- महिला सेवा संस्था नेपालले आयोजना गरेको कार्यक्रममा ८० जना युवाहरूले विभिन्न राजनीतिक दल र सामाजिक क्षेत्रबाट सहभागिता जनाए।
- पहिलो सेसनमा युवा सांसदहरू र नेताहरूले युवाका मुद्दा र राजनीतिक सहभागिताबारे आफ्ना विचार व्यक्त गरे।
- अन्तिम सेसनमा विभिन्न दलका युवा संगठन प्रतिनिधिहरूले जेनेरेसन जेडको सक्रियता र उदयबारे धारणा राखेका थिए।
काठमाडौँ- महिला सेवा संस्था नेपालले बानेश्वरस्थित अल्फा हाउसमा बिहीबार युवाहरूसँग एकदिवसीय कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा विभिन्न राजनीतिक दल र सामाजिक क्षेत्रबाट करिब ८० जना युवाहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राप्रपालगायतका दलका युवा प्रतिनिधिहरू सहभागी थिए। कार्यक्रम तीन वटा सेसनमा सञ्चालन गरिएको थियो।
पहिलो सेसन ‘युवा सांसद र युवाबीच अन्तर्क्रिया’ शीर्षकमा केन्द्रित थियो, जसको सहजीकरण सामाजिक अभियन्ता शुभेच्छा चापागाईंले गरेकी थिइन्। यस सत्रमा रास्वपाबाट सांसद् कमल सुवेदी र नेकपाबाट पार्वती विक वक्ता रहेका थिए। उनीहरूले युवाका मुद्दा र राजनीतिक सहभागिताबारे धारणा राखेका थिए।
दोस्रो सेसन ‘डिजिटल डेमोक्रेसी’ विषयमा केन्द्रित थियो। यस सत्रको सहजीकरण रेजिना बस्नेतले गरेकी थिइन् भने वक्ताका रूपमा प्रिन्स साह, कुशल पौडेल, एन्जल लामा र सोम्या रिजालले आफ्ना विचार प्रस्तुत गरेका थिए।
तेस्रो तथा अन्तिम सेसन ‘बियोन्ड द ब्यालेट बक्स: जेनेरेसन जेडको उदय र सक्रियता’ विषयमा सञ्चालन गरिएको थियो। यसमा विभिन्न दलका युवा संगठनका प्रतिनिधिहरू सहभागी थिए। रास्वपाबाट जमुना शर्मा, नेपाली कांग्रेसबाट गौरव पाण्डे, एमालेबाट विनय शाह, नेकपाबाट हरि ढकाल र राप्रपाबाट शुष्मा मिश्रले आफ्ना धारणा राखेका थिए। सत्रको सहजीकरण अस्मिता के.सीले गरेकी थिइन्।
कार्यक्रमको सञ्चालनदेखि समापनसम्म महिला सेवा संस्थाकी अध्यक्ष भावना भट्ट र सचिव लिला शर्माले भूमिका निर्वाह गरेका थिए।
कार्यक्रममा सहभागी युवाहरूमा कर्तव्यबोध, उत्सुकता र गम्भीरता झल्किएको आयोजकले जनाएको छ। नीति निर्माण र निर्णय प्रक्रियामा युवाको सहभागिताका लागि नयाँ तथा पुराना सबै दलले अझै पहल गर्नुपर्नेमा सहभागीको जोड थियो।
भर्खरै
लोकप्रिय
