स्थलगत

मनोहरामा डोजर पुग्यो, ‘मुना’हरूलाई सहयोग गर्न कोही पुगेन

मनोहरामा डोजर पुग्यो, ‘मुना’हरूलाई सहयोग गर्न कोही पुगेन
+
-
देशसञ्चार AI सारांश
  • मनोहरा सुकुम्बासी बस्तीमा मुना खनालजस्ता धेरैको बस्ती भत्काउँदै गर्दा राज्यले कुनै सहायता उपलब्ध गराएको छैन।
  • मुना खनालले बस्ती भत्किएपछि जाने ठाउँ नभएको र अन्ततः त्यहीं मर्ने पीडा व्यक्त गरिन्।
  • सम्पूर्ण बस्तीलाई बत्ती, पानीजस्ता आधारभूत सम्पदाहरूबाट वञ्चित गराई पूर्णरूपमा असहाय बनाइएको छ।

काठमाडौँ– हेर्नुहोस् मेरो अवस्था– मुना खनालले आफ्नो देब्रे हातको पाखुरा देखाउन कपडा माथि तानिन्। ‘मेरो अवस्था यस्तो छ। बस्तीमा डोजर चल्दैछ। अब म के गरूँ?’ आँखाभरी आँसु लिँदै डोजरले मनोहरा सुकुम्बासी बस्ती भत्काउन जसरी हतार गरिरहेको छ, त्यसैगरी उनी पनि हतारमै बोलिन्।

समय आइतबार बिहानको १०:३० बजे। मनोहरा बस्तीलाई ध्वस्त बनाउन बन्दुक बोकेका प्रहरीहरू बस्ती छिरेका छन्, डोजर अघि लगाएर। बस्तीभित्र को जान्छ र को निस्कन्छ, कडा केरकार गरिँदैछ।

प्रहरीको केरकारपछि हामी पनि मनोहरा सुकुम्बासी बस्ती छिर्न सक्यौँ। मनोहरा खोलाको वारी काठमाडौँतिर र पारी भक्तपुरतिर दुवैतर्फ सुकुम्बासी बस्ती छन्।

दुवैतर्फको दक्षिततिरबाट डोजरले बस्तीमाथि दाँत गाडिसकेको छ र नामेट बनाउँदैछ। भक्तपुरतर्फको उत्तरतर्फको बस्तीभित्र छिर्दाछिर्दै एउटा सानो गल्ली छ। जुन गल्लीमा दुई जनाक्रस गर्न पनि कठिन हुन्छ।

त्यहीँभित्र भेटिएकी थिइन्– ५७ वर्षीया मुना।

उनी मृगौलाकी बिरामी हुन्। सात वर्षदेखि दुवै मृगौला डायलासिस गरेर शरीरमा सास अड्याएकी छिन्। देशसञ्चार टीम पुग्दा एउटा हाते ब्याग समाएको अवस्थामा भेटिइन्।

उनले देखाएको देब्रे हातको पाखुरमा गिर्खा देखिन्छ। सुई गोपेका घाउहरू पनि उस्तै ताजा छन्। के भएको हो? हामीले सोध्यौँ। ‘हप्तामा दुई पटक मृगौलाको डायलासिस गर्नुपर्छ। बस्ती भत्काए पनि जाने ठाउँ छैन। म त यहीँ मर्छु बरु’, उनी मलिन थिइन्।

डायलासिस गर्दा सुई गोपिएको हातको घाउँ देखाउँदै मुना

बस्ती खाली गर्न भनेपछि केही सामानहरू पोका पारेकी छिन्। तर कता लैजाने कुनै निधो गरिसकेकी छैनिन्। ‘म त सामान निकाल्दैन। बरु यही मर्छु’, पटकपटक यस्तै भन्दैथिइन् उनी।

किन सामान ननिकाल्ने? हाम्रो प्रश्नमा  उनको प्रति प्रश्न थियो– ‘सामान कहाँ लैजाने? कसरी लैजाने?  प्रधानमन्त्री बालेनले गाडि पठाउने भनेका थिए पठाएनन्? – ‘छैन’, उनले जवाफमा भनिन्।

मुनाले भनेको जस्तै बस्ती भत्काएर आधा बनाउँदासम्म मुनाजस्ता धेरै सुकुम्बासी परिवारहरूलाई सहयोग गर्न कोही पुगेको छैन। सरकारले सुकुम्बासीहरूको उद्धारका लागि गाडीको व्यवस्था गरिदिने भनिएको भए पनि बस्तीमा भने त्यस किसिमको कुनै सहयोग भएको पाइएन।

अनौठो त के छ भने सहयोग गर्ने गाडीहरू बस्तीमा नपुग्दै कवाडी संकलन गर्नेहरू भने गाडीहरू लगेर बस्तीभित्र छिरेका छन्।

डायलासिस गर्न बनाइएको परिचय पत्र देखाउँदै मुना

सुकुम्बासीका कतिपय व्यक्तिहरू कवाड संकलकहरूलाई आफ्ना जस्ताका पाताहरू किलोमा बिक्री गरिरहेका छन्– दुई चार सय आउँछ कि भनेर।

आफ्नै घर भत्काउँदै गरेको अवस्थामा बिक्रम दाहाल भेटिए। उनले बिहानै सुरक्षाकर्मीलाई आफूले सामान सार्ने तयारी गरेको र सहयोग गर्न र गाडी पठाइदिन आग्रह गरेका थिए।

तर कुरा कसैले नसुनिदिएको उनले गुनासो गरे। ‘मैले बिहानै गएर हामीलाई कहाँ लैजाने हो। गाडी पठाइदिनुस् भनेको तर धक्काएर मलाई फर्काइदिए’, उनले सहयोग माग्दा पाएको दु:ख सुनाए।

उनका सञ्चारमाध्यमप्रति पनि गुनासा छन्। ‘हाम्री यस्तो अवस्थामा छौँ। तर हामीलाई हुकुमबासी भनेर लेखिएको छ। पीर छ हामीलाई’, उनले गुनासो फुकाले।

मुना-बिक्रम यहाँ सुकुम्बासी बस्तीमा बस्न थालेको बर्षौँ भइसक्यो।

मुनाले त आफ्ना तीन सन्तान यही हुर्काइन्। पढाइन्। तर तीन सन्तान अहिले सातमा छैनन्। दुई छोरीको विवाह भइसक्यो। छोरा विदेश छन्। उनीहरूको सहयोग मुनाले पाएकी छैनिन्।

मुनाका श्रीमान् सनकुमार खनालको घर तेह्रथुम हो। तर उनी जन्मिएपछि घर पुगेका छैनन्। पहिले इलाममा अरुकै बारी जोति खाएका थिए।

मुना र उनका श्रीमान् सनकुमार

पछि काठमाडौँमा गलैचाको काम गरे। मुनाले पनि गलैचाकै काम गरेकी थिइन्। अहिले उनीहरू दुवै जनाले काम छाडेका छन्। तर  गलैचा बुन्ने मेसिन। ऊन अहिले पनि घरमै सुरक्षित छन्।

अब यहाँ डोजर चलेपछि कहाँ जाने चिन्ता छ। सरकारले लैजान्छ भन्ने उनीहरूले सुनाएका छन्। तर कहाँ लैजाने अहिलेसम्म भनिएको छैन।

बस्तीमा भेटिएका अन्य व्यक्तिहरूले पनि सरकारले व्यवस्थापन गर्ने भनेको भने पनि कुनै सहयोग नगरेको दु:खेसो गरे।

बस्ती भत्काउँदै गर्दा पूर्णरुपमा बस्तीलाई बेसहारा बनाइएको छ। बत्ती काटिदिएको तीन दिन पुग्यो। मोबाइल फोनहरूसमेत बस्तीबाहिर गएर चार्ज गर्नु परेको छ।

बस्तीमा पानीका पसलहरू बन्द हुँदा खाने पानीसमेत अभाव देखिएको छ।

गलैचा बुन्न प्रयोग गरिने मेसिन

कवाड संकलनका लागि सुकुम्बासी बस्तीमा आएको गाडी

तस्बिर: बर्षा शाह/ देशसञ्चार

यो पनि पढ्नुहोस्

बस्तीमा डोजर चलिरह्यो, सुकुम्बासी चुपचाप हेरिरहे

बस्तीमा डोजर चलिरह्यो, सुकुम्बासी चुपचाप हेरिरहे

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…