्छन्। राणा, पञ्चायत, बहुदल भोगे पनि आजजस्तो बेथिति, बेरोजगार र मनपरी त्यतिवेला नभएको उनको बुझाइ छ।
उनी भन्छन्, ‘देश हाम्रो आमा हो, देशको माया हुनुपर्छ।नेतामा बिपी र मनमोहनको जस्तो सादगी र आदर्शता हुनुपर्छ।’ उनलाई जीवनका यतिका वर्ष भोगेका र गरेका काममा प्रायश्चित छैन, जे छ त्यसैमा सन्तुष्टि हुनुपर्छ। उनी कर्मशील हुनुपर्ने र भाग्यलाई मात्र दोष दिन नहुने बताउँछन्। उनी आफ्ना समकालीन साथीभाइ गुमाइसकेको भन्दै जिन्दगीलाई उपहारका रुपमा सजाउन सक्नुपर्ने सन्देश दिन्छन्।
‘हुने हार, दैब नटार’ भन्ने उनी धर्मकर्ममा आस्था राख्छन् तर अबिर, धुप, दीपबत्तीमा भन्दा उपकारी, परोपकारी, सिर्जनशील काममा लाग्न सक्नुपर्ने उनको मत छ। उनी भन्छन्, ‘हरेकलाई ढाँट्न छल्न सकिन्छ तर घरको भित्तामा राखेको आफ्नो तस्बिर र आफ्नो मनलाई ढाँट्न सकिन्न।’

योगदानको समान र कदर
लेखन, व्यवसाय र समाजसेवालाई ‘त्रिवेणी’ बनाएका घनश्याम राजकर्णिकारले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान पाएका छन्। उनले रत्नश्री सुवर्ण पदक (२०४२), सयपत्री राष्ट्रिय सम्मान (२०५८), राष्ट्रिय नागरिक सम्मान (२०६१), अन्तर्राष्ट्रिय शान अवार्ड (लिट्रेचर) (२०६५), महाकवि देवकोटा शताब्दी सम्मान (२०६६), भानुभक्त द्विशताब्दी पुरस्कार लगायत अन्य थुप्रै कदरपत्र तथा सम्मान प्राप्त गरेका छन्।
सामाजिक कार्यमा संलग्न उनी राजकर्णिकार समाज (२०५७), बौद्ध प्रवचन समाज (२०६८), नेपाल पाउरोटी उद्योग संघ (२०४९) जस्ता संस्थाको संस्थापक सदस्य हुन्। नेपाल पर्यटन पत्रकार संघको कोषाध्यक्ष (२०४९–०५१), नन्दी माध्यमिक विद्यालयको व्यवस्थापन समिति सदस्य (२०५०–०५२), पेन नेपालको कार्यकारिणी सदस्य (२०७०–०७५) र कमलपोखरी टोल सुधार समिति सल्लाहकार भएर समेत समाजसेवामा विशिष्ट योगदान उनले दिएका छन्।

भर्खरै
लोकप्रिय
