सुकुम्वासीदेखि सुकुम्वासीसम्म

‘मलाई पनि आकाश र जमिनको अधिकार देऊ’

+
-
देशसञ्चार AI सारांश
  • सुरवीरको २४ वर्षदेखि टाउको ओत्दै आएको मनोहरा सुकुम्वासी बस्तीमा डोजर चल्दा उनी विगत सम्झेर रुन थाल्छन्।
  • सरकारको व्यवस्थापनबिना बस्तीबाट लखेटिँदा सुरवीरलाई सांसद र प्रधानमन्त्रीसँग गुनासो छ र आकाश-जमिनको अधिकार खोज्दैछन्।
  • उनी ८६ वर्षदेखि जिउँदै, कुनै घरजग्गा नभएको र अन्तिम जीवनमा कुनै लालपुर्जा पाउन सरकारसँग आशा गर्छन्।

काठमाडौँ – नाम त सुरवीर हो। पूरा नाम सुरवीर तिवारी।

तर जिन्दगीको सुर र ताल कति मिल्यो? आफूले कटाएका लगभग ३१ हजारभन्दा बढी दिनहरू अर्थात् ८६ वर्षअघिका दिनहरू सम्झँदा सुरवीरले के सोच्छन्, उनको अनुहारले अहिले पनि प्रष्ट भन्छ– दु:ख।

अनि सुरवीरका आँखा रसाउँछन्। गला अवरुद्ध हुन्छ।

मुजा परेका गाला। परेलीले साथ छाडेका आँखा। चौबिसै घण्टा लठ्ठीको सहरा। शीरमा ढाका टोपी। टोपीले छोप्न नसकेर देखिएका सेतै कपाल।

वैशाख १९ गतेको एक बिहान। सरकारले चलाएको डोजरले उठिबास बनेपछि होटलको सहरामा भेटिएका सुरवीर आफ्ना विगत सम्झियो कि मात्र आँसु खसालिरहन्छन्।

२४ वर्षदेखि टाउको ओताउँदै आएको मनोहरा सुकुम्वासी बस्तीमा वैशाख १३ गते डोजर चल्यो। उनी यस बस्तीमा बस्न कसरी पुगे? त्यसको लामै दु:खको श्रृङ्खला छ।

डोजर चलेपछि सरकारले बसाउन लागेको गोंगबुस्थित एक होटलमा दुई हप्ता बिताएपछि अहिले रानीवनस्थित अपार्टमेन्टमा पुर्‍याइएका छन्।परिवारका कूल २० जनामध्ये उनीसँगै होटलमा उनकी पत्नी, एक बुहारी, एक नातिनी थिए। अन्य परिवारका सदस्यहरू पनि बस्तीमा डोजर चलेपछि बस्ने बास अभावमा तितरबितर भएका छन्।

सुरवीरलाई जिन्दगीसँग कति गुनासो होला? उनले थाम्न नसकेका मनलाई मात्र थाहा छ। अहिले आफैले भोट हालि पठाएका सांसदहरूसँग गुनासो छ। ‘आफ्नै हात काटी लगिदिएको जस्तो भएको छ अहिले’, आफैले भोट हालेका सांसद राजीव खत्रीले फोन नउठाएपछि उनको गुनासो छ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग पनि उनको गुनासो छ। व्यवस्थापन नगरी किन बस्तीबाट लखटियो? उनको प्रश्न छ।

उनको माग पनि छ– ‘मलाई पनि आकाश र जमिनको अधिकार देऊ।’

सुरवीरसँग साथमा उनकी पत्नी र नातिनी

उनले यो संसारमा जिउन थालेको ८६ वर्ष भयो। थाहा पाउने भएपछि आफ्नो नाममा कतै घरजग्गा भएको उनलाई थाहा छैन। ‘छ भने भनिदेओस् कहाँ छ। मेरो तीनपुस्ते सरकारले हेरोस्। अनि देखाओस म त्यहीँ जान्छु’, उनी थाकेको बोलीमा भन्छन्।

सुरवीर ११ वर्ष हुँदा उनका बुबाले संसार छाडे। १३ वर्ष हुँदा आमाले पनि उनलाई छाडेर एक्लै बनाइदिइन्। अनि उनी कहाँ-कहाँ मात्र भौतारिएनन्। के-के मात्र गरेनन्। आज सम्झिँदा पनि उनका आँसु रोकिँदैनन्।

ताप्लेजुङमा जन्मिए उनी। सुख खोज्दै झापा झरे। सुकुम्वासीलाई यहाँ पनि के सुख थियो र! उस्तै दु:ख। उस्तै हैरानी। गोठाला बसेकै घरबाट धेरै केटाकेटी भए भनेर निकालिदिएको सम्झन्छन्, उनी। ‘मेरो जन्मै सुकुम्बासी हो। मेरा बाबुको थिएन। म ११ वर्षको हुँदा मेरा बाबु बित्नुभो। म १३ वर्षको हुँदा आमा। अनि एक्लो, कता-कता डुलियो, बसपार्क बसियो, कहाँ बसियो, के गरेर त्यस्तो हुँदै-हुँदै अनि कति ठाउँ बसियो। सरियो। कति ठाउँ हिँडियो’, उनी ती दिन सम्झन्छन् र भन्छन्, ‘अनि पहाड ताप्लेजुङबाट झापा आएर बसियो। घरजम गरियो। अनि एउटाको ग्वाली (गोठाला)मा ५-६ महिना बसियो। त्यहाँबाट केटाकेटी भए। तेरा केटाकेटी धेरै के-के भन्ने, त्यहाँबाट निकाल्दिए। फेरि अर्काको ग्वाली गरियो।’

सुख खोजेकै झापामा दैनिकी कठिन बनेपछि २०५० सालमा उनी काठमाडौँ हिडे, गलैँचा कारखानामा काम खोज्दै। गैलैँचा कारखानामा काम पाए। तर परिवार झापामै थियो। उनीहरूलाई काठमाडौँ ल्याउने गाडी भाडासमेत थिएन, उनीसँग।

त्यसपछि छोरालाई कारखानामा धरौटी राखे। तीन हजार रुपैयाँ मागे। झापा गए। परिवार लिएर आए। अनि वर्षौँ गलैँचा कारखानामा बिताए। ‘छोरो र म आएको थियौँ, अहिले ठूलो छोरोलाई, धरौटी राखेर अनि तीन हजार रुपैयाँ लिएर गएँ। परिवार ल्याएँ’, काठमाडौँ बस्न थालेको ती दिन सम्झिए।

काठमाडौँ त झनै सजिलो थिएन। काम गरेकै कारखाना बन्द भयो। त्यसपछि भोकमरीसमेत लाग्यो। चाउचाउ खुवाउँदै बच्चाहरूलाई भुलाएका दिन अहिले पनि सुरवीर ताजैजसरी सुनाउँछन्। ‘फेरि मेरै पालामा चाहिँ गलैँचा कारखाना बन्द भएको भन्यो। जेठमा लागेको तान भदौमा मात्रै सिध्याइदियो। अनि त्यहाँदेखि भोकले मर्न आँटेर बच्चाहरूलाई चाउचाउ खुवाउँदै के गर्दा-गर्दा २७ सय रासन पसलको ऋण भएछ’, उनले भने।

ऋण उठाउन एक दिन रासन पसलका साहुले प्रहरी लिएछन्। तर प्रहरीले यति धेरै परिवार भएको मान्छे भाग्न गाडी चाहिन्छ। सडक चाहिन्छ। भाग्दैन भनेर रासन साहुलाई उल्टै गाली गरेका दिनसमेत उनका मस्तिकमा ताजै छन्। ‘उल्टै त्यो साहुलाई गाली गर्‍यो, अनि साहु फर्कियो, पुलिसहरू गए’, सुरवीरले भने।

उनी त सुकुम्वासी नै थिए। जाने ठाउँ कहीँ थिएन। २०५३ सालमा नै उनलाई तत्कालीन सरकारले सुकुम्वासी भएको प्रमाणित गरिदिएको थियो। बस्नका लागि जग्गा दिन भनेको थियो। त्यही कागजका भरमा उनी २०५९ सालमा मनोहरामा टहरो बनाइ बसेका थिए, अरुले जस्तै।

मनोहरामा कालिमाटी सब्जी बजार सार्ने भनेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले त्यस ठाउँको शिलान्यास गरेका थिए। थप ऐलानी जग्गा आएको थियो। त्यसमै सुकुम्वासीले टहरा बनाए। सुरवीरले पनि रातारत टहरा बनाइ त्यहीँ बसे।

उनलाई उठाउँछ भन्ने लागेको थिएन। खोला किनारबाट १०० मिटरभन्दा पनि भित्र उनको टहरा थियो। लालपुर्जा (जग्गाधनी पुर्जा) पाउने आशमा थुप्रै फर्महरू उनले भरेका छन्।

तर हातमा लालपुर्जाभन्दा पहिले बस्तीमा डोजर पुग्यो। २१ वर्षदेखि बस्दै आएको बस्ती क्षणभरमै भग्नावशेसमा परिणत भयो। सुरवीर फेरि जग्गाको अधिकारविहीन भएका छन्। उनलाई कुनै अपार्टमेन्टमा गएर बस्न मन छैन।

वर्षौँदेखि जग्गाको अधिकार पाउन आशामै बसेका उनी अहिले पनि बालेन सरकारसँगसमेत आश गरेका छन्।

उनी भन्छन्– ‘यो सरकारले मर्नेबेला एक मुठ्ठी भए पनि माटो देओस्!’

–तस्बिर: बर्षा शाह / देशसञ्चार

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…