- हुम्ला-बाजुरा सिमा विवादको क्रममा ६ जना घाइते हुँदाको चार जनालाई हेलिकप्टरबाट उद्धार गरियो।
- बाजुरा प्रहरी निरीक्षकका अनुसार सिमा विवाद पुरानै भए पनि अस्थायी प्रहरी चौकी निर्माणले झगडा बढाएको हो।
- सिमा विवाद समाधान नगरी प्रहरी चौकी बनाउनु नपाइने भन्दै हुम्ला थालीका स्थानीयहरुले विरोध जनाइरहेका छन्।
काठमाडौँ– हुम्ला-बाजुरा सिमा विवादले हिंसात्मक रुप लिँदा छ जना घाइते भएका छन्। घाइते मध्ये गम्भीर घाइते भएका चार जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
बाजुराको हिमाली गाउँपालिका–३ का वडा सदस्य ३४ वर्षीय पेमा गारा गुरुङ, उनकी श्रीमती ३३ वर्षीया लक्ष्मी गुरुङ, २४ वर्षीया मिनु कुँवर र ५० वर्षीय नरबहादुर गुरुङलाई हिलिकप्टरमार्फत उद्धार गरिएको हो।
घाइते अन्य दुई जनामध्ये हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा र प्रहरी चौकी बिच्छियामा कार्यरत प्रहरी सहायक हबल्दार महेश धामी भने सामान्य उपचारपछि काममा फर्किएको बाजुराका प्रहरी निरीक्षक नरेश शाहीले जानकारी दिए।
बाजुराको हिमाली गाउँपालिका ३ लाम्पाटाका स्थानीय र हुम्लाको खार्पुनाथ गाउँपालिका २ थालीका स्थानीयबीच विवाद हुँदा छ जना घाइते भएका हुन्। लाम्पाटा क्षेत्रमा सिमा विवाद पुरानै हो।

विवाद चार देखिदेखि जारी रहेको छ। प्रहरी निरीक्षक शाहीकाअनुसार जेठ ३ गते विवाद सुरु भएको थियो। पछिल्लो समय लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण हुन थालेपछि विवाद थप उत्कर्षमा पुगेको हो।
यहाँ प्रहरी चौकी निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख बजेट विनियोजन गरेको छ। साथै चौकी निर्माणका लागि सामाग्री पनि लगिएको छ।
तर चौकी निर्माण गर्न थालेपछि हुम्ला थालीका स्थानीयले विरोध गरेको शाहीले जानकारी दिए। सामानसमेत फाल्ने कार्य भएपछि बाजुरा प्रहरीले पिछियाबाट ३ गते लाम्पाटामा प्रहरी पठाएको थियो।
३ गते नै यहाँ विवाद हुने अवस्था सृजना भए पनि प्रहरीले विवादलाई साम्य पारेको थियो। तर समाधान हुन सकेको थिएन। त्यसपछि ४ गते बाजुरा प्रहरीले कुवाडीबाट पनि प्रहरी पठायो।
४ गते हुम्लाबाट पनि प्रहरी पठाइएको थियो। प्रहरीको समन्वयनमा ३ र ४ गते यहाँ हिंसात्मक कुनै घटना नभएको प्रहरी निरीक्षक शाहीले बताए।
उनकाअनुसार ५ गते भने हुम्लाबाट ठूलो संख्या (करिब २५० जना)मा आएका स्थानीय कुटपिटमा उत्रिएका थिए। उनीहरूको कुटाईबाट हिमाली गाउँपालिका ३ का स्थानीय कुटिएका थिए।
विवाद आज पनि जारी रहेको छ। गम्भीर घाइते हुने गरी कुटपिट भएपछि आज बाजुरकातर्फका स्थानीयले हुम्ला जाने गाडीलाई बाजुराको कोल्टी हुँदै धुलाचौरतिर रोक्ने प्रयास गरिरहेका छन्।
स्थानीयले सडक अवरुद्ध गर्ने प्रयास गरिरहेका छन्। आज (बुधबार) दिउँसो धुलाचौरमा स्थानीयले सडक अवरुद्ध गरे पनि प्रहरीले बाटो खुलाएको थियो।
लाम्पाटा हुम्ला थालीका स्थानीयको चर्चिने ठाउँ हो। यहाँ ठूलो चौर पनि रहेको छ। यहाँ बस्तुभाउ चराइने गरिन्छ।
यही क्षेत्रमा सिमा विवाद पनि छ। सिमा विवाद समाधान नगरी आफूहरूले चर्चिने ठाउँमा प्रहरी चौकी बनाउन नपाइने थालीलगायत त्यसक्षेत्रका स्थानीयको माग छ।
‘पहिलेदेखि सिमा विवाद छ लाम्पाटामा। प्रहरी चौकी बनाउने ठाउँ हुम्लाको हो। त्यहाँ खापुर्नाथकै वडा नम्बर २ र ३ कै पनि विवाद छ। अब प्रहरी चौकी बनाउन थालेपछि त्यहाँ भेडा चराउने, बाख्रा चराउने ठाउँमा बनाउन थालियो भनेर विवाद भएको हो’, खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष ज्ञानबहादुर सिंले भने।
उनकाअनुसार लाम्पाटा क्षेत्र जडिबुटीको पनि धनी क्षेत्र हो।

भर्खरै
लोकप्रिय
