- कोशी प्रदेश सरकारले साना बचतकर्ताहरूको रकम फिर्ता गर्न अम्बे कोशी सहकारीको व्यवस्थापन सुरु गरेको छ।
- पत्रकार सम्मेलनमा घोषणा भएअनुसार, पहिलो चरणमा २० हजार रुपैयाँभन्दा कम बचतकर्तालाई रकम फिर्ता दिनेछ।
- सहकारीका पूर्व अध्यक्ष फणिन्द्र मगर ठगीको आरोपमा फरार छन्, उनी ९ हजार बचतकर्तालाई ठगेको आरोपमा छन्।
मोरङ – कोशी प्रदेश सरकारले सुनसरीको इटहरीस्थित समस्याग्रस्त बनेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका साना बचतकर्ताहरूको बचत रकम फिर्ता दिन थालेको छ।
विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले सो बचत तथा ऋण सहकारी संस्थामा बचत गरेका साना बचतकर्ताको बचत रकम फिर्ता दिन सुरु गरेको जनाएको हो।
पत्रकार सम्मेलनमा मन्त्रालयका उपसचिव पदमबहादुर ठकुराठीले समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयमार्फत २० हजार रुपैयाँ भन्दा कम बचत भएका बचतकर्ताहरूको रकम पहिलो चरणमा फिर्ता दिन थालिएको बताए। उपसचिव ठकुराठीले चैत २९ गतेसम्म ऋण असुलीबाट १ करोड ३८ लाख ४४ हजार रुपैयाँ बैंकमा जम्मा भएको बताए। त्यसैगरि, बचत मिलानबाट १ करोड ९० लाख ४ हजार रुपैयाँ बचत फिर्ता भएको उनको भनाइ छ।
पहिलो चरणमा सरकारले २८ लाख ५७ हजार ७ सय ८१ रुपैयाँ फिर्ता हुने जनाएको छ। पहिलो चरणमा बचत फिर्ता गरिने बचतकर्ताहरूको बैंक खातामा सोमबार नै रकम जम्मा गर्न चेकसमेत तयार पारिसकेको उपसचिव ठाकुराठीले जानकारी दिए। पत्रकार सम्मेलनमा बचत मिलानबाट थप २१ जनाले पहिलै बचत फिर्ता पाइसकेको उनको भनाई छ।
सोही क्रममा प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीले संघीय सरकारले आफ्नो एक सय दिने कार्ययोजनामा सहकारीको बचत फिर्ता गर्ने कार्यसूची बनाएअनुसार कोशी प्रदेशबाट उक्त योजनाको कार्यान्वयन सुरु गरिएको बताए। मन्त्री मन्सुरीका अनुसार प्रदेश सरकारले अम्बेपछि विराटनगरको माछापुछ«े र धरणीधर सहकारीको विषयमा पनि छानविन सुरु गर्ने उल्लेख गरे।
अम्बे कोशी सहकारीलाई प्रदेश सरकारले २०८१ साल पुस २३ गते समस्याग्रस्त घोषणा गरेको थियो। त्यसअघि नै पुस १८ गते वरिष्ठ अधिवक्ता भरतबहादुर थापाको संयोजकत्वमा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरिएको थियो। सोही समितिले सहकारीको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै सम्पत्ति व्यवस्थापन, ऋण असुली र धितो लिलामको प्रक्रिया अघि बढाएको थियो।
छानबिनका क्रममा सहकारीका अध्यक्ष फणिन्द्र मगरसहितका सञ्चालक र कर्मचारीले करिब ९ हजार बचतकर्ताबाट संकलित रकम अपचलन गरेको खुलेको थियो। अध्यक्ष मगर भने ठगी आरोपमा पुर्पक्षका लागि थुनामा रहेपनि जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार भएकाछन्। उनी हालसम्म सम्पर्कविहीन अवस्थामा छन्।
भर्खरै
लोकप्रिय
