काठमाडौँ – अवैध रूपमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को कारोबार गरी ठगी गरेको आरोपमा एक जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले १७ करोड ७९ लाख ७० हजार ३ सय ७१ रुपैयाँ २३ पैसाको अवैध कारोबार गरेको आरोपमा ३५ वर्षीय चिनियाँ नागरिक झु यी फेङलाई पक्राउ गरेको हो।
ठमेल क्षेत्रमा बसोबास गर्दै आएका उनलाई बिहीबार साँझ विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले सामाजिक सञ्जालमार्फत नेपाली नागरिकहरूसँग सम्पर्क बढाउने र विभिन्न प्रलोभन देखाई विश्वासमा पार्ने गरेका थिए।
उनले नेपाली नागरिकहरूकै बैंक खाता प्रयोग गरेर ठगी गर्ने र उक्त रकमलाई क्रिप्टोकरेन्सी (USDT) मा रूपान्तरण गरी कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
उनको साथबाट तीन थान मोबाइल र रकम पठाउन प्रयोग गरिने ‘इन्टरनेसनल एक्सप्रेस’ लेखिएका कागजातहरू बरामद गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका चिनियाँ नागरिकलाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। उनीमाथि अभौतिक मुद्राको अवैध कारोबार र ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भर्खरै
लोकप्रिय
