काठमाडौँ– रातो काँडे चप्पल। दुवै चप्पल चुडिएको छ। चुडिएको चप्पलाई खुट्टामा अड्याउन डोरीले जोडिएको छ। चप्पल कहिले चुडियो? त्यो थाहा भएन।
तर, ५७ वर्षीय पाकचा तरिम कसाईको मन भने आज (शनिबार) थाम्नै नसक्ने गरी कुँडियो। थापथलीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका उनको घरमा शनिबार डोजर चल्यो। बस्तीमा त डोजर चल्यो घर बाँकी रहने कुरै थिएन।
शनिबार बिहानै उनी उठिसक्नेबेला प्रहरी बस्तीमा पसिसकेको थियो। केही समय हट्न माइकिङ गर्यो। उनका घरमा भएका सामान निकालियो। लगत्तै डोजर हानियो।
डोजर हानिएको बस्तीछेउको सडक छेउमा उभिएर उनी बिहान १० बजेतिर एक तमास डोजरको तमासा हेर्दै थिए, देशसञ्चारको टीमसँग भेटिँदा।
‘बोल्नुहुन्छ?,’ प्रश्न गर्दा उनी बोल्न पनि सकिरहेका थिएनन्। ‘के बोल्नु?,’ प्रतिप्रश्न गरे। तर, यत्ति बोले, ‘केही सामान निकालियो मेरो। केही भित्रै छ।’
यति भन्दै गर्दा उनको गला अवरुद्ध भएको थियो। सायद डोजरले देखाएको त्यो तमासाले मन पोल्यो कि! ‘घर छैन। कहाँ गएर बस्ने? सामान कहाँ राख्ने?’, आँखाका आँसु पुछ्दै कसाई बोले।

पाकचा तरिम कसाई।
उनी १२ वर्ष पहिले बिरामी भएपछि काम गर्न सक्दैनन्। सामान पनि बाहिर निकाल्न नसक्ने बताए। ‘१२ वर्ष पहिले बिरामी भएपछि काम गर्न पनि सक्दैन’, उनले भने ‘म यस्तो (जोडर चलेपछि) भएपछि मात्र बाहिर निस्केको हो।’
उनले आफू छातीको बिरामी रहेको बताए। उनीसँग श्रीमतीसहित दुई जना छोराछोरी पनि रहेका छन्।
०००
सडकमा पकाउने भाँडाकुडादेखि सुत्ने खाटसम्म सडकमा असरल्ल छ। त्यही सामान मिलाउँदै छिन् गायत्री श्रेष्ठ (तामाङ)। सुकुम्बासी बस्ती भत्काउने भएपछि बिहान छिट्टै खाना खाइवरी थापाथलीको सुकुम्बासी बस्तीबाट उनी सडकमा निस्किएकी हुन्।
सडक छेउबाट अगाडि आफू बसेको घर। त्यही बस्ती भत्काउँदै गरेको दृष्य हेर्दै छिन्। उनलाई बस्ती भत्काएकोमा कुनै दुखेसे छैन। तर सरकारले अब कहाँ बसाउँछ भन्ने पीर छ।
उनी यहीँ थापाथली क्षेत्रमा बसेर अर्कैको घरमा काम गर्छिन्। त्यहीबाट महिनामा कमाई हुने ५/७ हजारले खानाको जोह गर्ने गरेकी थिइन्। श्रीमान् डम्बर बहादुर तामाङको आँखामा समस्या भएपछि काम नगरी घरमा बस्छन्।
छोराछोरी सानै छन्। बस्तीबाट उठाएपछि अब के गर्ने उनलाई अन्योल सिर्जना भएको छ।
स्थायी घर भोजपुरको अरुण गाउँपालिका–१ हो। गायत्रीका अनुसार उनको घर पहाडमा हो। त्यही पनि उब्जनी गरेर खाने ठाउँ छैन। गाउँमा खानेपानी छैन। आफ्नै घरदेखि अरुको घर पुग्न एक घण्टा नै लाग्ने गर्छ। विद्यालय पनि टाढै छ।
त्यसकारण पनि भोजपुर फर्किने अवस्था छैन। अहिले त श्रीमान्को आँखा जाँच गरिरहनुपर्छ। त्यस कारण पनि भोजपुर फर्किने सपनासमेत देख्न उनले सकेकी छैनन्।
पैसा अभाव उस्तै छ। पैसाको अभावमा आँखाको अप्रेसन गर्नुपर्ने भए पनि गर्न नसकेको डम्बरले बताए।
गायत्री र डम्बर (श्रीमान्-श्रीमती)लाई अब सरकारले कसरी व्यवस्थापन गर्छ भन्ने अन्योल छ।

गायत्री श्रेष्ठ (तामाङ)
कसाई र गायत्री र उनका श्रीमान् जस्तै शनिबार थापाथली, गैरीगाउँ, शान्तिनगरका सुकुम्बासीहरूले चुपचाप बस्तीलाई डोजरले कोपरेको हेरे। यसअघि त प्रतिकार गरेरै उनीहरू सुकुम्बासी बस्तीमा बस्दै आएका थिए।
यसपटक भने प्रधानमन्त्री वालेन्द्र शाहकै सक्रियतामा सुकुम्बासी बस्तीमा डोजर हानिएपछि उनीहरूले केही गर्न सकेनन्।
बस्तीमा डोजर हान्दा प्रहरीको ठूलो संख्या उपस्थित थियो। काठमाडौँ महानगरपालिकाको सुरक्षा संयन्त्र र सशस्त्र प्रहरीको पनि उपस्थिति थियो।
सेनाले स्वीकार नगरे पनि गाडीबाट गस्ती गरेको थियो।
देशका सबै सुरक्षा निकायको उपस्थितिमा बस्तीमा डोजर हानिएपछि बस्तीका बासिन्दाले पनि प्रतिकार गरेनन्। तीन दिनअघि नै काठमाडौँ जिल्ला प्रशासनले बस्ती खाली गर्न सूचना जारी गरेपछि केही सूचनाको अवधिभरमा बस्ती छाडे।
जसको केही थिएन। उनीहरू डोजर बस्ती पस्दासम्म सामान निकाल्न तयार थिएनन्। तर, सुरक्षा सुरक्षाकर्मीले उनीहरूको सामान बाहिर निकाले।
यसअघिका समयमा बस्तीमा डोजर पस्दा झडप हुने स्थिति यसपटक दोहोरिएन।
सुकुम्बासी बस्तीमा सुकुम्बासीभन्दा पनि अन्य व्यक्तिहरूले रजाइँ गर्ने गरेको आरोप लाग्दै आएको छ। तर एकीन तथ्य भने सरकारी निकायसँग छैन।
सरकारले को सुकुम्बासी हो? को होइन भन्ने निर्क्यौलसमेत बस्तीबाट उठिबास बनाएर दशरथ रंगशाला लगेर गर्यो। जो दरशथ रंगशालामा सहारा खोज्दै गए उनीहरूलाई सुकुम्बासी भन्दै अस्थायी बसोबासका लागि सरकारले व्यवस्था गरेको छ।
सामान निकाल्दा भने यहाँ यो ठाउँमा जाने नजाने केही नभनेको विस्थापितहरूले बताएका थिए। ‘हाम्रो सामान निकालियो। तर कहाँ लैजाने भन्ने केही भनिएको छैन। गाडी पनि आएको छैन’, गायत्रीले भनेकी थिइन्।
पछि उनलाई महानगरको गाडीमा सडकबाट उठाएर लगिएको थियो। सरकारी स्रोतले सुकुम्बासी बस्तीमा बसेकामध्ये तीन प्रतिशत मात्र वास्तविक सुकुम्बासी हुन्।

प्रधानमन्त्री कार्यालयका अनुसार यो समाचार तयार पार्दासम्म थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सुकुम्बासी भन्दै सरकारको सम्पर्कमा आएका छन्। सम्पर्कमा आएका परिवारहरूलाई काठमाडौँका विभिन्न होटलहरूमा राख्ने तयारी भएको जनाइएको छ।
सरकारले वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका वडा नम्बर १ स्थित सरकारी अपार्टमेन्टमा राख्ने तयारी गरेको छ। त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम सुरु गरिने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
भर्खरै
लोकप्रिय
